सरकार!
हजुरको कालो चस्माले
घाम पनि छेक्छ, आँखा पनि
तर हाम्रा दुःख त छेकिएनन् हजुर
बरु झन् अँध्यारो थपिँदै गयो।
जहाँ अनर्थ हुन्छ, त्यहाँ अर्थ भेट्छ हजुरको चस्माले
तर जहाँ अर्थ लाग्छ, त्यहीँ हाम्रो उठिबास लगाइयो।
पुरानाले जहाँसम्म पुर्याए
हजुरले अझ माथि पुर्याउने आशा थियो
तर हजुर त
हामीलाई नै तल धकेलेर
आफैँ आकाश छुन पो लाग्नुभयो!
सरकार, एउटा बिन्ती छ
बस्नलाई सानो बास दिइबक्सियोस्
खानलाई दुई छाक गाँस दिइबक्सियोस्।
बाँच्नलाई सास चाहिँदैन हजुर
सास त हामी आफैँ फेर्छौँ
यदि हजुरका मान्छेले घाटी अँठ्याएनन् भने
बस, बाँच्ने एउटा आधार दिइबक्सियोस्।
भोको पेटले
आँखा धमिलिएका छन् हजुर
हामीलाई चस्मा होइन, अन्न चाहिएको छ
पेट भरियो भने त
हामी आफैँ संसार देख्न सक्छौँ।
सरकार!
आज हामी विरोध गर्न आएका होइनौँ,
हामी त केवल
हाम्रो भोको-नाङ्गो बाध्यता देखाउन आएका हौँ।
हेर्नुस् त, हामी मजदुर हौँ
दिनभर पसिना बगाउँछौँ, तर भविष्य हाम्रै भत्किएको छ।
हामी किसान हौँ
धान फलाउँछौँ, तर आफ्नै भकारी रित्तो छ।
हामी सुकुम्बासी हौँ
यो देश हाम्रो पनि हो, तर ओत लाग्ने ठाउँ हजुरकै हुकुमले खोसियो।
सरकार!
अलिकति मात्रै पनि लाज बाँकी छ भने
चस्माले नदेखेको हुन सक्छ
त्यो कालो चस्मा खोलेर
एक पटक हाम्रा फुटेका पैताला र जीवन हेर्नुस्।
हामीले कुनै ठुलो कुरा मागेका छैनौँ
न सिंहदरबार मागेका छौँ, न त दरबारको सपना!
हामी त केवल
अन्न, पानी र अलिकति ओत मागिरहेका छौँ।
हामीलाई आवाज दबाउने बा होइन
बा हटाएर लेनमा चल्ने बालेन चाहिएको छ
हाम्रो पीडा बुझ्नुस्
हामीलाई अपराधी होइन, नागरिक सम्झनुस्।
सरकार!
यो देश हजुरको मात्रै होइन,
हामी सबैको साझा फूलबारी हो
त्यसैले
धर्मको नाममा दियो बालेको धागो झैँ ओइलाउन होइन
हामीलाई हाम्रै मौलिकतामा फुल्न फक्रिन र झर्न दिनुस्।