एक समय थियो, नेपालमा उत्पादन भएका लुगा बजारले रूचाउँदैन थियो। तिनमा विदेशी चल्तीका ब्रान्ड नाम राखेर पठायो भने चाहिँ सजिलै बिक्थे।
त्यसैले यहाँका अधिकांश उत्पादकले विभिन्न विदेशी नाम राखेर लुगाहरू बजार पठाउँथे।
किशोर नेपाललाई भने यो कुरा चित्त बुझिरहेको थिएन। उनी नेपाली उत्पादनलाई आफ्नै पहिचानमा स्थापित गर्नुपर्छ भन्ने सोच्थे।
त्यही सोचको नतिजा हो 'केके' र 'ट्याग' ब्रान्ड।
उनले खासगरी 'ट्याग' ब्रान्डमा महिलाका र 'केके' मा बालबालिकाका लुगा बनाइरहेका छन्। पुरूषका लागि पनि यी ब्रान्डका लुगा पाइन्छ।
'हामी मौसम अनुसार टिसर्ट, ट्राउजर, ब्लेजर, टु–पिस सेट, वानपिस, जर्सी, जिन्स, हाफ पाइन्ट लगायत सबै बनाउँछौं,' नेपाल स्थानीय तयारी पोशाक उद्योग संघका अध्यक्षसमेत रहेका किशोरले बताए।
करिब पन्ध्र वर्षअघि १०–१२ जना कर्मचारीबाट सुरू भएको उनको उद्योग कोरोना महामारीपछि अझै विस्तार भएको हो। कोरोना कालमा आयात घट्दा विदेशी लुगाको बजार खुम्चियो। त्यही बेला नेपाली उत्पादनको माग बढ्यो।
किशोरले त्यसपछि मेसिन र जनशक्ति थप्दै गए। अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा ७० जनाभन्दा बढी कामदार चाहिन्छ। अफसिजनमा पनि ५० जना हाराहारीले काम गर्छन्।
हाल केके र ट्यागका लुगा होलसेलमार्फत नेपालभर पुगिरहेका छन्। काठमाडौंको बानेश्वर र भक्तपुरको ठिमीमा पसल छन्।
'सामान अस्ट्रेलिया र अमेरिका पनि पुगिरहेको छ। तर नियमित ठूलो परिमाणमा निर्यात गर्न अझै धेरै मेहनत गर्नुपर्छ,' उनले भने।
किशोरको अबको लक्ष्य नेपाली ब्रान्डलाई थप विस्तार गर्नु हो। विशेषगरी पुरूषका लागि पनि सहज मूल्यमा गुणस्तरीय र आरामदायी लुगा उपलब्ध गराउने उनको योजना छ।
नेपाली तयारी पोशाक उद्योगले रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा ठूलो योगदान दिन सक्ने उनको विश्वास छ।
'सरकारले साना–साना कुराहरू सम्बोधन गरिदियो भने हामी परिणाम दिन तयार छौं। पाँच वर्षमा मात्रै होइन, हरेक वर्ष ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्ने क्षमता नेपाली तयारी पोशाक उद्योगसँग छ,' उनले भने।
किशोरको व्यावसायिक यात्रा भने कपडाबाट सरू भएको होइन।
विराटनगरका स्थायी बासिन्दा किशोर २०४५ सालमा एसएलसी (एसइई सरह) दिएपछि नै व्यवसायमा लागेका हुन्। उनी एक निजी स्कुलमा शिक्षक थिए। बिहान–बेलुका घरमै ट्युसन पनि पढाउँथे।

सोही क्रममा उनले घरमा प्रयोग हुने विद्युतीय सामानको व्यापार भएको देखे। धेरैजसो व्यापारीहरू त्यस्ता सामान भारतबाट ल्याएर बेच्थे। किशोर शिक्षण पेसा छाडेर विद्युतीय सामानको व्यापारमा लागे। अरूले झैं भारतबाटै सामान ल्याएर बेच्न थाले।
'त्यति बेला धेरै लगानी चाहिँदैन थियो। भारतबाट सामान ल्याएर काठमाडौंमा बेच्थेँ। काठमाडौंबाट लगेर विराटनगरमा बेच्थेँ,' उनले भने।
किशोरले व्यापारसँगै पढाइ पनि अघि बढाए। स्नातक तहसम्मको पढाइ सकेर २०५० सालमा काठमाडौं आए।
काठमाडौंमा पनि उनले उही काम गरे। व्यापार चलेकै थियो। त्यहीबीच नेपाल प्रहरीले आवेदन खुलाएको उनले थाहा पाए। आवेदन भरे। २०५१ सालमा नेपाल प्रहरीका जागिरे भए।
प्रहरी सेवामा गए पनि उनले व्यापार छाडेनन्। आफ्नो नामको कम्पनी बन्द गरेर आमाका नाममा खोले। व्यवसायलाई निरन्तरता दिए।
'सरकारी कर्मचारीले व्यापार/व्यवसाय गर्न पाइँदैन,' उनले भने, 'आमाको नाममा कम्पनी खोलेर कामलाई निरन्तरता दिएँ।'
उनलाई परिवारका सदस्यहरूले पनि सहयोग गरे। यसरी बीस वर्षसम्म जागिर र व्यापार एकसाथ चलाए।
प्रहरी सहायक निरीक्षकबाट प्रवेश गरेका किशोरले केही तह बढुवा भएर अवकाश लिए। अनि भने पूर्ण रूपमा व्यापारी भए।
'जागिरलाई पनि पेन्सनको अवस्थासम्म पुर्याउने काम भइसकेपछि होइन, म व्यवसायमै फर्किन्छु भन्ने लाग्यो। पहिला गरिरहेको कामप्रतिको हुटहुटी अझै बाँकी रहेछ भन्ने बुझेँ,' किशोरले भने।
व्यवसायमा फर्किएपछि उनले तयारी पोशाक उद्योगमा सम्भावना देखे।
उनका अनुसार सन् २००० भन्दा अगाडि नेपाली तयारी पोशाक निर्यातले विश्व बजारमा उल्लेख्य स्थान बनाएको थियो। तर विभिन्न मुलुकमा कोटा प्रणाली हट्दै गएपछि यो उद्योग कमजोर बन्दै गयो।
'पहिला नै एउटा उचाइ लिइसकेको उद्योग हो यो। भोलि फेरि त्यसलाई त्यही अवस्थामा पुर्याउन सकिन्छ कि भन्ने सोचले पनि म यो क्षेत्रमा प्रवेश गरेको हुँ,' उनले भने।
उद्योगमा प्रवेश गर्दा चुनौती कम थिएन। त्यस बेला नेपाली उत्पादनले आफ्नै ब्रान्ड बनाएर बजारमा प्रतिस्पर्धा गर्न कठिन थियो। बजारले एडिडास मागे एडिडासकै नाममा, जारा मागे जाराकै नाममा उत्पादन तयार पारेर दिने चलन थियो।
किशोरले पनि करिब पाँच–सात वर्ष यसै गरे।
समयसँगै उनले यो बाटो दीर्घकालीन हुन नसक्ने महसुस गरे। आफ्नै उत्पादनलाई अरूको नाममा बेच्दा आफ्नो उत्पादनको अधिकार र पहिचान दुवै स्थापित नहुने उनको बुझाइ बन्यो।
सन् २०१९ मा कोरोना महामारी (कोभिड) ले लकडाउन भयो। त्यही समय नेपाली तयारी पोशाक उद्योगका लागि अवसर बन्यो।
'कोभिड नेपाली गार्मेन्ट र पोशाक उद्योगका लागि एउटा अवसरको समय पनि बन्यो,' किशोरले भने, 'त्यसपछि हामीले आफ्नै ब्रान्ड राखेर बेच्न थाल्यौं।'
त्यही समय नेपाली उद्योगीलाई आफ्नै ब्रान्डमा जानुपर्छ भन्ने अभियान नै चल्यो।
अरूको ब्रान्ड नाममा उत्पादन बेच्दा कानुनी र व्यावसायिक दुवै जोखिम हुन्छ। त्यसैले आफ्नै ब्रान्ड बनाउन सके भविष्यमा त्यसले ठूलो आकार लिन सक्ने सोचेर अन्य उद्योगीले पनि आफ्नै ब्रान्डमा तयारी लुगा बेच्न थाले।
किशोरले भने, 'विदेशबाट नआएको भएर होला, नेपाली ब्रान्डका उत्पादन अधिकांशले रूचाए।'
त्यसयता स्वदेशी ब्रान्ड निरन्तर उकालो लागिरहेका छन्।
यो उद्योगमा दक्ष कामदारको कमी भने पुरानै समस्या रहेको उनको बुझाइ छ। त्यसलाई समाधान गर्न पछिल्ला तीन वर्षदेखि नेपाल स्थानीय तयारी पोशाक उद्योग संघले गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी तालिम दिइरहेको छ।
'हामीलाई अहिले पनि १५–२० हजार कामदार आवश्यक छ। भारतीय कामदारलाई बिस्तारै नेपालीले प्रतिस्थापन गर्न ठूलो संख्यामा दक्ष जनशक्ति तयार गर्न आवश्यक छ,' उनले भने।
यो उद्योगको अर्को समस्या उत्पादन लागत हो। बैंकको ब्याज, सहरी क्षेत्रको महँगो भाडा, कच्चा पदार्थमा लाग्ने कर लगायत अन्य खर्चले उत्पादन महँगो बनाइरहेको छ। त्यसैले सरकारले तयारी पोशाक उद्योगलाई एकीकृत रूपमा सञ्चालन गर्न 'गार्मेन्ट जोन' निर्माण गर्नुपर्ने उनको माग छ।
उपभोक्ताको भने नेपाली उत्पादनको गुणस्तरप्रति धारणा बिस्तारै बदलिँदै गएको किशोरले देखेका छन्।
'पहिले विदेशी ब्रान्ड मात्र राम्रो हुन्छ भनेर सोच्नेहरू अहिले नेपाली उत्पादन किन्न रूचाउँछन्। नेपाली लुगामा सहज महसुस पनि गर्छन्,' किशोरले भने।