जब चिप्लिन्छन् तिम्रा सत्य वचनहरू
जन्मिन्छन् फुस्रा, खस्रा अनि तिता वचनहरू
उखेलेका जरासरि टन्टलापुर घाममा सेकिएपछि
सजनकै मुहारमा राक्षसको अवतार देखिएपछि—
तिमी दिनरात नभनी गर,
तिमी बाँचेर गर,
तिमी मरेर गर
तिम्रो मूल्यांकन शून्य हुनेछ
जुन दिन तिमी नजरमा शून्य हुनेछौ।
तिमी तिम्रो हाड घोट् सक्छौ अझै लगाऊ चोट
ताली पिट्ने ‘अरे वा’ भन्नेहरूको यहाँ के खोट?
वारिलाई पारि, पारिलाई वारि भन्नेहरूको भीडमा
मुढो उहीँ मात्र हो जहाँ वजन फरक छ गिँडमा।
तिमी दिनरात नभनी गर,
तिमी बाँचेर गर,
तिमी मरेर गर
तिम्रो मूल्यांकन शून्य हुनेछ
जुन दिन तिमी नजरमा शून्य हुनेछौ।
कालो बादल झैँ रिस मडारिएको अनुहारमा
अहमताको वेगले बाँध नाघेपछि धारमा
तिमी न बस्न सक्छौ, न उठ्न सक्छौ कहरमा।
तिमी दिनरात नभनी गर,
तिमी बाँचेर गर,
तिमी मरेर गर
तिम्रो मूल्यांकन शून्य हुनेछ
जुन दिन तिमी नजरमा शून्य हुनेछौ।
तिमी शिर ढोग वा पाउ मोल—
चोक्टा हुन्जेल तैरने हो झोल
फुटेपछि स्वार्थका ओजनपूर्ण बाँध
दागिलो देख्छन् यहाँ पूर्णिमाको चाँद।
तिमी दिनरात नभनी गर,
तिमी बाँचेर गर,
तिमी मरेर गर
तिम्रो मूल्यांकन शून्य हुनेछ
जुन दिन तिमी नजरमा शून्य हुनेछौ।
रातो रगत कालो बन्ने बेला
अहिलेसम्म यहाँ कसले गर्यो झेला?
अमृत लिएर विष पिलाउनेहरू
यदाकदा दिनरात नजिकै देख्छु।
हाँस्दैहाँस्दै पसिना र रगतमा पौडी खेल्नेहरू—
तिमी दिनरात नभनी गर,
तिमी बाँचेर गर,
तिमी मरेर गर
तिम्रो मूल्यांकन शून्य हुनेछ
जुन दिन तिमी नजरमा शून्य हुनेछौ।