पहाड जस्तै तिम्रो छातीमा टाँसिएर बाँच्न मन छ। एकान्तमा चिटिक्क सानो घर बनाएर तिमीसँगै बस्न मन छ। जहाँ मनको कुनामा मयुरहरू नाचून्। मृगका पाठाहरू उफ्रिऊन्। मुन्तिर खेतका तरेलीहरूमा कलकल पानी बगिरहेको होस्। नागबेली बग्ने त्यो खोला र खोल्साहरूमा हामी स्नान गर्दै रमाउन पाऊँ।
हामीलाई माथिको निर्मल आकाशले स्वागत गरिरहोस्। अग्ला शिखरहरूले मन सधैँ लोभ्याइरहून्। म चञ्चल अनि तिमी अधैर्य। दुई एक भएको सामूहिकताको भावना हामीमा हुनुपर्छ। जीवनका उकाली-ओरालीमा हामी भालेडाँकोसँगै हातेमालो गर्दै नित्यकर्म सुरु गरौँला। प्लिज तिमी सधैँभरि साथ दिन्छ्यौ?
यस्तै भावमा ‘निशा’ले कुनै दिन मलाई प्रेमको सफेद प्रस्ताव पेस गरेकी थिइन्। यो भेटमा निशा थप राम्री र प्रमिल लाग्थी।
'तिमीलाई मेरो विश्वास लाग्छ कि लाग्दैन?' उसले मृगनैनी आँखाले कलेजीमा खत पर्ने गरी घुरेकी थिइन्। उसको प्रश्नको जबाफ दिन नखोजेको होइन तर शब्द स्वरयन्त्रमै भासियो।
उसले फेरि सोधी– ममाथि आशङ्का गर्छौ? के तिम्रोबारे रमासँग मैले गलत कुरा गरेँ हुँला?
यतिखेर पनि म मौन बसेँ।
उसले थोरै नजर झुकाई र मेरो प्यालामा आफ्ना नजर डुलाई।
आइसका टुक्राहरू गिलासमा घुलिरहेका थिए। जलवायु परिवर्तनको असरले हिमाल पग्लिएझैँ चिसो गिलासभित्रको आइसको प्रभावको अंश गिलासबाहिर पनि थियो। टिस्यु पेपरले गिलास पुछेर आफ्ना सुरिला र तिखा औँलाहरूले गिलास उठाई। एक घुट्को घुटी। मुख पूरै बिगारी।
'कति कडा प्याक राखेको? मुटु, कलेजो, किड्नी छिट्टै स्वाहा पार्ने मन छ? यस्तै हो भने तिम्रो आयु धेरै हुन्न।'
म बोलेँ– मेरो मनको आगो बुझाउन योबाहेक अरू के छ र?
पेसाले स्टाफ नर्स उसले तरल-मदिरा र धुवाँ-चुरोटले कसरी मानवका महत्त्वपूर्ण भित्री अङ्गहरू नास पार्छन् भन्ने कुरा सम्झाउन खोजी। शब्द आफै निस्कियो– अब ती सबै अङ्गहरू कसको लागि जोगाउनु छ र? एक तिमी थियौ, अर्कैकी भइहाल्यौ।
उसले एक हातले च्याप्प मेरो कपाल समातेर एक फन्को घुमाई। आफ्नो काखमा मेरो टाउको घुसारी।
'प्रेम अमर हुन्छ। म आज पनि तिमीलाई उत्तिकै माया गर्छु। तिमी मेरो लागि थप राम्रो बनेर देखाउनुपर्छ। मेरो बाध्यता बुझ। ड्याडी-मम्मीको खुसीको अघि म बाध्य भएँ।'
'तिम्रै कारण मेरा सबै रहर र खुसीहरू अपहरित भए नि' भनेर मुखभरि जबाफ दिन मन थियो। तर, उसको मन दुखाउन चाहिनँ। बरू आफैलाई पीडा दिएँ। देब्रे आँखाबाट अनायासै आँसुको ढिक्का खस्यो। उसले त्यो देखिनन्।
म सम्हालिएँ। सहज बनेँ र भनेँ– तिम्रो निर्णयले म एकदमै खुसी छु। म नाथेसँग धनदौलत के थियो र? तिमीले नपाउनु दुःख पाउँथ्यौ। आज तिम्रो लक्जरियस लाइफ छ। कहिलेकाहीँ त तिम्रो यति बलियो तकदिर देखेर डाहा लाग्छ।
निशाले भौतिक सुखसयलभन्दा मनको खुसी ठूलो कुरा हो भन्ने तर्क गर्न खोजी। म वासरुम जाने बहाना गर्दै निस्किएँ। मलाई वासरुम जानु नै थिएन। म अब पुरानो घाउ कोट्याएर सैनखटिरो बनाउन चाहँदैन थिएँ। म नजिकै बाहिर चुपचाप उभिएँ। उसको फोनको रिङ बज्यो।
बोली– मेरो राजा, मेरो मुटुको टुक्रा आराम छ? भूजा ज्यूनार भो?
दुई बीचको कुन्नि के कुरा भो– रुम गुञ्जायमान हुने गरी हाँसी। मेरो लागि उसको खुसी नै मेरो खुसी थियो। अब अल्लारे बेलाको पागल प्रेमीवाला मुडबाट ऊ बाहिर पुगेको मैले निश्चय गरेँ। तैपनि कञ्चन आकाशमा एउटा धुवाँ उडाएँ।
मैले कति पटक– होटलमा सुरूमा चुप्पा गर्दै रमाउँदै बसेका परपुरूष र स्त्री मदिराको मात चढेपछि एकले अर्कोलाई छेडखानी गरेका, एकले अर्कोको पोल खोलाखोल गरेका, विवाद भई एकले अर्कोलाई कुटाकुट गरेका प्रत्यक्ष सुनेँ देखेको छु। म त्यो चाहँदैन थिएँ। किनकी निशाले मेरो गिलासबाट मेरोभन्दा बढी पिइसकेकी थिइन्। बिस्तारै उसलाई त्यसको असर पर्दै गएको मलाई अनुभूत थियो। मभन्दा पनि उसको इज्जतमा एक अंश दाग नलागोस् भन्न म चाहन्थेँ। बरू उसको खुसीको लागि म जे भोग्न र त्याग्न पनि तयार हुनुपर्छ भन्ने लाग्छ।
म आएको सङ्केत गर्दै मसिनो खोकी खोक्दै भित्र पसेँ। जतिखेर उसले फोन काटिसकेर मेरो गिलासमा आफ्ना लाली ओठहरूले चुम्बन गरिरहेकी थिइन्।
उसले मानिनन्– अर्को गिलास मागी। मेरै गिलासबाट आफ्नो गिलासमा एक पेग जति खन्याई र भनी– लौ यो भेटको खुसीमा एक पटक चियर्स गरौँ। दुई प्याला हल्का ठोक्किए। उसले गिलास केही मुनि पारी। यो तिमीप्रतिको सम्मान हो। जहिले मेरो शिर तिम्रो यसैगरी झुकिरहनेछ। मैले उनलाई धन्यवाद दिएँ।
'लौ मेरो तिमी खाऊ म तिम्रो खान्छु। जुठो खाए माया थप गाढा हुन्छ रे।' उसको चाहनामा मैले नाइँनास्ती केही गरिनँ।
उसने मलाई फेरि पहिले जस्तै घुरेर हेरी अनि हाँस्दै प्याट्ट गालामा बजाई। पेट मिच्दै हाँस्न थाली। 'अया... मरेँ नि।' हाँसो रोकेर उसले एकाएक प्रश्नको तोप हानी।
अनि बोली– तिमी मलाई आज पनि उत्तिकै माया गर्छौ? मैले भनेँ– कुनै शङ्का छ र?
'त्यसो भए– के आजै मलाई आफ्नो घर लान्छौ?'
३० सेकेन्ड जति कोठामा मौनता छायो।
म– जान्छौ भने हुन्छ।
ऊ सहज हुने गरी फ्याट्ट बोली– धेरै लामो कथा नसोचौँ है। बरू अलि नजिक आऊ।
त्यही समय अघिको अर्डर लिएर वेटर आयो। ऊ आफैँ केही पर सरी। पिज्जा, चिकेन चिल्ली र मोःमो मध्ये उसले पिज्जा रोजी।
वेटर गइसकेको थियो। उसले लाडिँदै भनी– प्लिज थोरै तन्किऊ न। यो मेरो खाइदेऊ न। मैले भनेँ– जुठो भए झन् लाग्छ रे। भयो, अब म धेरै सक्दिनँ। कलेजो कलिलो छ।
'ठिक छ ल त्यसो भए अब स्विट सट है।'
दुवै गिलास एकै साथ रित्तिए।
उसले व्यङ्ग्य हानी– कलेजो कलिलो छ भन्ने अनि स्वाट्टै पार्ने? छिट्टै माथि जाऔला है, यस्तो नगरे।
मलाई आफूतिर खिची।
'खै यता आऊ त मुख पुछिदिऊँ।'
सलको एक टुप्पोले प्रेमपूर्वक मुख सफा गरिदिई। मैले 'थ्याङ्क्यु' भनेँ।
उसले मलाई पहिले पनि यसैगरी केयर गर्थी।
त्यो नेपालगञ्जको गर्मी खेपी नसक्नु थियो। ऊ काठमाडौँबाट प्लेनमा आएकी हुँदा मलाई लिन बोलाएकी थिइन्। हामी दाङसम्म पुग्नु थियो। घडीमा दिउँसोको ४ बज्दै थियो। हामी निस्कन भनेर क्याबिनबाट उठेका थियौँ। एकाएक उसले औँलाले इसारा गर्दै चुप लाग्न र बस्न भनी।
उसकी नातेदार त्यहाँ कोही पुरूषसँग आएको उसले देखिछन्। उसले मेरो कानमा सासले त्यो कुरा भनेकी थिइन्। हामी चुपचाप बस्यौँ। मौनता छायो। भर्खरै सम्मुखको क्याबिनमा छिरेकी महिलाको फोनको घन्टी बजिरहेको थियो। धेरै रिङपछि उसले फोन उठाई।
'म छोरीको लागि सामान किन्न आएकी छु। अहिले बजारमा निकै व्यस्त छु। घर पुगेर कुरा गरौँला हुन्न?'
सायद, फोन गर्ने उसको पतिदेव थियो। जो जागिरको सिलसिलामा घरबाहिर वा कतै विदेशमा थियो।
ऊ बोली– यो साले कस्तो धेरै चौकीदारी गर्छ यार, इरिटेड भइसकेँ। मुला म उसको मात्रै हुनुपर्छ भन्ने कहीँ लेख्या छ र? मेरो शरीर, मेरो खुसी मेरो मर्जी। जवानीमा यति राम्री मलाई एक्लै छोडेर पैसाको लागि मात्रै दौडिन्छ अनि मैले मेरो जवानी त्यसै फाल्नु? कि कसो?'
उसको साथी सानो स्वरमा बोल्यो– कति राम्री कति ज्ञानी।
उसले आगोमा घिउ थपिदियो– हेर, बगेको खोला र जवानी कहिल्यै फर्किन्न। आज हामी यो लेगपिस, वाइन जे खाइरहेका छौँ नि, भोलि स्वास्थ्यका कारण चाहेर पनि खान नसक्ने हुन्छौँ।
'हो नि यार, यति सुन्दर श्रीमतीलाई छोडेर एक्लै टाढा जाने ऊ नै मुर्ख हो।'
महिला बीचमा बोली– मेरो लागि कमाउन गएको रे। मलाई जीवनभर दुःख दिन्नँ भन्छ। माया त खुबै गर्छ नि। तर, के गर्नु यार, त्यति टाढाबाट मोबाइल मार्फत गरेको माया र स्पर्श बिनाको प्रेमले मलाई कसरी पुग्छ? हैन त?
उसको मोबाइल फेरि बज्छ। तत्काल उसले अर्को फोनबाट साथीलाई बोलाउँथी। 'ओइ रमा, कहाँ छिस्। ऊ आत्तिएर बोली। ओइ च्याखुरी आज क्लब सलब लात हान यार। यहाँ आइज न। त्यो मुर्दारले फोन हानेर वाक्क पाऱ्यो। नत्र शङ्का गर्छ। गाह्रो हुन्छ। बल्ल ऊ विजय भावले उन्मुक्त हाँसो हाँस्दै भनी फेरि– मुर्दारले उताबाट पैसा पठाउन्न के।'
केही बेरमै रमा आई। अब ढुक्कले बिनाले पतिदेवलाई म्यासेन्जरमा फोन हान्दै थर्काउन थाली।
'हेर न मेरो प्यारो बुढो, यी देख्यौ नि, रमा र म सँगै छौँ के। खाजा खान लाका छौँ। नआत्तिनु मेरो बुढो अब एकछिनमा रूम पुगिहाल्छु। हेर, यी छोरीलाई सामान किनिदिएकी छु। मेरो बुढो हजुरलाई धेरै मिस गरेकी छु।'
मोबाइलमै चुप्पा खाएको आवाज स्पष्ट कानमा ठोक्कियो। अनि बल्ल 'बाई' भन्दै फोन काटी।
'साले, कति चौकीदारी गर्न खोज्छ यार। कस्तो बोर लाग्छ भन्या।'
रमाको इसारामा अघि बाहिरिएको लोग्ने मान्छे बल्ल भित्र पस्यो।
उसले भन्यो– कुरा भयो? अब तनाव सकियो नि? फेरि फोन त आउँदैन नि। म खाँदाखाँदै उठेर फेरि बाहिर जानु त पर्दैन नि? उसले विश्वास दिलाउँदै भनी– राजा अब ढुक्क भए हुन्छ!