स्नातक तहको पहिलो वर्ष, मानविकी संकायको कक्षा। मेरो नजर ढोकातिर पुग्यो। कसैको आगमनसँगै, नजर पैतालाबाट बिस्तारै माथि उठ्दै गए— निलो सर्ट, अग्लो कद, काँधमा एकातिर झुन्डिएको झोला, छुँदा दाग लाग्ला कि जस्तो, गोरो अनुहार, हल्का खैरा बदामजस्ता आँखा, चिटिक्क मिलेको दाह्री। एक झलकमै मेरो नजरले यति कैद गर्न भ्यायो। सबै कुरा आफ्नै ठाउँमा, आफ्नै हिसाबले मिलेको जस्तो।
ऊ ढोकाबाट भित्र पसेको त्यो दृश्य मेरो आँखामा बारम्बार दोहोरिन थाल्यो, मानौँ कसैले एउटै दृश्यलाई निरन्तर चलाइरहेको छ। उसको उपस्थिति, जस्तो भीडभित्र एउटा मान्छे अचानक सबैभन्दा स्पष्ट देखिन थाल्छ।
मैले बिस्तारै पछाडि हेरेँ।
ऊ मेरो बायाँतर्फको अन्तिम बेन्चमा बसेको रहेछ।
त्यो एकछिनको हेराइमै, मेरा आँखा ताता भए। शरीरभरि एउटा अनौठो कम्पन फैलियो। पहिलो पटक आफू साँच्चै जीवित भएको अनुभूति भयो।
म पहिलो नजरमै कसैको मन जित्ने मान्छे कहिल्यै थिइनँ। कसैले मलाई सुन्दर भन्नुपर्छ भन्ने चाहना थिएन, तर उसले एक पटक फर्केर हेरोस् भन्ने इच्छा भने मनभित्र चुपचाप जन्मिसकेको थियो।
पहिलो पटक मलाई राम्रो देखिन मन लाग्यो।
जति नै मानिसहरूले ‘व्यवहार नै सबैभन्दा ठुलो सुन्दरता हो’ भने पनि वास्तविकता अलि फरक रहेछ। पहिलो नजर त अनुहार, रूप र उपस्थितिमै रोकिन्छ। व्यवहार त त्यसपछि चिनिने कुरा हो।
त्यो दिन कविता वाचन गर्ने कार्यक्रम थियो। उसले कविता लेखेर आएको रहेछ।
ऊ कविता वाचन गर्न अगाडि आयो।
‘रातभरि
आफ्नै सोचसँग लड्थ्यो।
बिहान अनुहारमा हाँसो टाँसेर
संसारतिर निस्कन्थ्यो।
सबैलाई लाग्थ्यो,
ऊ ठिक छ।’
त्यो स्वर सबै स्वरभन्दा फरक थियो। कुनै टेलिभिजन कार्यक्रममा व्यावसायिक रूपमा कविता वाचन भइरहेको जस्तो।
म प्रत्येक शब्दमा हराउँदै गएँ।
मैले उसलाई यसअघि कक्षामा कहिल्यै देखेकी थिइनँ। उसको अनुहार मेरो आँखाबाट हटेन।
जीवनमा मेरा क्रस नभएका होइनन्। तर यस पटक... केही फरक थियो।
कुनै नाम दिन नसकिने तर स्पष्ट महसुस हुने एउटा अनौठो सम्बन्ध। पहिलो भेटमै यति नजिक अनुभूति। किन किन आज मन असाध्यै हलुङ्गो थियो। घर पुग्ने हतार थियो। ऊ को हो, के गर्छ, उसको नाम के हो— यी सबै प्रश्नको उत्तर आजै पत्ता लगाउन मन आतुर थियो।
तर मोबाइल समाउनुअघि नै मेरो नजर ऐनामा पुग्यो।
त्यत्तिकै रोकिएँ।
मनमा प्रश्न उठ्यो— ‘उसले मलाई कस्ती देख्यो होला?’
ऐनाअगाडि उभिएर आफूलाई पढ्न थालेँ।
आफूलाई ध्यान दिएर हेरेँ।
अचानक आफू निकै सामान्य, निकै सानी, निकै अपुग जस्ती लाग्न थालेँ।
कुनै पागलपनले छोएजस्तो भयो। मैले टेप निकालेर आफ्नै उचाइ नापेँ।
५ फिट ४ इन्च।
उसको उचाइ सम्झिएँ। ‘कम्तीमा पाँच फिट एघार त होला...’
मेरो मनले तुरुन्तै हिसाब गर्यो।
‘उसको अगाडि त म फुच्ची देखिन्छु। सायद उसको ध्यानमै पर्दिनँ। भीडमा हराउने मान्छेमध्ये एक मात्र हुँ।’
त्यो रात मैले आफ्नो उचाइलाई दोष दिएँ। मन एकाएक अस्थिर भयो। ऐनामा देखिएको आफ्नै अनुहारले अनेक प्रश्न जन्माइदियो।
बिहान उठ्दा हिजो रातिको असुरक्षा हराइसकेको थियो। मनमा फेरि उही उत्सुकता पलायो।
सरले उसलाई नामले बोलाउनुभएको सम्झिएँ- ‘क्षितिज...’
मोबाइल हातमा लिएँ। फेसबुक खोलेँ।
एकपछि अर्को गर्दै धेरै प्रोफाइलहरू देखिन थाले। तर ऊ कतै भेटिएन। धेरै बेरसम्म खोजेँ। मैले खोजेको अनुहार भेटिनँ।
उसको थर के हो थाहा भएन। मेरो जिज्ञासा सकिएन। सिधै कलेजको नामावलीतिर लागेँ।
त्यहाँ नाम थियो— क्षितिज संग्रौला।
अब कलेज जानुको कारण पढाइ मात्र रहेन। ऊ कुन बेन्चमा बस्यो, कससँग बोल्यो, कससँग हाँस्यो, कक्षा सकिएपछि कुन बाटो लाग्यो... यी सबै कुराले अनौठो महत्त्व पाउन थाले।
कहिलेकाहीँ आफैँसँगै डर लाग्थ्यो- ‘कतै उसले मलाई जासुसजस्तै सम्झिन्छ कि?’
म आफूलाई धेरै सम्हाल्थेँ। ऊतिर सिधै नहेरेजस्तो गर्थेँ, आँखाले भने मौका मिल्ने बित्तिकै उसैलाई खोजिहाल्थ्यो। ऊ मुस्कुराएको, बोलेको निकै कम देखिन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो, ऊ आफ्नै संसारमा हराइरहेको छ।
सायद प्रेमको सुरुवातमा यस्तै हुन्छ। उसको जीवनमा प्रवेश नगरीकनै मनमनै उसलाई आफ्नो बनाएकी थिएँ।
म भने आफ्नै असुरक्षाभित्र लुकिरहेकी केटी।
म हल्लाभन्दा मौनतामा सहज थिएँ। सबैको बिचमा पनि आफैँभित्र हराइरहने, धेरैलाई म घमन्डी लाग्थेँ। वास्तवमा म केवल अन्तर्मुखी थिएँ। अत्यन्त अन्तर्मुखी। म पूर्ण अन्तर्मुखी पनि थिइनँ, बहिर्मुखी पनि होइन। आफ्नै मान्छेसँग घण्टौँ बोल्ने। तर अपरिचितसँग कुरा सुरु गर्नु सबैभन्दा गाह्रो काम। सायद म एम्बिभर्ट थिएँ।
पहिले आफूलाई जस्तो थिएँ त्यस्तै स्विकार्थेँ। अब भने आफूभित्रको अझ राम्रो संस्करण खोज्न थालेँ। अलि स्वस्थ, अलि आत्मविश्वासी, अलि सुन्दर... कसैलाई प्रभावित गर्न होइन, मनले जन्माएको एउटा रहर पूरा गर्न।
हामी प्रेममा पर्दा अर्कालाई बदल्न खोज्दैनौँ, आफूलाई बदल्न थाल्छौँ। त्यो परिवर्तन कसैले मागेको हुँदैन, न कसैले देखेको नै हुन्छ। मनले आफूलाई त्यही मानिसको योग्य बनाउने प्रयास गरिरहन्छ।
यत्तिकै केही दिनहरू बिते।
दुई महिनापछि परीक्षा सुरु भयो।
मेरो संसार फेरि किताबमै सीमित भयो। मनमा प्रेमसँगै परीक्षा थियो। केही दिनका लागि मैले सबै बिर्सेजस्तै गरेकी थिएँ।
पहिलो दिनको सट प्लान आयो।
उसको सट मेरो नजिकै परेको थियो।
पहिलो दिन सामान्य नजर मात्र जुध्यो।
दोस्रो दिन फेरि संयोग दोहोरियो।
एकछिन आँखा जुधे। उसले हल्का मुस्कुराएजस्तो लाग्यो। मैले पनि सामान्य प्रतिक्रिया दिएँ। त्यसपछि हामी आ-आफ्नो उत्तरपुस्तिकामा हरायौँ।
परीक्षाको बिचमै उसले हल्का स्वरमा भन्यो, ‘अर्को पेन छ?’
दुर्भाग्य... त्यो दिन मैले एउटा मात्र पेन ल्याएकी रहेछु।
‘सरी... एउटा मात्रै रहेछ।’
उसले अर्को साथीसँग पेन माग्यो।
परीक्षा सकिएर घर पुगेपछि धेरै बेर सोचिरहेँ- ‘आफ्नै पेन भए नि दिनपर्ने!’
अन्ततः कलेजको ह्वाट्सएप ग्रुप खोलेँ। सदस्य सूचीमा उसको नम्बर खोजेँ। मन धेरै बेरसम्म 'मेसेज गरूँ कि नगरूँ?' भन्ने दोधारमा थियो।
अन्तिममा लेखेँ, ‘सरी... आज एउटा मात्रै पेन ल्याएकी रहेछु।’
केही बेरमै उसको रिप्लाई आयो— ‘केही छैन। अर्को पटक दुई वटा ल्याउनू।
व्यङ्ग्यात्मक सन्देश पढेर म मुस्कुराएँ।
हाम्रो बोलचाल यहीबाट सुरु भएको थियो। त्यसपछि हाम्रो कुराकानी बिस्तारै अघि बढ्न थाल्यो।
‘परीक्षा कस्तो भयो?’
‘उपन्यास पनि लेख्नुहुन्छ कि कविता मात्र?’
आफूले पढिरहेका किताब, साहित्य, लेखन, मन पर्ने लेखक— यिनै विषयले हाम्रो कुराकानी अलिअलि लम्ब्याइदिन्थे। ती कुराकानीहरू मेरा मनमा रिप्ले भइरहन्थे। सामान्य, संवादहरूले कति प्रिय?
उसले पठाएको प्रत्येक सन्देश म पटक–पटक पढ्थेँ। उसको रिप्लाई सधैँ ढिलो आउँथ्यो। सुरु–सुरुमा अलि चित्त दुख्थ्यो। फेरि आफैँलाई सम्झाउँथेँ— सायद धेरै च्याट गरेर बस्न मन पर्दैन होला। आफ्नै काम र समयलाई महत्त्व दिने मान्छे होला। त्यसैले ढिलो रिप्लाइलाई मैले कहिल्यै बेवास्ता ठानिनँ।
ऊ मभन्दा केही बढी जीवनका पाइला हिँडिसकेको मान्छे थियो। तर हेर्दा भने त्यो उमेरका अरूभन्दा निकै जवान देखिन्थ्यो।
एक दिन च्याट गर्दै गर्दा मैले सोधेँ, ‘तपाईं यति यङ्ग हुनुको राज के हो?’
केही बेरपछि रिप्लाई आयो, ‘आफू सधैँ यङ्ग नै रहिरहन्छु भनेर नसोच्ने। त्यही नै हो राज।’
कुरा त्यत्तिमै रोकियो। केही बेर अनलाइन देखिए पनि अर्को सन्देश आएन।
मेरो जिज्ञासा भने टुङ्गिएन। उसलाई अलि अझ चिन्ने रहरले उसका तस्बिरहरू हेर्दै, नबोलेका धेरै कुरा पढ्ने प्रयास गरिरहेकी थिएँ। मलाई संसारमा सबैभन्दा मन पर्ने कुरा उसका आँखा थिए।
तर ती आँखा चस्माभित्र लुकेका हुन्थे। म चस्मा बिनाको एउटा तस्बिर खोजिरहेकी थिएँ। फेसबुक खोलेँ। प्रोफाइल लक थियो। म सामान्यतया कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाउने मान्छे थिइनँ। अन्त्यमा— ‘पठाउँदा के नै हुन्छ र?’
र मैले पहिलो पटक उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ।
रिक्वेस्ट स्वीकारपछि म धेरै बेर उसको प्रोफाइलमै हराएँ। त्यसपछि उसको फेसबुक मेरो दैनिकी जस्तै बन्यो। पुराना तस्बिरहरू हेरेँ, कविताका एक-एक हरफ, स्ट्याटसहरू पढेँ। को-कसले लाइक गरेको छ, के टिप्पणी गरेको छ, त्यो पनि छुटाइनँ। उससँग जोडिएको लगभग सबै कुरा पढिसकेकी थिएँ।
कुनै फोटोमा उसका आँखा स्पष्ट देखिन्छन् कि? म स्क्रोल गर्दै गएँ।
अचानक... मेरो औँला एउटा तस्बिरमा रोकियो।
‘ह्याप्पी एनिभर्सरी, माई वाइफ।
चार शब्द मात्रै थिए। तर ती चार शब्दले मैले मनमनै सजाएका सबै सपनाको त्यहीँ दाहसंस्कार गरिदिए। दुई सेकेन्डका वाक्यले, मन भत्काइदिए। त्यो रात असाध्यै ज्वरो आयो। भोलिपल्ट म कलेज गइनँ। उताबाट केही सन्देश आएको रहेनछ। सायद ऊ आफ्नै परिवार र जिम्मेवारीमा व्यस्त थियो। पहिले पनि त्यही कारण कम बोल्थ्यो।
मनले भने एउटै प्रश्न गरिरह्यो— ‘किन यस्तो मान्छेलाई मन पराएँ, जो सुरुदेखि नै मेरो हुन सक्दैनथ्यो?’
ऊ विवाहित हुन सक्छ भन्ने सम्भावना मैले एक पटक पनि सोचिनँ। कसैले त्यो कुरा लुकाएको पनि थिएन। मनले चाहेको कुराबाहेक अरू सम्भावना देख्नै मानेन। उसको विवाह भएको थाहा पाएपछि म आफैँबाट टाढिन थालेँ। ऊसँग बोल्ने हिम्मत हरायो। कक्षामा ऊ नजिकै हुँदा पनि म नजर जोगाउँथेँ।
एक हप्तापछि बल्ल फेरि फेसबुक खोल्ने आँट गरेँ।
त्यसै क्रममा उसको एउटा पोस्ट.... ‘ह्याप्पी फोर्थ बर्थडे, मेरी छोरी’
ऊ केवल श्रीमान् मात्र होइन, छोरीको बाबा पनि रहेछ।
केही क्षण म निष्प्राण भएँ।
धेरै दिनसम्म आफूलाई एउटै प्रश्न सोधिरहेँ- ‘यदि जीवनले पहिल्यै उसलाई भेटाएको भए...?’
सायद त्यो छोरी मेरो हुन्थी।
तर जिन्दगी ‘सायद’ ले बदलिँदैन।
यति धेरै उसको फेसबुकका स्ट्याटस, लाइक र कमेन्टसम्म हेर्दा पनि मेरो आँखामा सिधै ‘छोरीलाई चौथो जन्मदिनको शुभकामना’ भन्ने पोस्ट मात्रै पर्यो। उसले आफ्ना पुराना पोस्टहरू सीमित गरिसकेको रहेछ।
छोरीका तस्बिरहरू हेरेर मनमनै मुस्कुराएँ।
सोचेँ, ‘उसका यति सुन्दर आँखा छोरीले किन पाइन होला?’
श्रीमतीका तस्बिरहरूमा उनी खुसी देखिन्थिन्।
‘यो खुसीको बिचमा मेरो कुनै ठाउँ छैन।’
उसको संसारलाई पनि टाढाबाट हेर्न थालेँ। तर मन यति सजिलै मान्दो रहेनछ। ऊ नजिक हुँदा शब्दहरू हराउँथे। मन अत्तालिन्थ्यो।
के एकतर्फी प्रेम यस्तै हुन्छ?
ऊसँग भन्दा धेरै मैले आफ्नै कल्पनासँग कुरा गरेँ। उसले केही वाचा गरेन तर मैले हजारौँ भविष्य आफैँ लेखिसकेकी थिएँ। उसले त कहिल्यै ‘म तिमीलाई मन पराउँछु’ पनि भनेको थिएन। म उसैको सोचमा हराएकी थिएँ। मनले हजारौँ पटक 'बिर्स' भन्यो। तर मुटुले सधैँ एउटै उत्तर दियो—'आज पक्का अन्तिम पटक हेर्छु।’
हरेक रात निदाउनुअघि म वास्तविकता बिर्सिन्थेँ। हरेक बिहान ब्युँझिएपछि फेरि सम्झिन्थेँ— ऊ कसैको श्रीमान् हो। अनि मनले फेरि अर्को रातको प्रतीक्षा गर्थ्यो, जहाँ कल्पनामा ऊ फेरि अविवाहित हुन्थ्यो।’
मलाई आजसम्म थाहा छैन, मैले उसलाई माया गरेको थिएँ कि उसलाई लिएर बनाएको भविष्यलाई। किनकि हामीबिच प्रेमकथा कहिल्यै सुरु भएन। एकतर्फी प्रेमको सबैभन्दा ठुलो सजाय, सम्बन्ध सुरु नभई अन्त्य स्विकार्नुपर्छ।
प्रेम जहाँ, जसरी र जुन रूपमा पनि हुन सक्छ।
प्रेम अनायासै हुन्छ। साँचो प्रेम अधिकार होइन, अनुभूति हो। प्रेम कहिल्यै गलत हुँदैन, मान्छे हुन्छ। जसले प्रेमलाई गलत भन्छ, सायद उसले प्रेम गरेको नै छैन।
निलो रङ मेरो सबैभन्दा विशेष रङ बनेको छ।
सायद त्यो केवल एउटा रङ रहेन,
सायद कारण त्यो निलो सर्ट हो,
अहिले निलो रङ देख्दा एउटा सम्झना जाग्छ,
एउटा मौन भावना महसुस हुन्छ,
र एउटा अधुरो कथाको पाना फेरि खुल्छ।