नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्दै जाँदा धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विप्लवका केन्द्रीय सदस्य दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बस्ने निर्वाण भन्ने ओम प्रकाश पुनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सेतोपाटीलाई बताए।
उनीसँगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) सेती महाकाली ब्युरो इञ्चार्ज डडेल्धुरा पर्शुराम नगरपालिका वडा न ७ घर भएकी २७ वर्षीया पूर्णिमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरिएको विष्टले जानकारी दिए।
प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साइकलमा सवार उनीहरूलाई चेक गर्दा पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत बरामद गरिएको उनले बताए।
१५ दिनअघि मात्र धनगढी १२ जुगेडाबाट विप्लवका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूलाई हिरासतमै राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।