सधैँझैँ टुप्लुक्क आइपुग्यो ऊ
रेडियोमा बिहानीको भजनको सुमधुर धुन गुन्जिरहेको छ
साहुनी ठुलो केतलीमा चिया उमाल्दै छिन्
मनमा ऋणको चियापत्ती भक्लक्क-भक्लक्क उम्लिरहेछ-
छोराको स्कुलको शुल्क तिर्दाको
लोग्ने विदेश पठाउँदाको
र
पसलको भाडा महिनै पिच्छे खापिएको।
उनले आफैले बनाएको चिया जस्तो गुलियो छैन मन
यो त दूधमा अमिलो परेपछि फाटेझैँ भएको छ
त्यसैले हरेक पटक केतलीमा चिनी र चियापत्ती उम्लँदा
मनमा ऋणका लहरहरू रोटेपिङ खेल्दछन्।
‘चिया लिनुहोस्’
साहुलाई आदर गर्दै उनी दिन्छिन्
ऊ कपमा बाँधिएको मौनतालाई
चुस्की लगाउँदै नजर घुमाउँदछ-
वक्षस्थल, गाला र खरानी लतपतिएका आँखाहरूमा
विवशताको गह्रौँ भारीले झुकेको थियो उनको शिर
साहुको कठोर आँखामा थिएन दयाको कुनै नीर
थियो त केबल सुकोमल कायामा एकोहोरो तीर!
चिया पनि सायद फिक्का भयो
उनको मनभित्रका आँसुका थोपाले
दुःखका कथा बोले चियापत्तीका तैरिएका दानाले
तर साहुको कर्के नजरले नापिरह्यो निर्धनता
मानौँ करुणाभन्दा ठुलो थियो यौनिक ब्याजको मूल्य!
उसले चिया कतिखेर सिनित्तै पार्यो चालै पाएन
भनी रह्यो, ‘इच्छा पूरा भए सबै मिनाहा’
उनी न नकार्न सक्छिन् न स्विकार्न
मन मनै सोच्छिन्- ‘तातो चिम्टाले डामौँ कि?’
मानवताको मूल्यभन्दा माथि जब धन अग्लिन्छ
त्यहाँ गरिबको सपना चुपचाप रोइरहन्छ
र,
हृदयस्थल थलिन पुग्दछन् बस्तीहरूमा मनमायाकै झैँ!
प्यासी-ऋणदाताका निम्ति अर्को कप चिया बनाउँछिन्
मरीच, सुकुमेल र ल्वाङ हालेर
सोच्दछिन् सायद चियाको तातोले जिब्रो
बोल्नै नमिल्ने गरी पोल्ला-
पिरोले कामवासनाका भावनाहरू फतक्कै गल्लान्
र
ऊ एक अनासक्त पुरुष बन्ला!
चियाको आत्मीयता प्रेमको संस्कार बन्नु पर्ने
फुल्नुपर्ने सुन्दर बगैँचामा सम्मान र सद्भावको फूल
तर उनको खेद छ, स्थायी तृषित ग्राहकप्रति
जो विवशताको खालमा यौनका गोटी खेलिरहन्छ
उन्नाइसौँ शताब्दीको ब्रिटिस
सार्वजनिक भेटघाट कोठाझैँ
हरेक बिहान मानमायाको चिया पसलमा।