कोरोना महामारी नियन्त्रणमा सबल व्यवस्थापन माग राख्दै पाटनमा अनसन बसेका तीनमध्ये एक युवा बिरामी परेका छन्।
शुक्रबारदेखि पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा 'इनफ इज इनफ'का अभियन्ता इसान 'ई' सहित तीन युवा अनसनमा बसेका थिए। उनीहरूमध्ये ३५ वर्षीय सुदन गुरूङ बिरामी परेपछि उनलाई सोमबार राति महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको छ।
सोमबार दिउँसो नियमित स्वास्थ्य जाँच गराउने क्रममा गुरूङको किड्नीमा समस्या देखिएपछि अस्पताल लग्न डा. दीपक श्रेष्ठले सुझाव दिएका थिए।
तर पनि उनले आफ्नो अनसन निरन्तरता दिन खोजेका थिए। राति बेहोश भएपछि उनलाई साढे आठ बजे टिचिङ अस्पताल लगिएको हो।
हाल पाटनमा ई र सुबानी सिजापति भने अनसनरत नै छन्। उनीहरू सँगै दुई युवा रिले अनसनमा थपिएका छन्।
उनीहरूले कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए। पछि अभियन्ता ईले अनसन सुरू गरेका हुन्।