माघ महिनाको अन्तिम साँझ, चिसो सिरेटो चलेको थियो। क्षितिज रक्ताम्य हुँदै दिन ढल्किँदा पूर्वी पहाडी गाउँमा मान्छेको चहलपहल खासै थिएन। यो महिनाको सुरुआतदेखिनै गाउँमा बालबच्चाहरू बिरामी पर्ने गरेका निराशाजनक खबर पँधेरामा पानी भर्न आउने आमा र भाउजूहरूले आदानप्रदान गरिरहेका थिए।
गाउँको शिरमा रहेको फुङ्सिङे जंगलबाट निस्किएको चिसो हावाको सिरेटोले बालबच्चाहरू बाक्लै बिरामी पर्न थालेका थिए। त्यसमध्ये माइली आमाको न्यानो काखमा छटपटाइरहेको सानो काजी अलि सिकिस्त थियो। उसलाई दिनभरिको सास्तीपूर्ण ज्वरोले अलिकति पनि छाडेको थिएन।
अबोध बालकको अनवरत रुवाइ र छटपटी नरोकिएपछि भेला भएका छिमेकीहरूले आ–आफ्नै अड्कल काटे, ‘पक्कै पारिपट्टिको ठोक्करे मसान वा वनको देउता कुपित भयो, नभए फलानीको कुदृष्टि लाग्यो! त्यो पनि होइन भने फरकै पर्दैन यसलाई जंगली भूतले सताएको छ।’
नवजागरण र ज्ञानको उज्यालोलाई छायाले छेकेको थियो। यहाँका मानिसहरू अज्ञानता र अन्धविश्वासको अँध्यारो साङ्लोभित्र जकडिएका थिए। बिरामीले डाक्टर वा आधुनिक अस्पताल विरलै देख्थे। त्यो बेला गाउँलेका निम्ति साक्षात् ईश्वर, जीवनदाता वा उद्धारक जे भने पनि तिनै धामीझाँक्री थिए।
राति ढ्याङ्ग्रो ठोकेर देउता उतार्नका लागि गाउँकै सिद्ध, अनुभवी र नाम चलेका ‘अधिकारी धामी’लाई लिन माथिल्लो गाउँका माल्दाजु र डाँडाघरे ठुल्दाजु हस्याङ–फस्याङ गर्दै उकालो लागे। बेलुका धामी बस्ने निधो हुनासाथ गाउँभरि खबर पुर्याइयो।
केटाकेटीहरू दिउँसैदेखि असीम कौतूहल र उत्साहले उद्वेलित थिए। मनोरञ्जनका अरू साधन नभएको त्यो युगमा कसैको घरमा धामी बस्ने रात सिंगो गाउँका लागि एउटा अभूतपूर्व कौतूहल, रमित र उत्सवतुल्य हुन्थ्यो।
अँध्यारो गाढा भई बत्ती बलेपछि माइली आमाको पिँढीमा गुन्द्री र मजेरीभर राडी ओछ्याइयो। अँगेनाका डिलमा भेला भएका गाउँलेहरू एकातिर कंकड र खोस्टका पातमा बेरेको सुर्ती सल्काउँदै अघिल्ला पुस्ताका शक्तिशाली धामीहरूका अलौकिक तथा चमत्कारिक उपकथाहरू पालोपालो सुनाउँदै थिए। यी कथा र उपकथा सुन्नेहरू ध्यानमग्न थिए।
‘अधिकारी धामी त साक्षात् देउताका अवतार नै हुन् नि! मन्तरेको अक्षता फालेकै भरमा मान्छेको आयु र मर्ने–बाँच्ने मिति छुट्याइदिन्छन्। अमलेका शिरे झाँक्रीलाई त साक्षात् महाझाँक्रीले नै गुफा लगेर तन्त्रसिद्धि गरिदिएका थिए रे! उनले मन्तरेर अक्षता उडाउँदा मान्छेले नदेख्ने गरी कता–कता पुग्थे र छिनभरमै ती अक्षता ढ्याङ्ग्रामा सोझै फर्किन्थे। थानमै बसेर आँगनको पल्लो डिलमुनीको खोल्माभित्रका ढिकी र जाँतो घुमाइदिने, अक्षताको प्रहारले रुख सुकाइदिने, बारीका डिलमा मसानको बत्ती बालिदिने, वल्लो खोल्सी, पल्लो खोल्सी र जोरधारा किनारका बाँसका टुप्पी जोडेर छायामा फू.....गर्दा करबिरे नचाइदिने र बोक्सीको आँखा फुटाइदिने अद्भुत शक्ति थियो रे तिनमा। डाँडा गाउँका खड्का बुढा, खर्पनेका बुर्चे राई बिजुवा र पर्खालघरे मगर बुढाधामी पनि उस्तै जौडे। ढोल–ढ्याङ्ग्रो छाँदेर बिजुवा देउ खेलाउँदा टाढा–टाढाका जीवहरू मन्त्रको तागतले नै मारिदिन्थे रे।’ तल्लाटारमुनी खन्तरे बाका गोठछेउ कुदेको राँके भूत मन्त्र जपेको फूल फ्याकेरै गुडुडु भगाउँथे रे।
गाउँलेका यस्ता रहस्यमयी वृत्तान्त सुन्दा हामी केटाकेटीको सातो जान्थ्यो, तर रहस्यले भरिएका कौतूहलपूर्ण कहानी सुन्न छाड्न पनि सकिँदैनथ्यो। ती कथा र कहानीहरू काल्पनिक थिए वा यथार्थ, जे भए पनि तीव्र जिज्ञासा र उत्सुकताले मन तरङ्गित भइरहन्थ्यो।
बाहिर आँगनको डिलमा वरिपरि घुमी–घुमी नाच्न मिल्ने गरी पवित्र थान बनाएर सिँगारिएको थियो। माइला बासँगै धुपौरेले माटो र गोबरको लेपनले चोख्याएको ठाउँमा टपरामा शुद्ध चामल, बलिरहेको दियो, जलशमा फूल राखे, दुम्सीका तीखा काँडा चामलमा रोपे, खरानीले रेखी लगाएर बनाएको थानमा रातो आगोको झर्झराउँदो कोइला भएको धुपौरो, जरायोका सिङ, कालो कुखुराका डिम्बा, भलायो र रुद्राक्षका मालाहरू क्रमबद्ध सजाइए। छिनभरमै सिंगो वातावरण धूपको सुगन्धले सुवासित भयो भने, अर्कोतिर एउटा अज्ञात भय र त्रासले छोप्दै लग्यो।
थानमा केराका खम्बा, निगालाका आँख्ला खुर्केर बनाएका बुट्टेदार लिङ्गाहरूमा दमाई गाउँबाट ल्याएका रङ्गीचङ्गी कपडाका टुक्रा र काँचो धागो बेरिएका थिए। धुपौरेहरूले काउलोका पात, काउछो र चिप्लेटी लहरो पिसेर बनाएको लिसोपासोको झोल थानमा छर्केका मात्र के थिए, अधिकारी जौडेधामी काँधमा सामानको झोला र हातमा ढ्याङ्ग्रो बोकेर पूर्ण शान र रवाफका साथ भित्र चुलोको आडमा सफा गरेर बनाइएको अर्को भित्री थानमा छिरे।
उनले कोट र टोपी फुकाले, कम्मरमा दह्रो गरी पटुका कसे अनि गलामा साना–साना घण्टी गाँसेर बुनिएको रुद्राक्षको माला पहिरिए। ढ्याङ्ग्रोमा खरानीले त्रिशूल कोरेर ‘एस’ आकारको गजोले ढ्याङ् .. ढ्याङ् .. ढ्याङ्, ढ्याङ् .. ढ्याङ् .. ढ्याङ पार्दै घन्काउन थाले।
घुमाउरो र कर्णप्रिय लयमा उनले गुरु र देवीदेवताको पुकारा गरे, ‘हे आधा राते भञ्ज्याङे, हे साप्सु बाच्छाई, हे वनस्खन्नी बुढीबज्यै... रक्षा गर! डढीमरेकी, लडिमरेकी शिकारी, बाला मनुवालाई दुःख दिएर हाम्रै आँगन–पेटी, हाम्रै फूलबारी डुली हिँड्ने तिमी को हौ?...’
यस्तै नानाथरी भाक्तै र फलाक्तै झ्याम्टा र ढ्याङ्ग्रोको मारक तालमा ‘अधिकारी धामी’ बेस्सरी काम्न थाले। धुपौरेले ‘लौ परमेश्वरी! दूधको दूध, पानीको पानी छुट्याई ल्याउनु पर्यो प्रभु!’ भन्दै भर्भराउँदो आगोमा धुप थप्दै गएपछि छिनभरमै धामीले बिरामी बालकको जोखाना हेरेर आदेशात्मक स्वरमा भने, ‘हे मूर्ख मनुवा! वनको देउतालाई भाले, साप्सुलाई माछा र गजुरमुखी देवीलाई परेवाको भोग दिनुपर्छ, अनि मात्रै बालक यो बिसञ्चोबाट जोगिन्छ है मनुवा!... हाँ ..हाँ हेर..।’
उपचारका क्रममा अधिकारी धामीले फुर्केमा लिसोपासो खेलाउँदै ढ्याङ्ग्रोको तालमा छम्छमी नाच्न थालेपछि अलिपर मान्छेका बीचमा बसेका कान्छा काका एक्कासि ‘नागदेवी हुँ’ भन्दै लडीबडी गर्दै काम्न थाले। उनी मुड्कीले आफ्नै छातीमा बजार्थे, भुइँमा टाउको ठोक्थे, अनि ‘थाँ–थाँ’ र ‘थूँ–थूँ’ गर्थे।
यो देखेर मनोरञ्जन मिलेको हो या साँच्चै काम्ने वायु आएको हो, एकपछि अर्को गर्दै गाउँका सातजना काकाहरू ऊर्जासहित प्रतिस्पर्धामै काम्न थाले! कोही नागिनी भएर बक्न थाले त कोही वनशिकारी, कोही कुलदेवता उत्रिए त कोही करबिरे! माघको कठ्याङ्ग्रिने चिसो मौसम थियो, तर प्रवाह थिएन। नागिनी भएका काका त काम्दै, फलाक्तै र लडीबडी गर्दै करिब आधा किलोमिटर पर खोल्सीपारिको जोरधारासम्म पुगेर धारामा टाउको पखाली पुनः अघिकै तालमा घर फर्किए।
अधिकारी धामीले घरैछेउको बडेमानको काभ्रोको रुखको फेदमा रहेको देवीथानमा धुप लगाएर फलाकेपछि बल्ल नागिनी साम्य भइन्। अरू पनि यस्तै काम्ने, बक्ने, उफ्रिने आफ्नै मात र तालमा थिए। मानौँ, त्यो दृश्यले सिंगो गाउँलाई नै धामीमय बनाएको आभास गराउँथ्यो।
समय बित्दै गयो। काम्नेहरूको तातो र आवेश मन्द हुँदै गयो। मूल धामी अधिकारी बुढाले दाँतले रुद्राक्ष टोकेर अक्षता फुके र त्यसलाई बिरामीको दुवै पैतालामा छुवाएर अदृश्य शक्तिलाई ताकेर ‘बान’ हाने। बान हानिसकेपछि धामी चेतना गुमेजस्तै लम्पसार परे। सबैको सातो गएजस्तै भयो, चौतर्फी भीषण सन्नाटा छायो। धुपौरेले धुप सुँघाएर ‘सत.. गुरु’ भन्दै शिरमा समातेपछि एकैछिनमा उनी बक्तै, थर्थराउँदै र गहन तन्द्राबाट ब्युँझिएझैँ गरेर काम्दै उठे।
अँगेनाको डिलमा बसेका मानिसहरू रातमाटेको चिहानडाँडाको भूत, कमेरे र बिर्खे डाँडामा बारम्बार भेटिने सेतो मुर्कुट्टा र बलौटी पाखामा कालो बिरालो बनेर डुल्ने बोक्सीका प्रसङ्ग झिक्दै रात कटाउँथे। यता बिरामीको उपचार सकिएपछि अरू गाउँलेहरूले पनि आफ्ना घरपरिवारका दुःख–बिरामको जोखाना हेराउन थाले। एकपछि अर्को जोखाना हेर्दाहेर्दै रात छर्लङ्गै भयो।
उता धामी काम्दै भाकेको हेरेर रमाइलो मान्ने र जोखाना हेराउनेमा सबैको ध्यान खिचिएका बेला, अलि पल्लो गाउँका दुई युवासँगै मादक आँखामा आएका डाँडा स्कुल (सिंहदेवी) का हेडसरले ‘म पनि सिंहदेवी झाँक्री हुँ, अघि बढ.. केटा हो!’ भन्दै धामीको थानमा राखिएका सात वटै अन्डा फुटाएर खाएछन् र बोक्रा घोप्ट्याएर टपराको चामलले छोपिदिएछन्। अनि धामी थानमा पस्नुअघि नै उनीहरू फुत्त भागेछन्।
भोलिपल्ट उज्यालो भएपछि थानको सामान उठाउँदा मात्रै अधिकारी धामीले थाहा पाए कि, अन्डा त कसले चोरेर फुटाएर खाएछ! ‘अन्डा कसले चोर्यो? कसले फुटाएर खायो?’ भन्दै ठूलो हल्लाखल्ला भयो। धामीको साख र प्रतिष्ठा गुम्ने डरले माइली आमाले माफी मागेर घटनालाई गुपचुप पारिन्।
यो विषय गाउँभरि सनसनी बनेको थियो। हाँस्य पीस बनेको यो किस्साले वर्षौँसम्म धान गोड्ने, कोदो रोप्ने परेलीमा पनि स्पेस पाउँदै आयो। पछि हामी स्कुल पढ्न जाँदा उनै हेडसरले हाँस्दै त्यो गुपचुप पारिएको कथाको रहस्य खोले, ‘सबैथोक देख्ने अलौकिक शक्ति भएको धामीले आफ्नो थानबाट अन्डा हराएको देख्छ कि देख्दैन भनेर परीक्षा लिएको नि! त्यसको मेन निर्देशक पात्र त म थिएँ।’
उनले कथालाई अझ रोचक बनाउँदै सुनाए, ‘यो परीक्षाले त्यो बेलाको समाज कति अन्धभक्त रहेछ भन्ने पाठ सिकाएको छ, अर्थात् समाजको वास्तविक यथार्थको चित्र देखाएको छ।’
त्यो बेलाको तन्त्रमन्त्रको धुन र चमत्कारको प्रभाव मनमा बोकेर हामी केटाकेटीहरू एकदिन गाउँको खोल्सातिर लाग्यौँ। घरका ठूला मान्छे मेलापात गएका बेला हामीलाई पनि अधिकारी धामीजस्तै ठूलो र शक्तिशाली हुने भूत चढेको थियो। हामीले गाउँभरीका केटाकेटी भेला पारेर हजुरआमा र काकीहरूका पोते र प्वाँलाका माला कम्मरमा भिर्यौं, आमाले बेलुकीको पलाहार राखेका राता सुठुनी चोयामा खिलेर पगरी गुथ्यौँ।
टपरामा चामलको साटो धारामुनीको बालुवा र च्याँख्ला राख्यौँ, मकै भुट्ने कप्टेरालाई दुम्सीको काँडा बनायौँ र भात खाने थाललाई बाँसको सिटाले ठटाउँदै ‘हेर्... हेर्... यहाँ हेर्... त्यहाँ हेर्... भन्दै काम्ने र बान हान्ने अभिनय गर्न थाल्यौँ। एकदिन त एउटा सानो भाइलाई बिरामीजस्तो बनाएर बेस्सरी काउलो र अम्लिसाका सेउलाले हानेका थियौँ, बिचरालाई बेलुका त ज्वरो आएर हैरानै पार्यो!
त्यस दिन हाम्रा काम्ने र बान हान्ने बालसुलभ अभिनयका कारण सानो भाइलाई असाध्य कडा ज्वरो आएपछि हामी धामीको अभिनय गर्ने केटाकेटीको सातो गयो। ‘धामीको नक्कल गर्दा देउता रिसाए, अब भाइ नमरी छाड्दैन!’ भन्ने डरले हाम्रा हातखुट्टा साँच्चै काँप्न थाले। घरका ठूला मान्छेहरू चिन्तित बने र माइली आमा पुनः अधिकारी धामीलाई नै डाक्न उकालो लागिन्।
राति धामी आए। थान बाँधियो, धुपको गन्ध फैलियो, र ढ्याङ्ग्रोको घन्कासँगै उही लय गुञ्जियो, ‘हे वनस्खन्नी... हे साप्सु बाच्छाई! बनकी देवी....।’ धामी बेस्सरी काम्न थाले। हामी केटाकेटीहरू डर र पश्चात्तापले कुनामा दुनिछाप परेर थरथर काँपिरहेका थियौँ।
धामीले अक्षता हातमा लिएर जोखाना हेरे र गम्भीर हुँदै फलाके– ‘यस बालकलाई कुनै भूत–मसानले छोएको होइन, यसलाई त काउलो र चिप्लेटीको चिसो र काँचा बखडाको अमिलो रस शरीरमा परेर डाबरले समातेको छ! लहडी बाल–गोपालले के–के मन्तर फलाकेर कुटेका हुन्, त्यही डरले बिसञ्चो भएको हो!’
हामीलाई त ठ्याक्कै देखेजस्तै गरी भन्दा अचम्म नै लाग्यो तर उनले अगाडि नै बिरामीको लक्षण हेरेर वा कसैसँग बुझेका थिए क्यार!
धामीको यो कुरा सुन्नेबित्तिकै हाम्रा आँखा ठूला र कान ठाडा ठाडा भए। अन्तर्यामी धामीले त हाम्रो दिनभरिको गुप्त खेलको पोल पो खोलिदिए। तर यसपालि धामीले कुनै भाले वा परेवाको भोग मागेर टुनामुना गरेनन्। उनले सिधै अँगेनाको छानीबाट सुकेको तुलसीको पात र अदुवा झिके, त्यसलाई पिसेर रस बनाएर बिरामी भाइलाई खुवाउन लगाए। अनि बारीको फेदबाट चिसो माटो ल्याएर भाइको तालुमा लेप लगाइदिए। अचम्मको कुरा, घण्टौँसम्म नझरेको ज्वरो बिस्तारै घट्दै गयो र भाइ मुस्कुराउन थाल्यो।
पछि चेतनाका आँखाहरू उघ्रिँदै जाँदा चाल पाइयो, धामी त वास्तवमा गाउँघरका जडीबुटी र प्राकृतिक ओखतीका अनुभवी जानकार पो रहेछन्! मानिसहरूको गहिरो अन्धविश्वास र अज्ञात डरलाई सन्तुष्ट पार्न उनी ढ्याङ्ग्रो र मन्त्रको लोकरीतिको आवरण पहिरिन्थे क्यार, तर भित्रभित्रै उनी व्यावहारिक आयुर्वेदिक उपचार नै गर्दारहेछन्।
चेतनाको किरण नपुगेको त्यो अँध्यारो युगमा डर, अन्धविश्वास र परम्पराकै बीच गाउँलेले आफ्नो सम्पूर्ण आस्था, उपचार र जीवनको सहारा त्यही ‘धामी बसेको रात’ भित्र समर्पण गरेका थिए। अहिले त्यो गाउँमा ऊ बेलाका जौडे धामीहरू भेटिँदैनन्। कतिपय त परमधाम नै पुगिसके। धामीको विकल्पमा अस्पतालहरू खुलिसकेका छन्। तर मेरो मानसपटलमा भने बार–बार दोहोरिएर आउँछ, त्यो ‘धामी बसेको रात’।