झन्डै ५–७ महिना नै भएछ लेख्न छोडेको। पहिलो पुस्तकको प्रकाशनपछि २–४ महिना ब्रेक लिएर दोस्रो पुस्तक उमेरको चिठी लेखेर प्रकाशनको तयारीमा लाग्दा पनि कता–कता केही चित्त बुझेन। प्रकाशन गृहलाई ‘अहिले प्रकाशनको प्रक्रिया रोकौँ’ भनेर रोकेँ। कभरहरू डिजाइन भइसकेका थिए।
अफिसबाट केही दिन बिदा लिएर गाउँ गएको थिएँ। केही व्यवहारिक कामहरू सकेँ। सहर फर्किहालौँ झैँ लागेकै थिएन। अनि गाउँबाट नै थप केही दिन बिदा लिएर नयाँ कथा खोज्न लागेँ। लेख्ने कुराहरू धेरै थिए। उसो त सहरमा धेरै भीड भएर पनि धेरै कुराहरू हुँदैनन्, गाउँमा थोरै कुराले नै धेरै कुराहरू ओगटेका हुन्छन्।
गाउँमा मसँगै पढेका एकजना पनि साथी थिएनन्। तर थिए उमेर ढल्किँदै गएका ती साथीका बा–आमा।
‘बाबु, हाम्रो घरमा नि आऊ है, तिमीलाई देख्दा नि छोरा कै याद मेटिन्छ,’ भन्दै मेरै अनुहार सुमसुम्याउँदै हुन्थे।
गाउँमा अरू पनि धेरै कुराहरू थिए। बच्चा बेला खेल्ने त्यो चउर उस्तै थियो। एक साल चोरेर बोटै रित्याएको अम्बाको रुख उस्तै थियो। नास्पाती रुखभरि लटरम्म थिए। पौडी खेल्न सिकेको सिँचाइको ट्याङ्की उस्तै थियो। गोठालो जाँदा बाख्रा पसेर बाली सखाप बनाएको त्यो साउने पानीको शिव ठुला बाको खेत उस्तै छ। गोठालो जाँदा रात यतै कटाउने भनेर बनाएको गोठको जग्गा उस्तै छ।
छैनन् त त्यही मान्छे छैनन्।
त्यही रमाइलो छैन।
‘आखिर केही नहुनु पनि त सबैथोक नहुनु जस्तै त हो।’
म हिँडिरहेका बाटाहरू उस्तै थिए, तर ती बाटामा सँगै हिँड्ने पाइला हराइसकेका थिए। चौतारो उस्तै थियो, तर त्यहाँ बसेर भविष्यका सपना देख्ने अनुहारहरू थिएनन्। मेरा यारहरू थिएनन्। साँझपख घर फर्कँदा हरेक घरबाट निस्कने धुवाँ उस्तै थियो, तर ती धुवाँसँग मिसिएर आउने हाँसोको आवाज कतै हराइसकेको थियो।
त्यो दिन बेलुका गाउँको डाँडामा एक्लै बसेर तल झिलिमिली बत्तीहरू हेरिरहेँ। एक समय यही ठाउँबाट सहरलाई स्वर्ग ठानेर हेरिन्थ्यो। लाग्थ्यो, जीवन त्यतै पो छ। अवसर त्यतै छ। खुसी त्यतै छ। तर आज त्यही डाँडाबाट फर्केर हेर्दा महसुस भयो जीवन त यहाँ पनि त रहेछ। खुसी यहाँ पनि त रहेछ। फरक यत्ति हो, हामीले त्यो खुसी बाँच्दै गर्दा त्यसको मूल्य बुझेनछौँ।
समयले गाउँलाई धेरै परिवर्तन गरेको छैन, तर समयले गाउँका मान्छेहरूलाई बिस्तारै आफ्नो साथमा लिएर गइसकेको छ। कसैलाई विदेश, कसैलाई सहर, कसैलाई अझ धेरै टाढा... जहाँबाट फर्किएर आउने कुनै बाटो हुँदैन।
सायद यही कारणले म लेख्न सकिरहेको थिइनँ। म कथा खोज्न गाउँ गएको थिएँ तर गाउँले मलाई कथा होइन, समयको अर्थ सिकाइदियो। मैले पात्र खोजेको थिएँ, गाउँले अनुपस्थित पात्रहरूको भिड देखाइदियो। मैले नयाँ पुस्तकका लागि शब्द खोजेको थिएँ, गाउँले मौनताको भाषा बुझाइदियो।
अब लाग्छ, दोस्रो पुस्तक प्रकाशन रोक्नु गलत निर्णय थिएन। किनकि कतिपय पुस्तकहरू लेखिएर मात्र पूरा हुँदैनन्, तिनमा बाँच्नुपर्छ। केही अनुभूतिहरूलाई समय दिनुपर्छ। केही घाउहरूलाई शब्द बन्नुअघि अलिकति चुपचाप बस्न दिनुपर्छ।
सायद अब म फेरि लेख्नेछु।
त्यही चउर, त्यही अम्बाको रुख, त्यही ट्याङ्की र त्यही गाउँलाई साक्षी राखेर। छुटेका अनुहारलाई कथा बनाएर। किनकि कथा भनेको नयाँ ठाउँमा भेटिने चीज होइन रहेछ। सायद यही कारणले म लेख्न सकिरहेको थिइनँ।
फर्किएर मैले कथा मात्रै होइन, गाउँ रित्तोपन लेख्नु छ। बुढ्यौलीका जीवन ओकल्नु छ। गाउँ र सहर बिचको दूरी लेख्नु छ। बालापन लेख्नु छ अनि लेख्नु छ बदमासीहरू।
मेरो प्रिय यारहरू, यो ब्लग छापिएर आउला नआउला, आएछ भने त्यतैबाट पढ्नू। आएनछ भनेर तिमिहरूको इन्बक्समा पक्का आउने छ र पढेर फर्कनू देश, फर्कनू गाउँ अनि भरिदिनू समयको कथाले रित्ता घरहरूलाई।