बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको विरोधमा नेपाल विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागेको छ।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सोमबार नेविसंघले काठमाडौंले चाबहिलमा प्रदर्शन गरेको हो।
नेविसंघ काठमाडौं जिल्ला समिति र पशुपति क्याम्पस इकाइले प्रदर्शन गर्दै प्रहरीले विद्यार्थीमाथि अनावश्यक दमन गरेको उल्लेख गरेको छ। नेविसंघ नेता मनोज वैद्यले कोहलपुरमा प्रहरी दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले नि:शुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने माग गरे।
‘घाइते विद्यार्थीको उपचार खर्च सरकारले व्यहोर्नुपर्छ,’ उनले भने, ‘विद्यार्थीमाथि दमन गर्ने र गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ।’
ट्रकको ठक्करबाट प्रकृति चन्द गम्भीर घाइते भएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले आइतबार दमन गरेको पनि नेविसंघले उल्लेख गरेको छ।
प्रहरीले रबरका गोली, अश्रुग्यास र लाठी प्रहार गरेर विद्यार्थीलाई घाइते बनाएको भन्दै नेविसंघले विरोध गरेको हो।
घाइते विद्यार्थी चन्दको दुवै खुट्टा काटिएको छ। उनको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ।