पोहोर को कुरा हो। विजयादशमीको दिन घरमै टीका लाइयो। भर्खर–भर्खर बिहे गरेको मान्छे म। हामी दुवैका लागि बिहेपछिको त्यो दसैं पहिलो थियो।
ससुरालीमा हिरिक्कै गर्लान् भन्ने भावमा म मख्ख थिएँ। श्रीमतीले पनि 'ससुरालीमा तपाईंलाई बोलाएको बोलायै छन्' भनेर मख्खै पार्थिन्।
दुइटी छोरी मात्र छन् उता। कान्छी बहिनीको पनि भर्खरै बिहे भएको थियो। कान्छा ज्वाइँ इन्जिनियर थिए। म चाहिँ शिक्षक, त्यो पनि प्राइभेट स्कुलको।
तर ससुराली टाढा पर्ने। टीकाको दिन नै पुग्न नसकिने। घरकाले नजिकै बिहे गर् त भनेकै थिए।
आफूलाई त अहिले ससुराली जान यति टाढा लाग्छ, पछि छोराछोरीलाई मामाघर जान कति झ्याउ हुँदो हो भनी सोचिबस्छु।
ससुराली जाने दिन के सार्वजनिक गाडीमा जाने भनेर बाइक झिकेँ।
श्रीमती त भन्दै थिइन्, 'टाढाको बाटो के धुवाँधूलो खाँदै जानु हो र बाइकमा? बरू गाडीमा नै जाऔं न!'
अहँ! मनले मानेन।
श्रीमतीलाई पछाडि राखेर ससुरालीको बाटोमा हुइँक्याउनुको मज्जा बेग्लै हुने अनुभूति भयो। कोटपाइन्ट लगाएर लागियो ससुरालीतिर।
पिङ भएका ठाउँमा श्रीमतीलाई पिर्कामा राख्दै, हल्लाइदिँदै, मज्जा लिँदै बाटाहरू छोट्टिँदै गए।
यति राम्री, मन बुझ्ने श्रीमती र मनकारी भनिएका ससुराली पाएर म खुसीले गदगद भइरहेको थिएँ।
जब ससुराली पुगेँ, टक्क बाइक रोकेँ। अनि यसो टहलिएँझैं गरेँ।
त्यहाँ आँगनमा अगाडि नै एउटा गाडी आएर रोकिएको थियो। त्यो गाडी अरू कसैको नभएर कान्छा ज्वाइँको भएको पत्ता लगाउन मलाई धेरै बेर लागेन।
कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।
ससुरा बा आडैमा बसेर कान्छा ज्वाइँको हालखबर सोध्दै थिए।
म यता आँगनीको छेउमा टहलिएको आधा घण्टा हुँदा पनि कोही केही सोधखोज गर्न आएको थिएन।
यस्तैमा मेरी श्रीमती आइन् र भित्र सोफामा लगेर बसालिन्। सासू–ससुरा मसँग टाढा–टाढा भएका जस्ता देखिन्थे।
कान्छा ज्वाइँको कोटबाट आइरहेको अत्तरमा आनन्दित हुँदै थिए सायद। हल्का अंग्रेजी पनि निकाल्दै थिए ज्वाइँ। ससुरा पनि अंग्रेजीमै उत्तर दिँदै थिए।
हुन पनि ससुरा बा सरकारी स्कुलका अंग्रेजी शिक्षक र हेडमास्टर पनि हुन्। म परेँ नेपाली शिक्षक, त्यो पनि बोर्डिङ स्कुलको।
सरकारी कार्यालयका इन्जिनियर कान्छा ज्वाइँलाई पालो मिचेरै सुरूमा टीका लगाइयो। यो देखेर कान्छी बहिनी मख्ख थिई। मेरी श्रीमती केही निन्याउरी देखिन्थिन्।
आशीर्वाद दिँदा ज्वाइँलाई चाहिँ मालामाल होस्, विदेश भ्रमण मिलोस्, बढुवा होस् जस्ता आशीर्वाद दिइयो।
मेरो पालोमा चाहिँ खान पुगोस्, जीविका चलोस्, छोरीलाई राम्ररी पाल्नुस् जस्ता आशीर्वाद आए। म छक्क परिरहेँ।
कान्छा ज्वाइँको खाममा दुईवटा हजारका नोट जति दबाउन खोजे पनि देखिन्थे। मेरोमा एउटा पाँच सयको नोट र पाँच रूपैयाँ थियो। त्यो पनि चर्पी गएर हेर्दा पत्तो लाग्यो।
श्रीमतीलाई भनौं–भनौं लाग्यो, तर चित्त दुखाउलिन् भनेर नबोली बसेँ।
जानलाई बाटो टाढा थियो। ससुराली छोडेर होटलमा बस्ने कुरा पनि त भएन। तर वास्तवमा भन्ने हो भने त्यो रात मलाई फिटिक्कै बस्न मन थिएन।
त्यसमाथि मलाई कर लगाएका पनि कहाँ थिए र? कर जति सबै कान्छा ज्वाइँलाई थियो।
'बसिसियोस् न, हजुर! दसैंको बिदा छँदै छ। एक दिन हामीसँग बस्दैमा के नै जान्छ र?'
यति बिन्ती गरेपछि बसेरै छोडेँ तिनले, तर म पो के गरूँ–गरूँ भयो। श्रीमती र बहिनी मज्जाले गफ गरेको देखेर डिस्टर्ब गर्ने मुड पनि भएन। कुरा गरिराखून् न भन्ने भयो, बल्लबल्ल भेट भएको बेलामा।
बेलुका कान्छा ज्वाइँ र ससुरा टेबलमा ब्रान्डेड रक्सी राखेर गफिँदै थिए। म नपिउने मान्छे भए पनि के अलग्गै बस्ने भनेर टेबलमै गएर जोडिएँ।
ससुरा बाले कुरा मिलाए, 'तपाईं खानुहुन्न भनेर नबोलाएको के, ज्वाइँसाब! रिसानी माफ होस् है।'
मैले पनि ठिकै छ भनेर चुपचाप बसेँ।
राजनीति र कर्मचारीतन्त्र मिसाएर गफ सुरू हुन थालेपछि म बिस्तारै त्यो गफबाट अलग्गिएँ र सुत्न गएँ। तर रातभर निद्रा लागेन।
ससुरा बालाई एउटा चिठी लेख्ने निधोमा पुगेँ।
—
'ससुरा बा!
तपाईं त धेरै दिलदार हुनुहुन्छ भन्ने सुनेथेँ। तर पनि भेदभाव गर्ने हकदार हुनुहुँदो रहेछ। लाग्थ्यो मलाई, तपाईं पनि त एउटा शिक्षक हो। शिक्षकको पीडा त शिक्षकले भन्दा बढी कसले नै बुझ्छ र?
अझ हेडमास्टरजस्तो मान्छेले म जस्तो शिक्षकको मर्यादा कसरी कायम राख्ने भन्ने हेक्का गर्नुपर्ने हो। तर खैर! सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैं शिक्षकका दुःखपीडा देखेरै मज्जाले हिर्काउनुभयो।
मलाई दक्षिणा पनि त धेरै चाहिँदैनथ्यो, तर आशीर्वादमै तपाईंले निचो देखाउनुभयो। भलै म सरकारी जागिरे नभएर पैसा दायाँबायाँ गर्न नसिकेको हुँला। तर बोर्डिङ स्कुलमा पढाएर मैले राम्रो शिक्षा आउने पुस्तालाई दिएको छु। मेरा बा–आमा र श्रीमतीलाई अभावबाट मुक्त राख्ने हिम्मत पनि गर्छु।
दसैं एउटा आपसी मेलमिलाप र एकताबद्ध पार्ने पर्व पनि हो। भेटघाट र आशीर्वाद लिँदै थप जिन्दगी सुगन्धित पनि पार्न सकिन्छ। तर मैले अग्रज मानेकै हजुरबाट यस्तो व्यवहार हुँदा म निकै चिन्तित छु। पैसा र ओहोदाले मात्र होइन, व्यवहार र सोचाइले समेत मानिसलाई फरक पार्छ भनेर मैले तपाईंलाई पनि आफ्ना शिष्यहरूलाई जस्तै सिकाउनुपर्ने भएछ।
त्यसैले तपाईंले दिएको दक्षिणा जस्ताको तस्तै यसै चिठीसँगै फिर्ता गर्दै छु। म तपाईंकी छोरीलाई आफ्नी श्रीमती बनाउन पाउँदा निकै भाग्यमानी सम्झिन्छु। र, उनै श्रीमतीको उदार सोचाइले मलाई जीवन जिउने प्रेरणा दिन्छ। अर्को दसैंमा टीका लगाउन आउँदा बरू एक रूपैयाँ पनि चाहिँदैन, तर आशीर्वाद राम्रो दिनुहोला। हालखबर सोधिदिनुहोला।
उही तपाईंको जेठो ज्वाइँ।'
खामभित्र चिठी र पैसा राखेर ससुरा बाको सिरानीमा राख्न लगाएँ मैले श्रीमतीलाई।
अनि बिहानै चिया पनि नखाइकन हामी हुइँकियौं आफ्नै मोटरबाइकमा।
श्रीमती सोध्दै थिइन्, 'हैन, त्यो खामभित्र के थियो?'
मैले पनि भनिदिएँ, 'दिव्य उपदेश।'
अनि हामी दुवै खित्का छोडेर हाँस्यौँ।