यहाँ
चेतनाभन्दा नाराको व्यापार धेरै छ
अनि माटोभन्दा झन्डाको चिन्ता
खेतहरू बाझिँदै छन्
तर भाषणका बालीहरू
हरेक मौसममा हरिया देखिन्छन्।
यहाँ मानिसहरू सत्य खोज्दैनन्
आफ्नो पक्षलाई सही साबित गर्ने
बहाना खोज्छन्
कसैले वर्तमान बेचेर खान्छन्
दोष विपक्ष तिर फर्काउँछन्
कोही आफ्नो अक्षमता लुकाउन
विदेशी षड्यन्त्रको कथा सुनाउँछन्।
र भीड
भीड ताली बजाउँछ
किनकि सोच्नुभन्दा सजिलो
त विश्वास गर्न हुन्छ
राजनीति सेवा हुनुपर्ने यहाँ
सिंहासन बनेको छ
नेतृत्व बाटो देखाउने दीप हुनु थियो
तर आफैँलाई पूजा गराउने देवता बनिरहेछ।
अनि जनता!
जनता पनि उस्तै उस्तै
आफ्नो विवेक बेचेर
भोलिको उज्यालो किन्न खोज्दै छन्
यही देशमा
कुनै इमानदार मान्छे पटक पटक हार्छ
कुनै धूर्त मान्छे हाँसी हाँसी जिती रहन्छ
र समाजले घोषणा गर्छ
सफलता नै सत्य हो।
जबसम्म हामी
आफ्नो गल्तीको ऐना नफुटाई
अरूको अनुहारमा दोष खोजिरहन्छौँ
तबसम्म परिवर्तनको गीत
सभामा मात्र गुन्जिरहनेछ।
र यो देश
देश त्यहीँ उभिइरहनेछ
नाराको समुद्रमा डुबेर
सत्यको एक थोपा पानी खोज्दै।