नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायको विषयलाई मुलुकभित्र र बाहिरका शक्तिले बदला लिने ढंगले प्रयोग गरेको बताएका छन्।
शहीद प्रतिष्ठानको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दाहालले कतिपयले सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को विषयलाई बदला लिने र व्यापारिक हिसाबले चलाउन खोजेको बताएका छन्।
'बोल्न अप्ठ्यारो छ समस्या फेरि पनि विचार र राजनीतिसँगै जोडिएर आउँछ। तपाईंहरूले देखिराख्नुभएको छ टिआरसी बनाउने प्रकृयाको बहस पनि निकै जटिल र चुनौतीपूर्ण ढंगले बढिरहेको छ। देशभित्र र देशबाहिरका शक्तिहरू यो प्रकृयालाई सकारात्मक ढंगले अघि बढ्न नदिने र यसलाई बदला लिने ढंगले यसलाई प्रयोग गर्ने। उद्योग व्यपार विनिमयको रूपमा सञ्चालन गर्ने विषयको रूपमा पनि टिआरसीलाई चलाउने प्रयास धेरैतिर भैराखेका छन्,' उनले भने।
तर आफूहरूका लागि भने यो विषय अस्तित्वको प्रश्न भएको दाहालले बताए। उनले पूर्वमाओवादीलाई एक त १० वर्षे जनयुद्धका शहीद, बेपत्ता र घाइतेहरूले अनि त्यो जनयुद्धका शत्रुहरूले एक ठाउँमा ल्याइराख्ने पनि बताए।
'र यसलाई हामीले फेरि एउटा मुद्दाको रूपमा हाम्रो अस्तित्व र हामीले गरेको आन्दोलनको औचित्य सिद्ध गर्ने राजनीतिक मुद्दासँग अभिभाज्यरूपमा जोडिएको हामी ठान्दछौं ठान्न बाध्य छौं। मैले ठान्दिनँ भनेपनि अघि मैले भनेका दुइटा कुराले हामीलाई धकेल्दै त्यही ठाउँमा ल्याउँछ,' दाहालले भने।
शान्ति प्रकृयासँग सम्बन्धित विषयलाई सकारात्मक ढंगले टुंगाउने कुरा, शहीद बेपत्ताका परिवारलाई परिचयपत्र दिने कुरा, उनीहरूलाई केही न केही रोजगारीको अवसर प्रदान गर्ने कुरा या उनीहरू समाजमा प्रतिष्ठा दिने कुराको संघर्ष नसकिएको पनि उनले बताए।
शहीद प्रतिष्ठानले विभाजन भएका माओवादीलाई एक ठाउँमा ल्याउने सरकारलाई झक्झकाउने र जनतालाई सुसूचित गर्न पनि आग्रह गरे।