कहिलेकाहीँ सोच्दछु, के समयले साँच्चै घाउ निको पार्छ? कि केवल त्यसमाथि पातलो झिल्ली मात्र थोपार्छ, जुन कुनै एउटा आवाजले, एउटा सुगन्धले वा कसैको हाँसोले फेरि च्यातिदिन सक्छ?
धेरै वर्ष यही प्रश्नको जवाफ नखोजी बाँच्न सिकिरहेको थिएँ। तर जीवनले कहिलेकाहीँ यस्तो मोडमा ल्याइदिन्छ, जहाँ बिर्सिएको ठानेको सबैथोक एकैचोटि सजीव भइदिन्छ। यो त्यही मोडको कथा हो।
जीवनमा आइरहने विभिन्न क्षणहरू पनि मानिसहरूको थरिथरिको हुँदो रहेछन्। समयसँगै अनेक राम्रा नराम्रा क्षणहरू बटुल्दै, विभिन्न अनुभवहरूसँगै समय पनि बित्दै जाँदो रहेछ। राम्रा क्षणहरूले हामीलाई खुशी दिन्छन् भने नराम्रा क्षणहरूले अनुभव दिन्छन्।
ती मध्ये कुनै क्षण यतिसम्म दुख लाग्दो हुँदोरहेछ कि जिउँदो रहुन्जेलसम्म त्यसलाई बिर्सने प्रयास गरिन्छ, र बिर्सन नसक्दा, त्यही दुखसँग सम्झौता गरी जीवन अगाडि बढाउन चाहँदा नचाहँदै पनि जिउन बाध्य हुनुपर्दो रहेछ।
करिब दुई दशकभन्दा बढी समयदेखि त्यो क्षणलाई मनको कुनामा दबाएर पाइलाहरू एक एक गर्दै जीवन अगाडि बढाइरहेको छु। सुरु सुरुमा मनले त्यो पलको पीडा थाम्न नसक्दा, यो जीवन बाँच्नुको कुनै अर्थ नै नरहेको जस्तो लाग्थ्यो।
म सम्झन्छु त्यो जाडोको साँझ, जब बाहिर हावा सिरसिरी बगिरहेको हुन्थ्यो र भित्र कोठामा उज्यालो मधुरो हुन्थ्यो, र तिमीले मेरो हातमा आफ्नो हात राखेर भन्थ्यौ, ‘म छु त।’ त्यो स्पर्श आजसम्म पनि मेरो हत्केलामा त्यत्तिकै न्यानो छ। अहिले पनि, जाडोको कुनै एक्लो साँझ आफ्नै हत्केला मिच्दा, त्यही पुरानो न्यानोपनको सम्झनाले मेरा चिसा हत्केलाहरू फेरि सेकिन्छन्।
म अझ पनि सम्झन्छु त्यो अन्तिम पत्र, जुन तिमीले काँप्दो हातले लेखेकी थियौ, जसको स्याहीको गन्ध अझै पनि कागजबाट उडिरहेको जस्तो लाग्छ। जसको अन्त्यमा तिमीले लेखेकी थियौ, ‘जीवन साह्रै सुन्दरताले भरिएको छ। यसको हरेक क्षणलाई खुशीसाथ जिउनू। हरेक क्षणको भावनामा मलाई सम्झिनू। म सधैँ त्यहीं हुनेछु, तिम्रै छेउमा।’
तिम्रो त्यो शब्द अझै पनि मेरो कानमा यसरी गुन्जिरहन्छ, मानौं अझै पनि तिमी मेरो काँधमा आफ्नो शिर राखेर, मेरो दाहिने पाखुरालाई आफ्नो हत्केलाले समाई, मसँग कुरा गरिरहेकी छौ। तर मेरो दुर्भाग्य। यो सुन्दर जीवनको बगैंचामा मैले एउटा फूल र एउटा तितली मात्र आफ्नो गन्तव्यको खोजीमा भौतारिरहेको देख्न लेखिएको रहेछ।
मनमा अनेकन दुख पीडा लिई, तिमीसँग बिताएका मीठा सम्झना तथा शब्दहरूसँग सम्झौता गरी तिम्रो अधुरो सम्झनासँगै अगाडि बढिरहँदा अचानक जीवनले एउटा मोड लिन्छ।
त्यो मोडमा म देख्छु एकजनालाई।
अनेक सहकर्मीहरूको भीडमा, पहाडको त्यो कुनामा एउटा कार्यक्रम हुने स्थानमा घाम भए पनि त्यसको चिसो हावाले गाला छोइरहँदा सियोले घोचेजस्तो अनुभव दिइरहेको थियो। हातमा चियाको कप समाई आफ्ना साथीहरूसँग कुरा गर्दै गरिरहेकी, ‘उनी’। टाढैबाट पनि, वरिपरिको हल्लाखल्लाबीच, उनको हाँसोको आवाज छुट्टै सुनियो, ठ्याक्कै तिम्रोजस्तै। त्यो भीडको माझमा उनको त्यो अधुरो झलकले एकछिनको लागि मेरो मुटुको धड्कन नै रोकिदियो।
केवल एउटा प्रश्न मात्र, प्रकाशको गतिभन्दा पनि बढी गतिमा मेरो मनमा आइरह्यो ‘कोही कसरी तिमीजस्तो हुनसक्छ?’
उनको त्यो कालो पाइन्ट, खुट्टामा गाढा खैरो रंगको जुत्ता, निलो ज्याकेट, तिम्रै शैलीमा लुगा लगाएको, तिम्रो जस्तो नाक, तिम्रै जस्तो मुस्कान, तिम्रै शैलीमा हत्केलाले चियाको कप समाती चियाको चुस्की लिइरहेकी। यी संयोगले मलाई एक क्षणको लागि समयको त्यो मोडमै रोकिदियो, जहाँबाट म कहिल्यै अगाडि बढ्नै सकेको थिइनँ।
यति लामो समयको पीडासँग बल्लतल्ल लिएर बाँच्न सिकेको थिएँ। उम्रेका ती पीडाहरूमा मल्हम लगाउन तिमीले कसैलाई आफ्नै रूपमा पठाएकी हौ कि?
तिमीसँग बिछोड भएपछि यस्तो कुनै पल छैन होला, जुनबेला तिमीलाई नसम्झेको। हरेक क्षण मनमा केवल एउटै प्रश्न आउने ‘काश, त्यो क्षण म तिमीसँग भए, तिमीलाई आफ्नो बलियो अङ्गालोमा बाँधि राख्दथेँ र कहिल्यै जान दिन्नथेँ।’
तर समय र भाग्यलाई अर्कै चाहिरको थियो। सायद त्यसले मेरो त्यो ‘काश’ लाई एक क्षणको लागि भए नि जीवन्त दिन चाहेको थियो। त्यही ‘काश’ जुन धेरै वर्षअघि मैले कल्पेको बलियो अंगालोसँगै, बिस्तारै कमजोर हुँदै गएको थियो। यस्तो लाग्यो, मानौँ मेरो मनभित्र भएको एक्लोपन र रित्तोपन देखेर भाग्यले मलाई उनीसँग भेटाएको रहेछ।
त्यो दिन अनेक साथीहरूको माझ एक्लै उभिएको अवस्थामा मैले देखेँ उनीलाई, साथीहरूसँग उभिएर हातमा चियाको कप समाई चुस्की लिइरहेकी। मैले उनी नजिक जान आफूलाई रोक्न सकिनँ र एक जना साथीमार्फत उनीसँग परिचित हुने अवसर जुटाएँ।
उनी अगाडि आउँदा मनको धड्कुकी यति द्रुत भयो कि मुटु शरीरबाट बाहिर आएर त्यो पहाडको कुनामा हराउँला जस्तो महसुस भइरहेको थियो। उनीसँग कुरा गरिरहँदा उनीलाई थाहा नहुने गरी मैले आफ्नो हत्केलाले मुटुलाई थामिरहेँ। कस्तो अचम्म, फेरि उही थर, नाममात्र फरक, फरक भए तापनि दुवै संस्कृत मूलकाबाटै लिइएका। उनलाई आफूसामु उभिएको देख्दा मनलाई मनाउन पनि कति गाह्रो भयो।
एकपटक सधैँ झैँ तिमीलाई अङ्गालोमा बाँधी तिम्रो निधारलाई ओठले माया गर्दा, सधैँ तिम्रो त्यो बोली ‘ओह, कति न्यानो माया’ सुन्न पाउँछु कि, उनीलाई अङ्गालोमा बाँधि एक पटक जाँच गर्न मन हुँदैथियो, तिमी हो कि? तर सबै कुरा मनले चाहेजस्तो हुँदोरहेनछ सायद।
थोरै बेरको सामान्य कुराकानीपछि उनको हरेक बोली, कुरा गर्ने शैली, नाकको बनावट, हाँस्ने तरिका, सबै तिमीसँगै मिलिरहेको। आफ्नो मनलाई मनाउन कति गाह्रो कि यो तिमी होइनौ। फेरि तिमी गएपछि, तिम्रो प्रतिच्छाया बोकेको कोही आफ्नो सबैथोक लिएर किन आयो होला?
मेरो यो एक्लो हुँदै गइरहेको मनलाई एक्लोपनामा हराउन नदिन, तिमी जहाँ छौ त्यहाँ पनि तिमीले एक्लो महसुस गरिरहेकी छौ र मलाई पनि उत्तिकै सम्झिरहेकी छौ जति म तिमीलाई सम्झन्छु। यही महसुस गराउन हो कि?
तिम्रो प्रतिबिम्ब बोकेकी उनीसँग मैले सम्पर्क नम्बर लिएँ र पछि फेरि कुराकानी गर्ने भनी हामी त्यहाँबाट बिदा भयौँ। हामी सबैजना करिब दुई दिनसम्म सँगै थियौँ, जहाँ म आफ्ना साथीहरूको माझ भए पनि मेरा आँखाले जहिल्यै उनैलाई खोजिरहन्थे। उनको एक झलक पाउनको लागि मैले के–के गरिनँ होला।
दुई दिनपछि हामी बिदा भयौँ तर मेरो मनले सधैँ उनलाई सम्झिरह्यो। राति सुत्दा वा जेसुकै गर्नेबेला, एउटै प्रश्न मनमा गुन्जिन्थ्यो ‘कहिल्यै नफर्किने त्यो दिनमा तिमी हराएको, आखिर कसरी त्यो समय फर्किन सक्छ र कोही तिमीजस्तै हुनसक्छ?’
समय बित्दै जान्छ। म तिम्रोसँगै उनको बारेमा सोच्न बाध्य हुन थालेँ। केही दिनसम्म मनभित्र समुद्रमा सुनामी उठेझैँ भावनाहरू उर्लिरहे। अन्ततः आफूलाई थाम्न नसकी मैले उनलाई ‘हाय’ भनी सन्देश पठाएँ। एकछिन पछि जवाफ आयो र हामी सामान्य कुराकानी गर्न थाल्यौँ।
उनको हरेक सन्देशको प्रतिउत्तर गर्ने तरिका तिमीभन्दा फरक थिएन। त्यो सब देखेर उनीप्रतिको मेरो जिज्ञासा झन्–झन् बढ्दै गयो। सोझै प्रश्न गर्न मन लागिरहेको थियो तर मुटुको कुनामा दबिएको र लुकेको वास्तविकता बाहिर आई सबैलाई थाहा हुने डरले सामान्य कुरामै हाम्रो संवाद टुंगियो। त्यहीँबाट सुरु भयो हाम्रो कुराकानीको सिलसिला।
भनिन्छ, मनले जुन कुराको पनि साँच्चै चाहना गर्यो भने भगवानले पनि त्यसलाई मिलाइदिन्छ। तर मैले चाहेको तिमी र तिम्रो भौतिक उपस्थितिको वास्तविकता अलि फरक नै छ। यो त्यतिबेला मात्र सम्भव हुन्छ, जुनबेला प्रकृतिमा त्यसको महक रहन्छ।
मैले उनीमा तिम्रो उपस्थितिलाई मनभित्रैदेखि महसुस गरिरहेको थिएँ र उनीसँग केही पटक भेट भयो। तर त्यो छोटो समयमा न त उनीसँग समय थियो, न मैले जोड गर्न सकेँ। तैपनि उनलाई सम्झिरहेँ।
खै किन हो, अझ पनि म उनीमा तिमीलाई देखिरहेको छु।
तिमी नै हौ कि?
तर यो हुन सक्दैन। मनभित्र दबिएर बसेका भावनाहरू क्षणक्षणमा बाहिर आई उनीसँग मनको कुरा पोखूँ कि आइरहन्थे। तर आफूलाई रोक्नुबाहेक मैले कुनै विकल्प देखिनँ। सायद भगवानलाई पनि अर्कै कुरा मन्जुर थियो।
केही समयपछि फेरि भेट भयो, यसपालि सँगै चिया खाने मौका पाएँ। हामी सबैजना चियाको लागि जम्मा भयौँ। रमाइलो गर्दै गयौँ। उनी ठ्याक्कै मेरो सामुन्ने बसेकी थिइन्। एकदम तिम्रै शैलीमा लुगा लगाएकी, तिम्रैजस्तो कपाल मिलाएकी।
अरू सहकर्मीहरूसँग आँखा चोरी गरी म उनीलाई नै देखिरहेको थिएँ। उनको हरेक आवाज, हरेक हाँसोले मेरो मनभित्र दबिएका भावनाहरू पुनः हल्लन थाले। यस्तो लाग्न थाल्यो, कि ती भावनाहरू पुनः उठ्ने प्रयास गरिरहेका छन्। मेरो छाती एकैचोटि गह्रौँ भयो। मेरो शरीर काम्न थाल्यो, हात पनि काम्न थाल्यो र मेरो हातमा भएको चियाको कप हल्लेर टक्क्क आवाजसँगै चिया पोखियो।
त्यो पोखिएको चिया कुनै गल्ती थिएन। उनलाई मेरो सामु र त्यति नजिक पाएर, मनभित्रबाट उठेका भावनाहरू थाम्न नसकेकै परिणाम थियो। त्यही राति उनीसँग पुनः म्यासेन्जरमा कुरा गर्दा हामीले मन्दिर घुम्न जाने निर्णय गर्यौँ। हुन त तिमीसँगै हुँदा सायद कुनै मन्दिर बाँकी थिएन जहाँ हामी नगएको।
अर्को दिन बिहान उनीसँग भेट्ने उत्साहमा राति सुत्नै सकिनँ। त्यो रातको एक–एक पल एकदम बिस्तारै बितिरहेको थियो। घडीको सुई पनि मानौँ मसँगै रिसाएर ढिलो चलिरहेको थियो। तर लामो पर्खाइपछि बिहान भयो।
हामी पशुपतिमा भेट्यौँ। मन्दिरको प्राङ्गणमा पस्नासाथ धूपको धुवाँको सुगन्ध, घण्टीको मधुर ध्वनि र चिसो ढुङ्गाको भुइँमा नाङ्गा खुट्टाको स्पर्शले मलाई एकैचोटि त्यही पुरानो संसारमा फर्काइदियो, जहाँ म अनेकौँ पटक तिम्रो हात समातेर पशुपतिनाथको गजुरलाई भर्याङमा बसेर नियालिरहन्थेँ। केही क्षण म उनीसँग त्यही भर्याङमा बसेर गजुरलाई नियालिरहेँ। त्यस क्षण मलाई यस्तो लागिरहेको थियो, मानौँ तिमी नै मेरो छेउमा छौ। म न बोल्न सकेँ, न त हिँड्न नै।
एकछिन त यस्तो पनि लाग्यो, भगवान् पशुपतिनाथले नै मलाई उनीसँग भेटाइदिनु भएको हो। लगभग जीवन हराइसकेको तर कतै न कतै अझै आशा बोकेको मनलाई एक क्षणका लागि भए पनि फेरि माया र जीवनको उज्यालो महसुस मात्र गराइदिनु भएकोमा मैले उहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै दुई हात जोडेर आफ्नो शिर उहाँप्रति झुकाएँ।
उनीसँग कुरा गर्ने क्रममा उनलाई पनि मन्दिर घुम्न मन पर्दोरहेछ भन्ने थाहा पाउँदा एक क्षण म मौन भएँ किनकि त्यो तिमीलाई पनि सधैँ मन पर्थ्यो। सायद तिमी हुँदा हामी कुनै मन्दिर जान छुटाएका थिएनौँ होला। उनले मलाई देखाइन् एउटा नयाँ मन्दिर, जसभित्र उनीसँग जाँदा त्यसको प्राङ्गणमा मैले उनीभित्र तिमीलाई उभिएको देखेँ। त्यो मेरो भ्रम थियो कि वास्तविकता, अझ पनि छुट्याउन सकेको छैन।
हामी त्यहाँबाट निस्केर चिया खान एउटा क्याफेमा गयौँ र धेरै कुराहरू गर्यौँ, जसरी म सधैँ तिमीसँग भेटेको बेला गर्दथेँ। त्यो बेला मेरो मनभित्रबाट आवाज बारम्बार आइरहेको थियो, ‘यो कतै तिमी त होइनौ, जो मेरो लागि फेरि आएकी हौ?’ उनीसँग चिया खाँदै, कुराकानी गर्दै, मैले आफूलाई धेरै रोकेर, अनियन्त्रित हुन खोजेका भावनाहरूलाई नियन्त्रण गरी कुरा गरिरहेँ।
केही बेरको बसाइपछि हामी छुट्टियौँ। मनलाई मनाउनको लागि उनलाई सामान्य अङ्गालो गरी हामी बिदा भयौँ। उनको शरीरबाट आउँदै गरेको त्यो सुगन्ध तिमीजस्तै थियो, जुन लामो समयदेखि मेरो सम्झनामा बसिरहेको छ, जसलाई म कुनै भिडमा आँखा बन्द गरी पनि महसुस गर्न सक्छु।
उनी मेरो सामुबाट जाँदा यस्तो लागिरहेको थियो कि मानौँ कसैले मेरो मनका मृत भावनाहरूलाई पुनः जीवन दिएर, तिनलाई आफ्नै स्थानमा फर्काइरहेको छ। तर वास्तविकतालाई कसैले पनि ढाँट्न सकेको छैन। प्रकृतिको नियमविरुद्ध चाहेर पनि सायद जान सकिँदैन। कसैले अधुरो सपना र नचाहेको वास्तविकतालाई आफ्नो सम्पूर्ण जीवनभरि मनको कुनामा बोकेर बाँच्नुपर्ने हुन्छ।
तिमीसँगको यो वास्तविकतालाई मनमा लिएर बाँचिरहेको छु तर कहिलेसम्म, थाहा भएन। सायद त्यो सुन्दर जीवनको बगैंचामा त्यो फूलमा उड्दै गरेको तितलीलाई म कुनै बेला साथ दिई गन्तव्यमा पुर्याउने छु भन्ने आशा अझै मरेको छैन।
उनीलाई मैले तिमीसँग दाँजेको होइन। तर उनको आगमनले तिम्रो उपस्थितिको अनुभूति जगाई मेरो मनको घाउलाई थोरै भए नि राहत दिएको छ। यो अवधिभित्र मेरो जीवनमा आएकी उनीलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।। केवल तिम्रो सम्झनाको अनुभूति गराएकी भएर होइन, बरु आफ्नै न्यानोपन, सरलता र जीवन्त उपस्थितिले पनि उनी मेरो सम्मान र कृतज्ञताको पात्र बनिन्।
यी कुराहरू म उनीसँग सायद प्रत्यक्ष भन्न सक्दिनँ तर मलाई विश्वास छ, कुनै माध्यमबाट उनले यो थाहा पाइन् भने उनको आगमनले जागेको यो भावनालाई उनले सकारात्मक रूपमा लिनेछिन्।
हराएको मेरो मुस्कान, मनको कुनामा दबिएर बसेका भावनाहरूलाई एक क्षण भए नि, ‘सुशील, म अझै पनि तिमीलाई बिर्सन सकेकी छैन। म छु, यहीँ छु, जहिले पनि तिम्रो छेउमा र सधैँ तिमीसँग हुनेछु’ भन्ने महसुस गराइदिएकोमा, म सधैँ आभारी रहनेछु।
उनीसँग फेरि भेटेर उनलाई अझ राम्ररी चिन्ने आशा राख्दै र त्यसो गर्दा, तिम्रो सम्झनासँगको यो अधुरोपनसँग म आफैं अझ बिस्तारै बाँच्न सिकुँला भन्ने विश्वासका साथ, यो सन्देश यहीँ टुंग्याउन चाहन्छु।
अहिले यो लेख लेख्दै गर्दा मध्य राति गहिरो सन्नाटामा र टाढासम्म नदेखिने यो गन्तव्यविहीन अँध्यारोमा तिमीसँग बिताएका हरेक क्षणलाई सम्झँदा म आफैँलाई फेरि प्रश्न गर्छु, के समयले साँच्चै घाउ निको पार्छ कि केवल त्यसमाथि पातलो झिल्ली मात्र थोपार्छ?
अहिले थाहा भइरहेकोछ कि घाउ न पूरै निको हुँदो रहेछ, न त सधैँ त्यत्तिकै ताजा रहन्छ। बरु त्यो घाउले नै बिस्तारै हामीलाई अझ गहिरोसँग माया गर्न सिकाउँदो रहेछ, न त बिर्सेर, न त बाँधिएर, बरु त्यो मायालाई आफ्नै हिस्सा बनाएर बाँच्न सिकाउँदो रहेछ।
जीवन एउटा अनौठो बगैंचा हो, जहाँ कहिलेकाहीँ बिर्सिएका फूलहरूको बास्ना, नयाँ फूलहरूमार्फत् हामीसम्म फेरि आइपुग्छ। न त्यो फूल उही हुन्छ, न त्यो सुवास पूरै त्यही हुन्छ। तर त्यसले हामीलाई सम्झाइदिन्छ कि हामीले साँच्चै माया गरेका थियौँ र त्यो माया कहिल्यै साँच्चै हराउँदैन, बरु यसरी नै कुनै न कुनै रूपमा सधैँ हामीसँगै हिँडिरहन्छ।
तिमी जहाँ पनि छौ, त्यहाँ सधैँ खुशी रहनू। जीवन साह्रै सुन्दरताले भरिएको छ, यसको हरेक क्षणको भावनाहरूमा तिमीलाई सम्झँदै जिउने प्रयास गरिरहेकोछु।
केवल तिम्रो।