तीन महिनाअघिसम्म पवन चाम्लिङ भारतकै इतिहासमा सबैभन्दा बढी समय शासन गर्ने मुख्यमन्त्री थिए।
सन् १९९३ मार्च ४ मा उनले आफ्नो पार्टी खोलेका थिए- सिक्किम डेमोक्र्याटिक फ्रन्ट। त्यसअघि उनी नरबहादुर भण्डारीले स्थापना गरेको सिक्किम संग्राम परिषदमा आवद्ध थिए।
१९८९ को चुनावमा भण्डारीको पार्टीले सिक्किम विधान सभाका सबै ३२ सिट जितेको थियो।
३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि १९९२ सम्म मुख्यमन्त्री नरबहादुर भण्डारीको मन्त्रिपरिषदमा मन्त्री बने।
भण्डारीको साथ छोडेर चाम्लिङले पार्टी खोलेको वर्ष दिन नपुग्दै विधान सभा चुनाव भयो। भण्डारीको पार्टीलाई पछि पार्दै चाम्लिङले बहुमत ल्याए। चाम्लिङको पार्टीले १९ सिट जित्दा संग्राम परिषद् १० सिटमा खुम्चियो।
१२ डिसेम्बर १९९४ मा उनी सिक्किमका मुख्यमन्त्री भए। त्यसपछि उनले कहिल्यै पछाडि फर्किनु परेन। त्यसपछिका हरेक चुनावमा उनले बहुमत पाए।
उनको लोकप्रियता बढ्दै गयो। सन् २००९ को विधान सभामा त उनको पार्टीले ३२ मा ३२ सै सिट जित्यो।
सन् २०१४ पछि भने चाम्लिङको पार्टीमा पहिरो जान थाल्यो।
इतिहास दोहोरियो। २० वर्षअघि भण्डारीसँग चाम्लिङले जे गरेका थिए, उनका पार्टीका नेता पिएस तामाङ गोलेले पनि त्यही गरे।
चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोल्दा शिक्षण पेसा छोडेर राजनीतिमा आएका गोलेले आफ्नै पार्टी खोले- सिक्किम क्रान्तिकारी मोर्चा।
गोलेले पार्टी खोलेको अर्को वर्ष पनि विधान सभा चुनाव भयो। ३२ सिटमध्ये गोलेको पार्टीले १० सिट जित्यो। चाम्लिङले २२ सिट जितेर बहुमतको सरकार बनाए।
पाँच वर्षपछि गत अप्रिलमा भएको चुनावमा गोलेले चाम्लिङलाई पछि पारे। उनको पार्टीले १७ सिट जित्यो। चाम्लिङको पार्टी १५ सिटमा खुम्चियो।
पार्टी बनेयता सबै चुनाव लगालग जितेको चाम्लिङको पार्टीले यसपालि लोक सभाको एक सिट पनि गुमायो।
चुनावी जितसँगै गोलेले चाम्लिङको २५ वर्ष लामो सिक्किम शासनमा पूर्णबिराम लगाइदिए।
१५ सिटमा जिते पनि चाम्लिङका १३ जनामात्र सांसद थिए, किनकी चाम्लिङ र अर्का बरिष्ठ नेता डिटी लेप्चाले दुई क्षेत्रमा चुनाव जितेका थिए।
चुनाव हारेसँगै चाम्लिङको पार्टीमा विवाद चुलियो।
१३ मध्ये दुई सांसद विद्रोही निस्किए। सांसदहरू जेटी ढुंगेल र यमप्रसाद शर्माले संसदको बजेट सेसन बहिष्कार गर्ने पार्टीको ह्विप मानेनन्। जुलाई अन्तिम साता भएको बजेट छलफलमा उनीहरू सहभागी भए। संसदमा पनि आफूहरूलाई छुट्टै बस्ने ठाउँ मागेका उनीहरूले नयाँ पार्टी खोल्ने बताएका छन्।
दुई सांसदले विद्रोह गरेको दुई साता नबित्दै अर्को घटना भयो, चाम्लिङसँग रहेका १० सांसद भारतीय जनता पार्टीमा मिसिए।
मंगलबार नयाँदिल्लीस्थित मुख्यालयमा भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डाले उनीहरूलाई स्वागत गरे।
२०१४ मा नरेन्द्र मोदीले लोकसभा निर्वाचन जितेपछि भाजपाले प्रदेशहरूमा आफ्नो ध्यान केन्द्रीत गर्यो। केन्द्रमा बलियो पकड भएको र साधन स्रोत पनि प्रशस्त भएकाले प्रमुख प्रतिपक्षी कंग्रेस आईलगायत क्षेत्रीय दलका धेरै नेताहरू भाजपा प्रवेश गर्न थाले।
भारतका उत्तरपूर्वी राज्यहरूमा खासै पकड नभएको भाजपाले त्यहाँ अन्तरप्रदेशीय मोर्चा नै बनायो। उक्त मोर्चामा चाम्लिङको पार्टी पनि सदस्य बन्यो।
अहिले गठबन्धनमै रहेको पार्टीका सांसदलाई भाजपाले आफूतिर तानेको छ।
१० जना सांसद भाजपा छिरेपछि चाम्लिङ एक्लै परे। सिक्किममा अहिलेसम्म खाता खोल्न नसकेको भाजपा एकाएक विपक्षी दल बन्यो।