नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे पाँच प्रस्टीकरण दिएका छन्।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर संस्थापन पक्षले अटेर गर्दै नियमित महाधिवेशन धकेल्ने र विशेष महाधिवेशन पनि हुन नदिने चाल चलेको भन्दै महामन्त्रीद्वय गगन थापा र शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन्।
महामन्त्री शर्माले महाधिवेशनबारे उठेका जिज्ञासाको जबाफ पाँच बुँदामा दिएका छन्।
विशेष महाधिवेशनका कारण कतै नेपाली कांग्रेस विभाजित त हुँदैन?
मैले स्पष्ट गर्दै आएको छु र अहिले पनि गर्न चाहन्छु — विशेष महाधिवेशन हुन्छ तर पार्टी विभाजन हुँदैन। यदि त्यस्तो हुन लागे हलबाट सबभन्दा पहिले विश्वप्रकाश शर्मा नै निक्लिने छ। त्यस बेला सबै नै निक्लिऊँला। पार्टीको विभाजनलाई रोकौंला।
के विशेष महाधिवेशन वैधानिक छ?
एकदम वैधानिक छ। नेपाली कांग्रेस विधानको धारा १७ (२) ले भन्छ — केन्द्रीय कार्यसमितिले आवश्यक ठाने विशेष महाधिवेशन हुन्छ। विधानको त्यही धाराले पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाएर लिखित माग दर्ता गरे विशेष महाधिवेशन बोलाउनुपर्छ भन्छ। यो बोलाउने कुरा बाध्यकारी छ।
त्यस्तो विशेष कारण के हो?
हालको परिस्थिति भदौ २२ अगाडिको होइन। तपाईं–हामी सबैलाई थाहा छ, भदौ २२ अगाडिको नेपाल यो होइन। समय, परिस्थिति, हाम्रो दायित्व, हाम्रो चुनौती सबै बदलिएको छ। त्यसैले बदलिएको समयलाई सामना गर्ने गरी बदलिएर जान, केही नयाँ संकल्प लिन, केही नवीन दृष्टि बनाउन, केही नवीन जागरण सिर्जना गर्न विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन आवश्यक परेको हो।
पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन। बरू पार्टी विधानको रक्षा गर्नु हो। हेक्का राखौं– ठूलो स्वर बम विस्फोटनको हुन्छ। विचारको प्रस्फोटन मधुर हुन्छ। विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि हो, बदल्नुपर्ने देशका लागि हो।
विशेष महाधिवेशन बोलाउने बेला हस्ताक्षर नगरेकाहरू सहभागी हुन मिल्छ कि मिल्दैन?
अवश्य मिल्छ। विशेष महाधिवेशन हस्ताक्षर गर्नेको पनि हो, नगर्नेको पनि हो। सबैको हो। विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुस २७ गते भृकुटीमण्डपमा पार्टीका सबै तहका साथीहरूले हजारौंको संख्यामा सहभागी हुन मिल्छ। आउनुस् सबैलाई स्वागत छ।
पार्टी विशेष महाधिवेशनमा लागेपछि फागुनमा हुने चुनावलाई असर गर्न सक्दैन?
साथीहरूको यो जिज्ञासालाई म स्पष्ट गर्न चाहन्छु — मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर उठेको कांग्रेसले निर्वाचनको मैदानमा बढी परिणाम दिनेछ। बढी परिणाम ल्याउने छ। त्यसैले विशेष महाधिवेशनमा जुटौं। सबै एक भएर यसलाई भव्यतापूर्वक सफल बनाऊँ। नवीन संकल्प गरौं। जागरण पैदा गरौं। अनि माघ ६ गते उम्मेदवारी दर्ता गर्न पनि सबै नै जुटेर जाउँला।