नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन भनेका हुन्।
‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ मुख्यसचिवले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।
५४ प्रतिशत विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भनेका छन्। त्यसतर्फ लक्ष्य गरी कांग्रेसले उक्त कार्यक्रममा नजान भनेको छ।
साथै कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नहुने उल्लेख गरेको छ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन-महाधिवेशनको प्रकृया र कार्यक्रमहरू संचालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई वेवास्ता गरी विभिन्न सञ्चारमाध्यम मार्फत् पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ।’
विधानको धारा १७ को उपधारा २ मा हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ।