कालीपारि दाइ,
तिमी किन यति जाली?
सारिरहन्छौ किन सिमाना
आफ्नोतिर घरीघरी?
तिमी हामी उस्तै–उस्तै
जरा एउटै, धारा एउटै
मूल एउटै, कुल एउटै
शब्द एउटै, संगीत एउटै।
एउटै खाना, एउटै गाना
खुला छ सिमाना
रोटी–बेटीको सम्बन्धले
बाँधेको छ खजाना।
तिम्रो देशमा तिमी अटेकै छौ
अनि हाम्रोमा हामी
फेरि किन गर्छौ लालच
अनि व्यर्थको बदनामी।
ठुलो–सानो, आफ्नो–पराइ
छामेर हेर मनको गहिराइ
हिमाल त्यही, पानी त्यही
नाम मात्रै हुन्छ फरक,
बग्ने त सधैँ उही।
जुन बाटो मिचेर आज
मानसरोवर जाँदै छौ
जुन माटो थिचेर
आफ्नो झन्डा गाड्दै छौ।
नबिर्स—
तिम्रो हाम्रो तीर्थ उही,
पुर्खाहरूको स्वार्थ पनि उही
सीमा कोरिए पनि आकाश उही,
दुःख पर्दा दुवैलाई
भगवान् शिवको सहारा उही!
तर—
कालीपारि दाइ,
तिमी किन यति जाली?
किन सारिरहन्छौ सिमाना
आफ्नोतिर घरीघरी?