साउने झरीको पहिलो थोपासँगै
मुस्कुराइरहेका ती फूलका कोपिलाहरू
लामो खडेरीले थिलथिलो भएर आफ्नै अस्तित्व
गुमाउँदै गरेका ती वृक्षहरू
एकाएक यसरी जुरुक्क उभिएर उमङ्गित हुन्छन्
मानौँ कुनै दैवी शक्ति उनीहरूभित्र प्रवेश गरेझैँ।
सायद सधैँ झरी पर्नुको खासै कारण हुँदैन
कहिलेकाहीँ बिना कारण यसै झरी पर्दिन्छ
र त्यही अनायास परेको झरी नै
साउने झरी भइदिन्छ।
जब गर्जन सहित बर्सिन्छ साउने झरी
तब अस्तित्व नै गुमाउन आटेका वृक्षहरू
एकाएक यसरी हराभरा भएर जुरुक्क उभिन्छन्
मानौँ, उनीहरू ओइलाएकै थिएनन्
केवल साउने झरीको प्रतीक्षामा प्रतीक्षारत थिए।
तिमी पनि त्यो अविरल गर्जन सहितको वर्षा हौ
जसको प्रतीक्षामा
कसैको बाच्ने आशा अडिएको हुन्छ
कसैको जीवन अडिएको हुन्छ।
हो, ठिक त्यसै गरी
जब ओइलाएर सुक्न आटेको यो जीवनमा
तिमी साउने झरी झैँ यसरी बर्सियौ
मानौँ, मलजल नपाएर ओइलाउन लागेको बिरुवाले
अचानक जीवन पाएर हलक्क भएझैँ।
तिम्रो गर्जन सहितको आगमनसँगै
मनका उजाड बस्तीहरूमा हरियाली पलाउनु
निराशाले चर्किएर फाटेको भित्ताहरूमा
आशाका नयाँ पालुवाका टुसा पलाउनु
सायद, यो सबै
तिम्रै आगमनले ल्याएको प्रभाव नै त होला।
आज पनि साउने झरी पर्दा
म तिमीलाई सम्झन्छु
तिम्रो पहिलो आगमन सम्झन्छु
र मेरो जीवनमा तिमीले छोडेको
त्यो गर्जन सहितको अमिट प्रभाव सम्झन्छु।
साउने झरी त हरेक वर्ष आफ्नै लयमा आउँछ
जसरी आउँछ त्यसै गरी ऊ फर्किएर जान्छ
तर तिम्रो आगमनले
जीवनमा छोडेको त्यो हरियाली
न त कुनै साउने झरीसँग तुलना हुन्छ
न त कुनै ऋतुहरू सङ्ग तुलना हुन्छ।
साँच्चै भन्नुपर्दा,
मेरा लागि साउने झरी एउटा स्मृति हो
प्रेमिल भावनाको एउटा गहिरो स्पन्दन हो
ऊर्जाको एउटा अविरल स्रोत हो
किल्ला गाडेर बसेको निराशाको उन्मुक्ति हो।