बाढीको तुफानी बेगले
घरहरू लग्यो
मानिसहरू बगायो
मानिसहरूका सपनाहरू उड्यो
तर
गेग्रानको बिचमा
केही चियाका कपहरू छुटेछन्।
जब म ती बेवारिसे कपहरूलाई नियाल्दै थिएँ
मैले सोधे तिमीहरू कसरी बाच्यौ?
कपहरू बोलेनन्
सायद ती कपहरू पर्खी बसेका छन्
तिनलाई समाउने आफ्ना हातहरू।
म ती कपहरूको मौनता बिच सोचिरहेँ
ती मानिसहरू कहाँ गए होलान्?
नदीसँगै समुद्रतिर?
यही गेग्रानमुनि?
कि शरीरलाई कपछेउ छोडेर
कहीँ कतै कुनै अनन्त यात्रामा?
लाग्यो उनीहरू टाढा गएका छैनन्
त्रिशूली नदीको किनारामा बसेर
ती कपहरू हेरिरहेका होलान्
अनि खोज्दै होलान्
आफूले बनाएको घर
आफन्तहरू, आफ्ना अधुरो सपनाहरू।
कपहरूको मौनतापछि
मैले त्रिशूलीसँग पनि सोधेँ
उनी केही बोलिनन्, मात्र बगिरहिन्
पहाडसँग सोधेँ
ऊ मौन उभिइरह्यो
आकाशलाई सोधेँ
ऊ पनि उस्तै अनन्त नीलो मौन।
मलाई लाग्यो
प्रकृतिलाई हाम्रो मृत्युको शोक छैन
नदी फेरि सङ्लिँदै छ
गेग्रानमा घाँस उम्रिने तरखरमा छ
भागेका चराहरू फेरि फर्किँदै छन्
छिट्टै
बाढी आएको थियो भन्ने घाउसमेत
धरतीले पुरिदिनेछ।
म चुपचाप कपका फोटो लिएर फर्किएँ
ती कपहरूलाई साक्षी राखेर
त्रिशूली बगिरहन्छ
तर ती कपहरू त्रिशूली बगरमा
आफ्ना हातहरूलाई कुरिरहने छन्।
सायद ती कपहरूलाई थाहा छैन
मानिस क्षणमा बाँचेका हुन्छन्
र प्रकृति
मानिसभन्दा धेरै पुरानो
मानिसपछि पनि रहिरहने
एउटा अनन्त मौनता हो।