देश रोएको दिन
नदीहरू ठूलो स्वरले बग्दैनन्,
हिमालहरू ढल्दैनन्,
झण्डा पनि आधा झुक्दैन।
रोइरहन्छ त
एउटा किसानको अधुरो बाली,
एउटा श्रमिकको च्यातिएको हात,
एउटा आमाको प्रतीक्षा
र फर्किन्छु भन्दै बिदा भएको
छोराको वर्षौँ पुरानो वाचा।
यहाँ
गरिबीले पेट मात्र रित्याएको छैन,
धेरै आँखाबाट भविष्य पनि चोरेको छ।
यहाँ
भ्रष्टाचारले पैसा मात्र खाएको छैन,
विश्वास पनि खाएको छ।
तैपनि,
यो देश अझै बाँचेको छ।
कनकि
हरेक बिहान
कुनै किसान फेरि बीउ छर्छ,
कुनै शिक्षक फेरि अक्षर बाँड्छ,
कुनै सैनिक फेरि सिमानामा उभिन्छ
सायद,
देशप्रेम भनेको
देश पूर्ण छ भनेर गर्व गर्नु होइन,
अपूर्ण देशलाई पनि
पूर्ण बनाउने आशा नछोड्नु हो।