शहर गहिरो निद्राबाट ब्युँझिन तरखर गर्दै थियो। क्षितिजबाट छरिन खोजिरहेको उज्यालोलाई छेकेर चारैतिर ठूला पहाडहरू पर्खालझैँ उभिएका थिए। चन्द्रमा अस्ताइसकेको थियो, झिसमिसे भइसकेको थिएन। मध्य पुसको चिसो पछ्यौरीले ढपक्कै छोपिएर जताततै तुसारो परेको चकमन्न शहरको बीचतिर, काठैकाठले बनेको कलात्मक फल्चा थियो।
फल्चाको छेउमा टुसुक्क बसेको उसका खुट्टा भूकम्पले हल्लाएको बिजुलीको खम्बाजस्तै काँपिरहेका थिए। निद्रा आएका तर निद्रा नपाएका उसका एक जोडी आँखा गोलभेँडाजस्ता देखिएका थिए। ती राता आँखाहरूमा एक प्रकारको खालीपन पोतेर ऊ एकोहोरो एक युवतीको सुमधुर मुस्कानसहितको श्यामश्वेत तस्बिरमा हराइरहेको थियो।
फल्चाको कुनातिर एउटा निख्खर कालो र अर्को खैरो कुकुर गर्भवती महिलाको गर्भमा तैरिरहेको भ्रूणजस्तै देखिने गरी गुडुल्किएर सुतिरहेका थिए। सुनसान मसानघाटजस्तो अनुभूत हुने त्यस ठाउँमा केही पर एक सानो बच्चा एकोहोरो रोइरहेको मधुरो आवाज मात्र उसले सुनिरहेको थियो।
फल्चा अगाडि केही ढल्किएर उभिएको खम्बामा मधुरो बत्ती न निभ्न सकिरहेको थियो, न बल्न सकिरहेको थियो। टुप्पोतिर गुजुल्टिएर बीच भागसम्म झुन्डिएका तारहरूको झुन्ड हेर्दा लाग्थ्यो ती खम्बाका कैयौँ दिनसम्म ननुहाएका अनि वर्षौँसम्म नकोरेका 'ड्रेडलक' कपालहरू हुन्। तिनै ड्रेडलक तारका गुजुल्टोहरूले मधुरो बत्तीको प्रकाश छेलिएकाले ऊ बसेको ठाउँमा छाया परेको थियो।
केही समय आफ्नो आसपासको अवस्था नियालेपछि उसले खल्तीबाट मोबाइल झिकेर फेरि युवतीको आँखा हेर्यो। एकाएक उसको मुटुको धड्कन तीव्र हुन थाल्यो। उसले फेरिरहेको सास फोक्सोसम्म पुगेकै छैन जस्तो बेचैनी हुन थाल्यो— 'के आज ऊ आउली कि नआउली? के उसले अझै पनि यहीँ काम गर्छे कि छोडिसकी?'
उसलाई अन्योलताले ठूलो चुम्बकले फलामलाई समातेझैँ च्याप्पै समात्यो। 'ऊ आइ भने पनि के उसले मलाई यहाँ देख्ली? देखिहाली भने पनि के देखेजस्तो गर्ली? देखेर पनि नदेखेझैँ गरी भने म झन् चकनाचुर हुनेछु। उफ! मसँग उसलाई बोलाउने तागतसम्म पनि छैन।'
फल्चाको कुनामा गुडुल्किएका दुई प्राणीहरू इन्तु न चिन्तु भएर पल्टिरहेकै थिए। ऊ फल्चाको थाममा अडेस लागेर बसेको थियो। ऊ बसेको ठीक पछाडि सडकपेटीमा जोडिएको एउटा सानो मन्दिर थियो। मधुरो प्रकाश छरिएको मन्दिरको पेटीमा एक जोडी परेवा यताउता गर्दै थिए। भाले परेवा घोक्रो फुलाएर ‘घुर्र-घुर्र’ आवाज निकाल्दै, आफ्नो मुन्टो अर्कोतर्फ फर्काएर उभिएकी पोथीलाई फकाउने प्रयास गर्दै थियो।
भाले घुर्रराउँदै पोथीको छेउमा जान्थ्यो, पोथी घुर्क्याउँदै उडेर अलिक पर पुग्थी। पोथी जताजता जान्थी, भाले उसकै पिछा गर्थ्यो। धेरैबेरको प्रयासपछि पोथीले प्रतिकार गर्न छोडी। पोथी सहमत भई, भाले सफल भयो। परेवाको चर्तिकला हेर्दाहेर्दै उसका आँखा लोलाए। टाउकोलाई थाममा अडेस लगाएर, खुट्टा फल्चामा पसारेर, दुवै हात काखीमुनि हालेर उसले आँखा चिम्लियो।
जब उसका आँखा खुले, घाम ती ठूला पहाडहरूभन्दा निक्कै माथि पुगेर मुस्कुराइरहेको थियो। जमिनमा जमेर बसेका तुसारोहरू बाफ बनेर आकाशमा बिलाइसकेका थिए। सडकमा भागदौड चलिसकेको थियो। यस्तो हल्लाखल्ला हुँदा पनि ऊ कसरी यस्तो मस्त निदाउन सक्यो? ऊ अचम्मित भयो।
बाटोमा हिँड्ने मानिसहरूले उसैलाई हेरिरहेझैँ लागेर, आफू ननिदाएको नाटक गर्दै उसले आफ्ना खुट्टा हतार-हतार तल झार्यो। शरीर पूरा तनक्क तन्काएर सिधा भएर बस्यो। उसले आँखा अगाडि एउटा ठूलो रेस्टुरेन्टको बोर्ड देख्यो— ‘जिउनार बाई रित्विका’। उसलाई आफ्नो आँखाले जे देख्दैछ त्यो भ्रम हो भन्ने लाग्यो र उसले आफ्ना आँखा एकपल्ट हत्केलाले मिच्यो; फेरि आँखा खोल्दा पनि दृश्य उही थियो।
यो कसरी सम्भव भयो? उसले होसियारीपूर्वक आफ्नो वरपरको दृश्य नियाल्न थाल्यो। फल्चाछेउको खम्बाका तारहरू नुहाइधुवाइ गरेर कोरेको कपालजस्तो सपक्क मिलेका थिए। उसले मुन्टो घुमायो, अघिदेखि सुतिरहेका दुई कुकुर त्यहाँ थिएनन्। फल्चाको भित्ता पूरा ढाकिने एउटा अद्भुत, कलात्मक अमूर्त चित्र कोरिएको थियो। चित्र कुनै भुलभुलैयाजस्तो प्रतीत हुन्थ्यो। चित्रभित्रका सबै बाटोहरूको सुरुवात र अन्त्य कहाँबाट हो भन्ने पत्ता लगाउन नसकिने थियो।
भुलभुलैयाको बीचमा एकदमै प्रज्वलित सुनौलो आकृति थियो। ऊ आफैँ पनि चित्रकार भएकाले उसका आँखा चित्रमै अड्किए, टसमस हुन मानेनन्। ऊ आफू कहाँ छ, उसलाई याद भएन; के गर्न ऊ यहाँ आएको हो, उसलाई थाहा भएन। चित्रभित्रको भुलभुलैयामा ऊ आफैँ फसेको जस्तो भयो।
निकैबेर त्यसरी एकोहोरो भएपछि, यस्तो अद्भुत चित्र कोर्ने कलाकार को होला? उसले के सोचेर यो चित्र कोर्यो होला? उसले चित्रको तलतिर नाम लेखिएको छ कि भन्दै हेर्यो, तर कुनै हस्ताक्षर भेटेन। यस्तो जादुमयी कलाको श्रेय नलिने कलाकार कस्तो होला? त्यो कुराले ऊ झन् प्रभावित भयो।
ऊ त्यही चित्रमा हराइरहेको थियो। खैरे कुकुर फुत्त फल्चामा उक्लियो र पुच्छर हल्लाउँदै उसको छेउमा टाँसिएर लुपुक्क बस्यो। खैरेको पुरानो परिचय भएजस्तो व्यवहारले ऊ प्रफुल्लित भयो। खैरेको टाउको सुम्सुम्याउँदै, माया गर्दै ऊ चित्र हेर्दै थियो।
अचानक कैयौँ दिनसम्म ननुहाएका अनि वर्षौँसम्म नकोरेका ड्रेडलक कपाल र दाह्री भएको मान्छे उसको अगाडि आएर बस्यो र खुसुक्क साउती गरेको शैलीमा सोध्यो, ‘के तँलाई थाहा छ कि कसरी यहाँ आइपुगिस?’
उसले अचम्मित हुँदै प्रतिप्रश्न गर्यो, ‘मतलब?’
त्यस मान्छेले उसको प्रश्नको जवाफ दिएन, ‘तँ गल्ती गर्दैछस्। यो सब प्रायश्चित गर्ने प्रयासहरूको केही मूल्य छैन केटा।’ उसले आफूले काखीमा च्यापेको पानीको बोतलबाट दुई घुट्की पानी पियो, ‘यो सब फगत हो,’ भन्दै बोतलको बिर्को लगायो।
ड्रेडलक कपाल, वर्षौँदेखि नकाटिएको दाह्री, हाडछाला मात्रैको लुते शरीर। पत्र-पत्र झुत्रो निस्किएको पुरानो जुत्ता, वर्षौँसम्म नधोएर कात्ति परेको जिन्सको पाइन्ट अनि पुरानै भए पनि जतन गरेको जस्तो लाग्ने निलो रङ्गको ज्याकेट।
'को हो यो? यो मान्छे के भन्दैछ?' उसको दिमागले स्मृतिका पानाहरू सररर पल्टाएर यो अनौठो मान्छेको बारेमा केही अवशेष छन् कि भनी खोज्यो, तर फेला पारेन। 'यो पहिलो भेटमै यस्ता कुरा गर्ने मान्छे पक्का पनि पागल हुनुपर्छ,' उसको दिमागले निचोड निकाल्यो।
‘के तैँले मलाई पागल ठानिस्? ठानिस् भने पनि तँ गलत छैनस्,’ भन्दै फिस्स मुस्कुराउँदै दाह्रीवालले फल्चाको अर्को कुनामा लम्पसार परेको कालेलाई हेर्यो:
जरूर साथी म पागल, यस्तै छ मेरो हाल!
न काटेको छ दाह्री, न छाँटेको कपाल।
सुकेर सिन्कोजस्तो छ ज्यान, यस्तै छ मेरो ताल!
जरूर साथी म पागल!
यति भन्दै ऊ जोडजोडले हाँस्यो। उसको हाँसोको आवाजले तर्सिएर छेउको मन्दिरका परेवाहरू 'फररर' आवाज निकाल्दै उडेर सडकपारिको पेटीमा गएर बसे। दाह्रीवालको त्यस्तो चर्तिकला ऊ किंकर्तव्यविमूढ भएर हेरिरह्यो; जसरी साँपले सपेरालाई हेर्छ र सपेराले बजाएको बीनको तालमा लठ्ठिएर नाच्छ।
आफ्नो दाह्री मुसार्दै त्यो मान्छे फेरि बोल्यो, ‘तँ मलाई पागल देख्छस्, तर म तँलाई पागल देख्छु। नजर आफ्नो-आफ्नो।’
ऊ उठ्यो र भित्ताको चित्रतिर फर्कियो। केहीबेर चित्रमा अड्किएर मुन्टो हल्लाउँदै, ‘रित्विका फेरि तेरो जीवनमा आउँदिन विमर्श! उसले बाटो मोडीसकी र धेरै टाढा पुगीसकी।’
राख भइसकेको सम्बन्ध एक अन्तिम पल्ट फेरि जगाउने आशाको दियो बोकेर आएको विमर्शलाई यो वाक्यले तातो फलामले डामेझैँ भयो। त्यो कठ्याङ्ग्रिने जाडोमा पनि उसको निधारमा पसिनाका मूल फुट्न थाले, तर बोली फुटेन।
‘तँ न माफीको लायक छस्, न मायाको। तैँले यति बुझ— माया र माफी अरूसँग भीख मागेजस्तो मागेर पाइँदैन। यो संसारमा तँलाई माया र माफ गर्न सक्ने जम्माजम्मी एउटा मात्र मान्छे छ, त्यो को हो थाहा छ तँलाई?’
उसले 'थाहा छैन' भन्ने पारामा मुन्टो हल्लायो।
दाह्रीवाल उसको नजिक आयो र सानो स्वरमा भन्यो, ‘त्यो मान्छे तँ आफैँ होस् केटा।’ त्यति भनेर ऊ फेरि चित्रतर्फ फर्कियो, ‘मानिसहरू जसले अरूलाई दोषी देखाएर उम्कन्छन् र आफूलाई निर्दोषको तक्मा पहिर्याउँछन् नि, हो तिनीहरू सबैभन्दा कमजोर मानिस हुन्। त्यस्ता कमजोर मानिससँग आफूलाई दोषी देखाएर माफीको कामना राख्नु बेकार छ, फगत छ। तँ आफूलाई दोषी देख्न छोडिदे’ भन्दै दाह्रीवाल विमर्शतर्फ फर्केर मुस्कुरायो।
उसको मुस्कान एकदमै परिचित जस्तो थियो। विमर्शको मस्तिष्कले त्यो मुस्कान चिन्यो। एकाएक उसको शरीर उसको अधीनमा रहेन। आँखाका डिलमा आँसु पौडिन थाले। ओठ काँप्न थाल्यो, हातगोडा काँप्न थाले। बिस्तारै देउता चढेको मानिसजस्तै उसको पूरै शरीर काँप्न थाल्यो।
उसको अवस्था देखेर दाह्रीवाल झन् प्रफुल्लित भइरहेको थियो। उसले हातले सडकतर्फ इसारा गर्दै भन्यो, ‘ऊ हेर विमर्श, ऊ हेर तेरी रित्विका!’
विमर्शले उसले इसारा गरेकोतिर हेर्यो। एउटा शानदार बिजुली गाडीबाट अन्दाजी चालिस वर्षकी महिला ओर्लिँदै थिइन्। ती महिला कतैबाट पनि रित्विकाजस्ती देखिँदैन थिइन्।
‘तँलाई पत्यार लागेन होइन? समयको अगाडि कसैको केही चल्दैन केटा!’ विमर्शका आँखा त्यस महिलाको आवरणमा अड्किएका थिए।
‘उसको सब फेरिएको छ तर हेर, हाँसो उही छ।’
नभन्दै आफ्नो झोला लिन आएको एक अर्धबयस्क मानिसलाई हेर्दै महिला मुस्कुराइन्। विमर्शको मस्तिष्कले त्यो मुस्कानलाई चिन्यो। रित्विकाको मुस्कानले दिने शान्ति महसुस गर्यो। उसको उपस्थितिले दिने शीतलतालाई महसुस गर्यो।
ऊ फोनमा कुरा गर्दै सरासर रेस्टुरेन्टभित्र पसी। विमर्श एकोहोरो त्यतै हेरिरह्यो। टोलाइरहेको उसको अवस्थालाई हेर्दै दाह्रीवालले आफ्नो दाह्री कन्याउँदै बोल्यो, ‘जानेहरूलाई जान दिए मात्र आउनेहरूले ठाउँ पाउनेछन्,’
विमर्श दाह्रीवालतर्फ फर्कियो, मसिनो आवाजमा ‘मलाई माफ गरिदिन मिल्छ?’ भन्दै ऊ उठ्यो।
उसको प्रश्न सुनेर दाह्रीवाल झस्कियो, ‘फेरि त्यही कुरा! मैले अघि नै भनिसकेँ, तैँले आफूले आफूलाई माफी दिने काइदा जान्नुपर्छ। तैँले आजसम्म जे जे गरिस्, जसका कारणले जे जे भयो ती भएका मध्ये तैँले कहिल्यै राम्रा भएका कुरामा ध्यान दिइस्?’
उसको प्रश्न सुनेर विमर्शले बिना कुनै सोच स्वचालित यन्त्र जस्तो 'अँ हँ' दिइन् भन्ने तरिकाले मुन्टो हल्लायो।
‘अनि मानिसका हरेक कर्मले यो जगतमा राम्रा नराम्रा दुवै प्रतिफल दिन्छन्, तँ नराम्रोतिरै अड्किएको छस्, त्यहाँबाट बाहिर आइज। राम्रोतिर हेर।’
विमर्श चुपचाप सुनिरह्यो।
‘तँसँग दुइटा बाटा छन्: एउटा माया दिएर महान् प्रेमी बन्ने, अर्को म जस्तो माया माग्ने भिकारी। द चोइस इज योर्स।’
विमर्श एकतमास उसलाई सुनिरहेको थियो।
‘आफ्ना आँखा खोल! तँ मान्छे होस्, मान्छे गुण र अवगुण दुवैले भरिएको हुन्छ। मानिसहरू हुन्छन् जहाँ, गल्ती हजार हुन्छन् त्यहाँ। गल्तीको प्रायश्चित न मन्दिरमा पाइन्छ, न स्वर्गमा।’
त्यति भनेर उसले अबोध विमर्शतर्फ हेर्यो, ‘अब बुझिस, तँ कहाँ छस् र तैँले के गर्नुपर्छ?’ विमर्शले सहमतिमा टाउको हल्लायो। ‘म सब ठीक गर्नेछु अब, तर... कसरी?’
त्यो सुनेर दाह्रीवाल मुस्कुरायो र भन्यो, ‘ल, आँखा बन्द गर्।’
विमर्शले आँखा बन्द गर्यो। दाह्रीवालले आफूले लगाएको निलो ज्याकेटको गोजीबाट केही चम्किलो वस्तु झिक्यो। त्यो चमकदार वस्तुलाई मुट्ठीमा कसेर ऊ भित्ताको अमूर्त चित्रतर्फ फर्कियो र टक्क चुड्की बजायो। विमर्शले सानो स्वरमा उसको आवाज सुन्यो, ‘ल, अब आँखा खोल।’
विमर्शले बिस्तारै आँखा खोल्यो। फल्चाका कुनामा दुइटा कुकुर सुतिरहेका थिए। खम्बामा तारहरू गुजुल्टिएका थिए। आकाशमा बादलहरू लेसारिएका थिए। बादलहरूको माथि घाम पिलपिलाइरहेको थियो। फल्चाको भित्ता खाली थियो। सबैतिर डुलिरहेका उसका आँखा उसकै अगाडि राखिएको एउटा झोलामा आएर अड्किए।
उसका आँखाका नानीहरू केही ठूला भए। ऊ बिस्तारै पछाडि फर्कियो। विमर्शले आफूतिर हेरेको चाल पाएपछि रित्विका पछाडि फर्की र सरासर आफूले काम गर्ने रेस्टुरेन्टभित्र पसी। विमर्शले फल्चाबाट तल झरेर एक अन्तिमपल्ट रित्विकाको फोन नम्बरमा फोन लगायो।
यो पल्ट पनि ‘तपाईंले सम्पर्क खोज्नुभएको मोबाइलमा सम्पर्क हुन सकेन' भन्ने जवाफ आयो। विमर्शले आँखा चिम्लेर लामो सास तान्यो, हावामा रित्विकाको सुगन्ध बाँकी नै थियो। उसले यसरी सास तान्यो कि सायद उसले यो जुनीमा तान्ने यो नै अन्तिम सास हो।
रित्विकाको उपस्थितिले सुगन्धित सास सररर नाक-घाँटी हुँदै फोक्सोसम्म पुग्यो। फोक्सो पूरा भरियो, टनाटन भरिएको सास फोक्सोका भित्ताहरूबाट बाहिर निस्किएर रातो रक्तकोशिकामा मिसिएर शरीरका सबै अङ्ग-अङ्गमा प्रसारित भयो। उसको दिमागभरि रित्विकाको याद भरिएका तस्बिरहरू नाचे।
ती यादहरू नाच्दै नाच्दै दिमागबाट झरेर मुटुसम्म पुगे। मुटुभित्रका अनेकन खण्डहरूमध्ये एक खण्डमा पुगेर नाच रोकियो। उसले जतन गरेर बिस्तारै सास बाहिर फाल्यो। उसले सुस्तरी आँखा उघार्यो, चुपचाप आफ्नो अगाडिको झोला समातेर फल्चा छोडेर अगाडि बढ्यो।
उसलाई केही परबाट आउँदै गरेको देखेर डोकोमा साग बेच्ने बुढी आमै मुस्कुराउँदै बोलिन्, ‘ओहो विमर्श बाबु! आज धेरै दिनमा आउनुभयो, कता जानुभएको थियो?’
उनको हाँसोले शीतल महसुस गर्दै ‘एकदमै टाढा गएको थिएँ आमा, तर अब फिर्ता आएँ,’ उसले मुस्कुराउँदै जवाफ दियो।
डोकोबाट एक मुट्ठी साग झिक्दै आमैले भनिन्, ‘ल बाबु, आज यो बेथे लिएर जानुस् है, दिमाग तेजिलो हुन्छ।’
उसले आफ्नो दाहिने हात हल्लाउँदै भन्यो, ‘आज म केही लान आएको होइन आमा। आज म यहाँ केही दिन आएको छु, तपाईंले नकार्न पाउनुहुन्न।’
त्यसो भन्दै उसले झोलामा हात हाल्यो। उसले झोलामा हात हालेको देखेर आमै केही चर्को स्वरमा बोलिन्, ‘ल तपाईं पनि! साग लिएर जानुस् भन्दा चाहिँ मान्नुहुन्न। यो अस्तिनै नि तपाईंले दिएको गलबन्दी यी अझै लगाउँदै नै छु। सधैँ आउँदा चिया भन्दिएर जानुहुन्छ, अब त मलाई पाप लाग्छ बाबु, म केही पनि लिन्न है अब।’
उनको कुरा सुनेर मुस्कुराउँदै विमर्शले निलो ज्याकेट हातमा लिँदै भन्यो, ‘जाडो निकै बढेको छ आमा, जिद्दी नगर्नुस्। मायास्वरूप यो उपहार तपाईंलाई।’
यति भन्दै उसले ज्याकेट आमैको हातमा थमाइदियो। हातमा ज्याकेट परेपछि आमैका आँखा रसाए। आमैको आँखामा आँसु देख्दा विमर्शलाई केही असहज महसुस भयो। उसले भावुकताको भुमरीमा रुमल्लिरहन चाहेन र हतार-हतार ‘ल आमा, मलाई आज हतार छ, गाउँ जानु छ। म निस्किएँ है, आफ्नो ख्याल राख्नुहोला,’ भन्यो र पछाडि फर्किएर सरासर अगाडि बढ्यो।
हातमा ज्याकेट लिएर परसम्म आमैले उसलाई हेरिरहिन्, फल्चा अगाडिको मोडमा पुगेर विमर्शको आकृति ओझेल पर्यो। चिसोले कठ्याङ्ग्रिएको हातले सुस्तरी फस्नर खोलेर आमैले ज्याकेट लगाइन्। ज्याकेटको न्यानोपनसँगै सबै चिसा सिरेटोहरू परास्त भए।
उनले ज्याकेट सुम्सुम्याउँदै खल्तीमा हात घुसारिन्। खल्तीभित्र केही सानो गह्रौँ वस्तु थियो। बाहिर निकाली हेर्दा त्यो सुनको औँठी थियो। निकै किम्ती औँठी देख्दा आमै हतास भइन्। औँठी हातमा लिएर आमै हतार-हतार फल्चातर्फ अघि बढिन्।
फल्चाको खामोमा अडेस लगाएर आफ्ना दुवै हात खोकिलामा राखेर अन्दाजी २० वर्ष जतिकी एउटी युवती आँखा चिम्लिएर बसिरहेकी थिई। फल्चाको भुइँमा दुई कुकुर सुतिरहेका थिए। उनीहरू सुतेको ठीक पछाडिको भित्तामा ठूला अक्षरमा लेखिएको थियो:
‘जानेहरूलाई जान दिए मात्र आउनेहरूले ठाउँ पाउनेछन्।
जानेहरूले दिएको चोटमा, आउनेहरूले मलम लगाउनेछन्।’