एक जना नेताले चुनावी आमसभामा फ्याट्टै भनिदिए— 'स्विट्जरल्याण्डको बाउ बडिमालिका हो!'
म त एकछिन जिल खाएँ, गम खाएर घोरिएँ।
हाम्रो गाउँघरतिर बडिमालिका कतैबाट पनि पुरूषको नाम हुनै सक्दैन। गाउँघरतिर मात्रै होइन, देशैभर कुनै पुरूषको नाम यस्तो सुनेको छैन। त्यसो भए यी नेताले कुन भूगोलको नाताले बडिमालिकालाई 'बाउ' पदवी भिराए? यसको अन्तर्य बुझ्ने उत्सुकताले मलाई कुतकुती लाग्न थाल्यो।
म पनि के कम! 'सुदूर अब दूर नहीं, 'झिक्कै झिक्कै मया तम्लाई' भट्याउँदै क्याप टोपी लगाई ब्यागझोला भिरेर नाइट बसको टिकट काटेर राति नै हानिएँ कर्णाली र सुदूरपश्चिमको सेरोफेरोतिर।
कर्णालीको सिञ्जा उपत्यकालाई केन्द्र बनाएर विकसित भएको इन्डो-आर्यन समूहको खस जातिकै वंशज हुनुपर्छ भन्दै सोधखोज सुरू गरेँ। बुढीगङ्गा नदीको कञ्चन किनारै-किनार उकालो लाग्दै गर्दा झट्ट इतिहासविद् योगी नरहरिनाथको सम्झना आयो। बुढा जीवित हुन्थे त पक्कै यो 'भूगोल र लिङ्ग' को कक्टेल रहस्य सुल्झाउने थिए। यहाँसम्म आइसकेपछि थुम्को उक्लनु नै उपयुक्त ठानेँ।
बडिमालिकाको त्यो विशाल र चिसो थुम्कोमा टुक्रुक्क बसेर मैले एकफेर गम खाएँ। चिसो सिरेटोले कानका जाली बजाउँदै गर्दा पारिपट्टि अछामतिर पुलुक्क हेरेँ, जहाँ 'रामारोशन बाजे' को गाउँ लमतन्न परेर सुतिरहेको थियो। परार साल ती बुढा बाजेलाई मैले नै भेटेको हुँ। त्यतिबेलै सोध्नुपर्ने रहेछ— 'ए बाजे! स्विट्जरल्याण्ड, तिमी र बडिमालिका बीचको गाँठी सम्बन्ध के हो?' तर मेरो यो हुस्सु दिमाग! अघिल्लो साँझ चिसो भगाउने बहानामा दुई गिलास ठेट लोकल लगाइदिएको, भोलिपल्ट बिहान त मगजको हार्डडिस्क नै गायब! कुरै भुसुक्कै बिर्सेछु।
भोलिपल्ट बिहान भालेले पहिलो डाँक बास्न नपाउँदै म बडिमालिकाको थुम्कोबाट ओरालो झरेर सिधै अछामका ती 'रामारोशन बाजे' को गाउँतिर हानिएँ।
अब यत्रा विघ्न इतिहास पुरूषलाई भेट्न जाँदा के रित्तै हात जानु? बुढाको दाँत नभए पनि ओठ लेप्राएर चपाउन मिल्ने केही छोकडा, नरिवल र एक किलो जति ढिके मिश्रीको पोको पनि बोकेको थिएँ। जसरी भए पनि बुढालाई यिनै कोसेलीको अम्मलमा पारेर, फकाई-फुलाई त्यो राजनीतिक भूगोलको रहस्यमयी 'चुरो कुरो' ओकल्न लगाउनु थियो।
भाग्य बलियो रहेछ, दुःख गरेर उकाली-ओराली गरेको काम लाग्यो, बाजे धन्न अझै काललाई चक्मा दिएर जिउँदै रैछन्! मेरो ओइलाएको आशाको त्यान्द्रो फेरि जुरमुराएर पलायो।
आँगनको डिलमै पुगेर मैले बाजेलाई निहुरिएर 'स्वस्ती' टक्र्याएँ। 'साँझका पाहुना देउता सरह' भन्ने प्राचीन मान्यता सम्झिँदै बाजेले पनि सुदूरपश्चिमेली आतिथ्यमा कुनै कसर बाँकी राखेनन्।
उता मेरो दाउ भने बेग्लै थियो— बाजेको मनको 'पेन्डोरा बक्स' खोतल्न मैले आफूले लगेको कोसेलीको गुलियो चास्नी बिस्तारै तेर्साएँ। मज्जाले खानपिन गरेर कौसीको चोटामा बसेपछि बाजेले गुटुुटुटु पार्दै हुक्का तान्न थाले। हुक्काको धुवाँसँगै वातावरण अलिकति खुकुलो भएपछि मैले डराउँदै-डराउँदै आफ्नो प्रश्नको चोसो तेर्साएँ— 'ए बाजे! उता बाजुरातिरकी 'बडिमालिका' लाई चिन्नुहुन्छ कि नाइँ?'
'बडिमालिका' नाम कानमा पर्नासाथ हुक्का तानिरहेका बाजेका कान जुरूक्क ठाडा भए। उनले चिलिमको धुवाँ निल्न बिर्सिए। एकछिन आँखा चिम्म गरे, अनि अनुहार निनाउरो पार्दै मलिन स्वरमा बोले— 'चिन्दिनँ हौ, म कसैलाई चिन्दिनँ।' बाजेले ओठ लेप्राएर 'चिन्दिनँ' त भने, तर मेरो प्रश्नको तीरले उनको मनभित्र ठूलै आँधीहुरी पैदा गरिसकेको कुरा अनुहारको छटपटीले प्रष्ट पार्थ्यो। त्यसपछि उनी केहीबेर चुइक्क बोलेनन्। बाजेले भित्री कुरो नखोल्ने हुन् कि र मेरो मिश्री-छोकडा बालुवामा पानी हाले सरह हुने पो हो कि भन्ने भयले मलाई सताउन थाल्यो। मैले साहस बटुलेर सुस्तरी अर्को प्रश्न सोझ्याएँ।
'हैन बाजे! हाम्रा सहरका ठूला नेताले त उता बाजुराको बडिमालिकालाई 'स्विट्जरल्याण्डको बाउ' हो भन्दै भाषण ठोकेका थिए, के यो साँचो हो त?'
मेरो प्रश्न भुइँमा के खस्न लागेको थियो, बाजेको अनुहार रिसले सिधै वैशाख-जेठको घाम जस्तै रातो-पिरो भयो। भित्रैदेखि तातेर आगो ओकल्ने ज्वालामुखी बन्दै बाजे गर्जिए— 'हुन्छे त्यो बडिमालिका बाउ?
अरे हौ, स्विट्जरल्याण्डको बाउ त म हो म! म रामारोशन चतुर्वेदी पो हुँ त स्विट्जरल्याण्डको सक्कली बाउ!'
म अक्क न वक्क परेँ! बुढाको रिस देख्दा सातोपुत्लो उड्यो। लुगाको फेर समात्दै सोधेँ— 'अनि बाजे, त्यसो भए बडिमालिका चाहिँ के हुन् त?'
बाजेले हुक्काको नली भुइँमा राखे, एउटा लामो र चिसो सुस्केरा हाले, अनि आकाशतर्फ हेर्दै सुस्तरी रहस्य खोले— 'त्यो बडिमालिका त... त्यो स्विट्जरल्याण्डकी आमा हो!'
'अनि त्यो स्विट्जरल्याण्ड चाहिँ अहिले कहाँ छ त बाजे?' मैले निकै मसिनो र डराएको स्वरमा बाजेतर्फ जिज्ञासाको सुइँरो तेर्साएँ। मेरो कोसेलीको गुलियोले बल्ल काम गर्न थालेछ, बाजेले आफ्नो मनको भारी बिस्तारै बिसाउँदै 'रामकहानी' ओकल्न थाले। कुरो खुल्न थालेकोमा म मनमनै निकै खुसी भएँ, भित्रभित्रै उफ्रिन मन लागे पनि आफूलाई निकै मुस्किलले नियन्त्रण गरेँ।
बाजेले फेरि एउटा लामो सुस्केरा हाले। उनका चाउरिएका आँखामा टिलपिल-टिलपिल आँसु गाजलझैँ गरी तैरिन थाले। गला अलिकति ख्यार-ख्यार पार्दै उनी बोल्न थाले— 'हाम्रो एउटै मात्र कुलको दियो, एउटै सन्तान हो त्यो स्विट्जरल्याण्ड। सानो छँदा त्यसलाई निकै कडा रोग लाग्यो। झाडापखालाले सोत्तर पारेर लान्छ कि जस्तो भइसकेको थियो। जति झारफुक गर्दा, जडीबुटी र औखतीमुलो गर्दा पनि बिरामी त निको हुनै मानेन। त्यस्तैमा एक दिन उता हिमाल चढ्न हिँडेका हौँ भन्दै केही “खैरा” मानिसहरू यो गाउँमा आएका थिए। तिनीहरूले नै 'हामी यसको ओखती गरेर निको पारी फिर्ता पठाइदिन्छौँ' भनेर आफ्नो साथमा युरोपतिर लगेका हुन्। त्यो गएको गएकै भयो, आजसम्म यो आँगनमा फिर्ता आएन।'
'अनि त्यसपछि केही खबर-खाबर, चिठीपत्र केही पनि आएन त बाजे?' मैले पनि अनुहार निकै निन्याउरो पार्दै सोधेँ।
बाजेले पटुकाको फेरले आँखाको कचेरा र आँसु पुछ्दै भने— 'परार साल एउटा चिठी आएको थियो। चिठीमा लेखेको थियो— 'बा, अब म ठूलो भइसकेँ। यतै अङ्ग्रेजी स्कुलमा पढेर ठूलो हाकिम भएको छु। यहाँ त खान, बस्न एकदमै सुख छ। घरहरू पनि ऐना जस्तै चम्किला र राम्रा छन्। बाटोघाटो पनि चौडा छ। बिजुली बत्ती सबै ठाउँमा पुगेकोले गाउँ पनि सहरजस्तै झलमल्ल छन्। ठूला अस्पताल र राम्रो पढाइ हुने नामी स्कुल र कलेजहरू छन्। यता त पहाडका चेपचेपमा पनि रेल कुद्छन् बा! मावलका जस्ता फराकिला पाटन र बाको स्वाभिमानी शिरजस्तै सेता, अग्ला हिमालको फेदीमा हाम्रा गाउँकै झल्को दिने बस्तीहरू सजिएका छन्। संसारभरिका ठूला र टाठाबाठाहरू यहाँ पैसा उडाउन र घुम्न आउँदा रहेछन्। सुविधा भए त हाम्रा गाउँमा नि जाँदा हुन् नि मोराहरू।'
उसले थप लेख्दै थियो, 'पैसा त मैले पनि सोहोरेकै छु। दुई वर्षअगाडि यतैकी एउटी खैरीसँग लगनगाँठो पनि कसेँ। अहिले घर, गाडी र हजुरहरूको एउटा हाइब्रिड नाति पनि तयार भएको छ। हजुरहरूले मेरो रत्तिभर चिन्ता नगर्नू होला। पछि नाति हजुरहरूलाई भेट्न अवश्य आउनेछ 'बा! आमालाई पीर नगर्नू भन्नू। हामी सात समुद्रपारि भए पनि आखिर मुटु त एउटै हो नि!'
यो चिठीको व्यहोरा सुनाउँदा-सुनाउँदै बाजेको गला अवरूद्ध भयो। उनको ओठ काम्यो र अगाडि बोल्नै सकेनन्। हुक्काको चिलिम पनि निभिसकेको थियो।
वातावरण निकै भावुक भएपछि मैले कुरो फेर्दै बिस्तारै सोधेँ— 'अनि बा, बडिमालिका बजैसँग चाहिँ किन छुट्टिनुभएको त नि?'
बाजेले लामो सास ताने अनि शून्य आकाशतिर हेर्दै भने— 'त्यो कुलको दीपक कहिल्यै नफर्कने भयो भनेर त्यसकी आमाले एक दिन मसँग ठूलो झगडा गरी। छोरो फर्काउन नसक्ने कस्तो लाछी बुढो भन्दै मलाई सरापेर ऊ आफ्नो माइत (बाजुरा) तिर लागेकी हो। उतै बडिमालिकाको थुम्कोमा गजधम्म परेर बसेकी छ। फेरि फर्केर यो रामारोशनको आँगनमा आइनन्।'
काठमाडौंको त्यो धुवाँ-धुलोबाट यो सुदूर कुनासम्म आएर अन्ततः यो 'गाँठी कुरो' पत्ता लगाउन पाएकोमा म भित्रभित्रै निकै प्रफुल्ल थिएँ।
मनैदेखि एक पटक हाम्रा ती जुझारू र गफौडी नेताज्यूलाई हृदयदेखि नै धन्यवाद दिएँ।
विचरा नेताज्यूले सत्य कुरा नै त ओकलेका रहेछन् नि! कुरा यत्ति मात्र त हो— हतार-हतारमा भाषण ठोक्दा 'आमा' को ठाउँमा 'बा' र 'बा' को ठाउँमा 'आमा' हुन पुगेछ! मैले पनि यसलाई 'जिब्रो चिप्लँदा भएको सामान्य प्राविधिक त्रुटि' ठानेर मनैदेखि नेताज्यूलाई आममाफी दिने उदारता देखाएँ।
आहा! वास्तवमा विश्वकै स्वर्ग भनिने त्यो स्विट्जरल्याण्डका सक्कली 'बा' त अछामका 'रामारोशन' र जन्मदिने 'आमा' बाजुराकी 'बडिमालिका' पो रहिछिन्!
नेताज्यू, अर्को चुनावमा भाषण गर्दा नाता अलिकति सच्याएर भनिदिनू होला, नत्र यी बूढाबाजेले फेरि अर्को विद्रोह गर्न के बेर!