दिउसोको तातो घामको रापले पृथ्वी नै जलेजस्तै गरी जमिनबाट राप आइरहेको थियो। बुढो बरको रूखको फेदमा एउटा छेपारो दिनभरिको दौडधुपले लखतरान भएर लम्पसार पर्यो। उसको सास लेसारिएको थियो, पेट भोकले ख्याउटे बनेको थियो। एउटा झिँगा वा फट्याङ्ग्रा समात्न उसले आज कति पटक जंगल र बुट्यानहरू नाप्यो, त्यसको लेखाजोखा थिएन।
जब क्षितिजमा सूर्यले आफ्नो रातो रङ्ग पोखेर बिदा हुन लाग्यो, तब मात्र उसलाई आफ्नो थकित आङ बिसाउने एउटा न्यानो गुड वा ओतको याद आयो– उसको आफ्नो घर! तर प्रकृतिमा उसको कुनै निश्चित ठेगाना थिएन। ऊ अचेल जस्तै हिजो पनि घरविहीन थियो, आज पनि घरविहीन नै रह्यो।
साँझ छिप्पिँदै थियो। अस्ताउँदो सूर्यसँगै प्रकृतिले एउटा चकमन्न सुनसानको च्यादर ओढ्यो। तर त्यो सुनसानभित्र एउटा विरक्त लाग्दो संगीत सलबलाउन थाल्यो। रूखका पातहरूका बिचबाट एउटा झ्याउँकिरी आफ्नो सूक्ष्म पखेटा फरफराउँदै रोदनको धुनमा करायो, ‘अहो छेपारो दाइ! तिम्रो त न दिनमा ठेगान छ, न रातमा ओत। तिमी कहिलेसम्म यसरी पराई ओडारमा रात काट्छौ?’
पर हिलोको खोपिल्टोबाट एउटा भ्यागुतोले आफ्नो घाँटी फुलाउँदै टर्र..टर्र.. गर्यो। उसको आवाजमा सहानुभूति कम र उपहास बढी थियो, ‘हेर दूरदर्शी नभएको प्राणी! हिजो पनि यसै भन्थ्यौ, आज पनि यस्तै छौ। आफ्नो ओत नहुनेको अस्तित्व कुन रातको शीतले निल्ने हो, पत्तै हुन्न।’
पर छिमेकी झाडीबाट स्यालहरूको एकोहोरो क्रन्दन गुन्जियो। प्रकृतिमा गुन्जिएका यी आवाजहरू केवल ध्वनि थिएनन्, तिनीहरू त छेपारोको अकर्मण्यतामाथि लागेका चोटिला प्रहार थिए। आहत भएको छेपारोले आँसुले भरिएका आँखाहरू आकाशतर्फ तेर्स्यायो।
उसले छाती दर्बिलो बनाउँदै आफैँसँग एउटा कठोर प्रण गर्यो– ‘भोलि... हो, भोलिको पहिलो झुल्के घामसँगै म मेरो घर बनाउनेछु। ढुङ्गा र माटोको होइन, मेरो आफ्नै पसिनाको ओत खडा गर्नेछु। मेरो पनि भोलि त घर हुनेछ!’
यही मिठो र न्यानो कल्पनाको एउटा तस्बिर आँखामा सजाउँदै, दिनभरिको थकाइले चूर भएको छेपारो भुसुक्क निदायो। रातभरि उसले सपनामा एउटा सुन्दर महल बनाइरह्यो।
तर प्रकृतिको नियम विचित्रको छ। जब पूर्वको आकाश चिर्दै झलमल्ल उज्यालो भयो, सुनौला किरणहरूले छेपारोको आँखा झिमझिम गराए। घामको न्यानो स्पर्श पाउने बित्तिकै उसको शरीरमा नयाँ ऊर्जाको सञ्चार भयो। पेटमा भोकको आगो सल्किसकेको थियो। अघिल्लो साँझ खाएको त्यो पवित्र कसम, उज्यालोको पहिलो प्रहारसँगै पग्लिएर नष्ट भयो।
घर बनाउने त्यो दृढ संकल्प, साँझपख क्षितिजमा बिलाएर जाने रूखको छायाजस्तै कता हरायो कता! ऊ फेरि एउटा नयाँ आहाराको खोजीमा, एउटा नयाँ महत्त्वाकांक्षाको पछि दौडिन थाल्यो।
जंगलको एउटा कुनामा छेपारो आफ्नो कसम बिर्सेर दौडिरहँदा, त्यही धर्तीका अन्य जीवहरू भने अर्कै संघर्षमा थिए।
बर्खाको पहिलो दर्के झरीले निथ्रुक्क भिजेको माटो चिर्दै एउटा गँड्यौला पृथ्वीको गहिराइबाट बिस्तारै बाहिर निस्कियो। उसको न आँखा थिए, न पखेटा। ऊ केवल स्पर्श र सुइँकोका भरमा आफ्नो जीवनको भूगोल नापिरहेको थियो। दिनभरि कठोर माटोलाई चिरेर, त्यसलाई मलिलो बनाउँदै आफ्नो सिंगो अस्तित्व धर्तीका लागि अर्पण गर्दा पनि साँझपख ऊ एउटा चिसो ढुङ्गाको फेदमा गुँडुल्किन बाध्य भयो।
कति पटक मानिसका भारी खुट्टाहरूबाट किचिनबाट जोगियो, लेखाजोखा थिएन। उसले मनमनै भन्यो, ‘भोलि... भोलि त म माटोको यस्तो गहिराइमा पुग्नेछु जहाँ कुनै डर हुनेछैन। भोलि मेरो पनि एउटा सुरक्षित गुडार हुनेछ।’
बुढो सिमलको रूखको टुप्पोमा दिनभरि ‘कुचेष्टा’को ट्याग भिरेर, कतिका मट्याङ्ग्रा र गुलेलीका ढुंगा खाँदै, फोहोरका डङ्गुरमा छाक टारेको एउटा काग आफ्ना काला पखेटाहरू खुम्च्याएर गुनगुनाउँदै थियो, ‘म त प्रकृतिको सफाइ मजदुर हुँ। तर यो संसारले मलाई सधैँ घृणा गर्यो। आशा मर्दैन, भोलि त म कसैको घरको बार्दलीमा बसेर शुभ समाचार सुनाउनेछु र कसैले मलाई श्रद्धाले भातको गाँस दिनेछ।’
त्यही रूखको अलि तल्लो टोड्कामा एउटा रुप्पी चरा छिमेकी बाजको डरले त्रसित हुँदै, आफ्ना आधा पेट सुतेका बचेराहरूलाई पखेटाभित्र लुकाएर अन्धकार आकाशतर्फ हेर्दै रुँदै थियो, ‘आज मेरा बचेराहरू भोकै छन्। तर आमाको मन कसरी हार्छ र? भोलि त म घाम झुल्किनुअघि नै उठेर त्यो परको नयाँ फाँटमा पुग्नेछु र धेरै दानाहरू ल्याउनेछु। भोलि हाम्रा दिन फिर्नेछन्।’
अनि रूखको फेदमा ओइलाएर झरेको फूलको थुँगामा दिनभरिको हुरीले च्यातिएका पखेटाहरू बोकेर एउटा पुतली लम्पसार परेको थियो। संसारलाई सुन्दरताको परिभाषा सिकाउने त्यो पुतली स्वयम् बेसहारा बनेर मधुरो स्वरमा भन्दै थियो, ‘आज हुरीले मेरा पखेटाहरू घाइते बनायो, तर म हार्दिनँ। भोलि जब फेरि नयाँ कोपिला फक्रिनेछ, भोलिको घामले मेरा पखेटामा नयाँ रङ्ग भर्नेछ।’
रात झन्–झन् गाढा हुँदै गयो। गँड्यौला माटोभित्र हरायो, कागले आफ्नो टाउको पखेटाभित्र लुकायो, रुप्पीले आफ्ना बचेराहरूलाई अझ न्यानो गरी अँगाल्यो र पुतली फूलको पत्रभित्र शान्त भयो। संसार सुत्यो तर तिनीहरूको ‘भोलिको पर्खाइ’ ब्युँझै रह्यो।
म सडकको एउटा कुनामा उभिएर सोचिरहेछु, यी जीवहरू केवल चराचुरुङ्गी मात्र होइनन्, तिनीहरू त यो संसारका करोडौँ श्रमजीवी, सर्वसाधारण र सीमान्तकृत मानिसहरूका जिउँदा बिम्ब हुन्। त्यो गँड्यौला जस्तै जो देशको जग बलियो बनाउँछ तर आफ्नै ओत हुन्न, त्यो काग जस्तै जो समाजको फोहोर सोहोर्छ तर अपहेलित रहन्छ, त्यो रुप्पी जस्तै जो सन्तानको भोको पेट हेरेर हरेक रात आँसु पिउँछ र त्यो पुतली जस्तै जसको कला संसारले उपभोग गर्छ तर ऊ स्वयम् घाइते रहन्छ।
यी जीवहरूले खाएको कसममा छेपारोको जस्तो ‘स्वार्थ र छल’ हुँदैन, तिनीहरूको कसममा त ‘आशा र बचाउको साँचो क्रन्दन’ हुन्छ।
तर कथा यत्तिमै सकिँदैन। अचेल म जब गाउँका चौतारीहरू र सहरका व्यस्त सडकहरूमा निस्कन्छु, मलाई जंगलको त्यो छेपारो कताकता हराएजस्तो लाग्छ। किनकि त्यो छेपारो त अहिले मानिसको भेषमा सहर पसेको छ। हिजोआज म सडकमा अनगिन्ती ‘दुई खुट्टे छेपाराहरू’ देख्छु, जो हरेक साँझ जनताका अगाडि देश र समाज बनाउने कसम खान्छन्।
मैले हेर्दाहेर्दै, ती छेपाराहरूको एउटा ठुलो जुलुस हातमा रङ्गीचङ्गी झन्डाहरू ठड्याएर, आकाश नै थर्किने गरी नारा लगाउँदै सडक र चोकहरूमा हिँडिरहेको देख्छु। तिनीहरूको नारामा ‘देश विकास गर्ने, गरिब नागरिकका चुल्होमा सरकार भएको अनुभूति गराउने, निमुखाहरूको शिक्षा र स्वास्थ्यमा काँचुली फेर्ने जस्ता आश्वासनहरू हरेक नारामा त्यही अघिल्लो साँझको छेपारोको कसम गुन्जिरहेका हुन्छन्।
केही समयपछि तिनै छेपाराहरू काला चम्किला मोटरहरूमा, कालो चस्माले आँखा छोपेर, कालै सिसाभित्र आफ्नो अनुहार लुकाएर सिंहदरबारको विशाल मूल ढोकाबाट भित्र–बाहिर गरिरहेका भेटिन्छन्। खुलामञ्चमा उभिएर तिनीहरू आश्वासनका यस्ता महलहरू खडा गर्छन्, मानौँ भोलि नै यो धर्ती स्वर्ग बन्नेछ।
हामी आम मानिसहरू, कहिलेकाहीँ स्वयम् तिनीहरूको त्यो विशाल भीड र भ्रमको हुरीमा आफ्नै अस्तित्व गुमाएर हराइरहेका हुन्छौँ। वास्तविकतामा भन्नुपर्दा, म नै त्यो ‘छेपारो प्रवृत्ति’बाट पीडित भएको एउटा लाचार नागरिक हुँ।
हिजो साँझ मात्रैको कुरा हो, मैले एउटा भव्य सरकारी भवनको मूल ढोका अगाडि ती भिआइपी छेपाराहरूको एउटा झुन्ड देखेँ। तिनीहरू ‘भोलि घर कसरी बनाउने’ (कुर्सी र शक्ति कसरी लिने) भन्ने एजेन्डामा एकापसमा लुछाचुँडी गर्दै झगडा गरिरहेका थिए। तिनीहरूको मुखबाट ‘कसम’ र ‘प्रण’का शब्दहरू बर्सिरहेका थिए। कोही अर्ध अंग्रेजीमा भन्दै थिए ‘प्रमिस प्रमिस.. म बनाउँछु देश।’
तर महाशय, मलाई अब राम्रोसँग थाहा भइसकेको छ। यो प्रकृतिको शाश्वत सत्य हो कि छेपारोले कहिल्यै घर बनाउँदैन। ऊ त केवल हरेक साँझ ओत नपाएर छटपटाउँदा, भोलि घर बनाउने एउटा झुटो किरिया मात्र खान्छ र उज्यालो हुने बित्तिकै आफ्नो दुनो सोझ्याउन शक्ति र स्वार्थको दौडमा निस्कन्छ। अनि हामी भ्रमित मानिसहरू, हरेक साँझ उसको त्यही कसममाथि विश्वास गरेर अर्को भोलिको प्रतीक्षा गरिरहन्छौँ।
अहिले रात छिप्पिँदै गएको छ। झ्याल बाहिर फेरि झ्याउँकिरी कराइरहेछ, भ्यागुतो टर्र–टर्र गरिरहेछ। सडकको त्यो भव्य भवनभित्र बत्तीहरू निभिसकेका छन्। म सोच्दै छु, आज साँझ फेरि कुन चाहिँ छेपारोले भोलि घर बनाउने नयाँ कसम खाँदै होला? र भोलि बिहान जब फेरि घाम झुल्किनेछ, कुन नयाँ रङ बोकेर ऊ सिंहदरबार छिर्ने होला?
छेपारोको झुटो कसमले जित्ने यो संसारमा, ती निर्दोष श्रमजीवी जीवहरूको साँचो ‘भोलि’ कहिले आउला? मलाई लाग्छ, यो कथाको अन्त्य कहिल्यै हुने छैन, जबसम्म पूर्वबाट घाम झुल्किरहनेछ र जबसम्म हामी हरेक साँझ एउटा नयाँ छेपारोको कसममाथि आफ्नो भविष्य धितो राखिरहनेछौँ।