प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका दुई महत्वपूर्ण निकायका विभागीय प्रमुख फेरिएका छन्।
सरकारले केही दिनअघि ३१ सहसचिवहरूको सरूवा गरेको थियो। त्यसमध्ये निकै शक्तिशाली मानिएका दुई निकाय राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख फेरिएका छन्।
यी दुबै प्रधानमन्त्री कार्यालय मातहत रहेका निकाय थिए।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरूवा भएको छ। विभागमा नयाँ महानिर्देशक रामप्रसाद आचार्य आएका छन्।
उनीसँग राजश्व, गृह तथा अख्तियारमा काम गरेको अनुभव छ।
पछिल्लो समय ठूला कर छलीका मुद्दामा राजश्व अनुसन्धान विभागले आक्रामक कारबाही गरिरहेको थियो। आचार्य बुधबारदेखि विभागमा हाजिर भइसकेका छन्।
यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गजेन्द्र ठाकुरको सरूवा भएको छ। यहाँ कार्यरत महानिर्देशक रूपनारायण भट्टराईको राष्ट्रपतिको कार्यालयमा सरूवा भएको छ।
भट्टराई त्यहाँ २० महिना काम गरेका थिए। उनको पालामा सम्पत्ति शुद्धीकरणका ३२ वटा मुद्दा अदालतमा पुर्याइएका छन्। विभागले केही ‘हाई प्रोफाइल’ व्यक्तिहरूको सम्पत्ति अनुसन्धान गरिरहेको थियो।
ठाकुर उपसचिव हुँदा सम्पत्ति शुद्धीकरण विभागमै काम गरेका थिए। ठाकुरको पालामा ती मुद्दाको अनुसन्धानको निरन्तरता दिनुपर्ने चुनौती छ। ठाकुर भने विभागमा हाजिर भइसकेका छैनन्।