मधेसका दुई प्रभावशाली नेता राजेन्द्र महतो र महिन्द्रराय यादव मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही–२ बाट प्रतिस्पर्धा गर्दैछन्।
यादव यसपटक नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् भने महतो अघिल्लो पटक चुनाव लडेको धनुषा छाडेर सर्लाही फर्किएका हुन्।
एउटै गठबन्धनमा रहेका दुई दलका उम्मेदवारबीच हुन लागेको यो टक्कर विस्तारै मित्रतापूर्ण प्रतिस्पर्धाबाट शत्रुतापूर्ण बन्दै जान थालेको छ।
गठबन्धनमा सिट बाँडफाँट हुँदा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको थियो। तर लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्न उम्मेदवारी दिएपछि दुईबीच टक्करको स्थिति बनेको छ।
सत्ता गठबन्धनले आफूहरूको आधिकारिक उम्मेदवार महिन्द्रराय यादव भएको भन्दै विज्ञप्ति निकालेपछि महतोको पार्टी लोसपा चिढिएको छ।
उक्त निर्णयको प्रतिवाद गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापतिसँग भएको सहमतिविपरीत उम्मेदवार तोकेर विज्ञप्ति निकालेकोमा आपत्ति जनाइसकेका छन्। मधेसकै एजेन्डा अघि सारेर राजनीति गर्ने दुवै नेता ९ वर्षपछि एकअर्काविरूद्ध चुनावी मैदानमा उत्रिन पुगेका छन्।
महिन्द्रराय यादव र राजेन्द्र महतो दुवैले आफ्नो राजनीति सर्लाहीबाट गर्दै आएका छन्। दुवै जना एउटै वर्षबाट चुनावी मैदानमा उत्रिएका व्यक्ति हुन्।
यादव पहिलोपटक २०४८ सालमा नेपाल मानन्धर भन्ने पार्टीबाट सर्लाही १ मा चुनाव लडेका थिए। उनी त्यतिबेला पराजित हुन पुगे। त्यसपछि २०५१ साल र २०५६ सालमा उनी नेकपा एमालेबाट सर्लाही-१ मा विजयी भए। २०६४ पछि उनले मधेस केन्द्रित राजनीति सुरू गरे। तर २०६४ मा यादव तत्कालीन तराई-मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकतर्फ बसे।
यादवजस्तै महतो पनि २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सर्लाही २ मा चुनाव लडे पनि पराजित हुन पुगे। २०५१ सालमा पनि सर्लाही-२ बाट चुनाव लडेर पराजित भएका महतोले २०५६ सालमा भने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसदमा पुग्ने अवसर पाए।
२०६४ मा नेपाल सद्भावना पार्टी फुटेर बनेको सद्भावना पार्टीबाट उनी संविधानसभा निर्वाचन लडेका थिए। त्यो बेला उनले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही- ४ बाट जीत हात परेका थिए।
सर्लाहीलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका यी दुवै नेताबीच नौ वर्षअघि २०७० सालमा सर्लाही –२ मा प्रतिस्पर्धीको रूपमा भेटको थियो। त्यतिबेला यादवले २ हजार ७ सय ४४ मतान्तरले महतोलाई पराजित गरेका थिए।
२०७४ को निर्वाचन यादवले सर्लाही-२ मा कांग्रेसका जंगिलाल रायलाई पराजित गरे भने महतो धनुषाबाट विमलेन्द्र निधिलाई पराजित गरे। तर ९ वर्षपछि एकपटक फेरि दुवै नेता आफ्नो लोकप्रियता जाँच्न प्रतिस्पर्धामा छन्।