नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु गलत भएको बताएका छन्।
प्रधानमन्त्री ओली एकपछि अर्को असंवैधानिक काममा अग्रसर भइरहेको कोइरालाको भनाइ थियो।
गत शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। उक्त कामको पनि कोइरालाले आलोचना गरेका छन्।
कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको कोइरालाको भनाइ छ। प्रधानमन्त्री ओलीले गलत अभ्यास र नजिर खडा गरेको पनि उनले बताए।
विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु नै गलत भएको बताए।
‘कुन बाध्यता परेको हो संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउनु परेको?,’ कोइरालाले भने, ‘आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ। गलत संस्कार बसेको छ राजनीतिमा। तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो? ’
निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट नभएको कोइरालाको आशंका छ ।
संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको मेलमिलापको अर्थ संसद् पुनःस्थापना नै भएको बताए।
‘कांग्रेस मध्यममार्गी शक्ति हो। चुनाव नहुने देखिन्छ। चुनाव भए तीन फोर्सले अघि आउँछ। एउटा ओली र राजपा, अर्को कांग्रेस हो र अर्को कम्युनिस्ट घटक हुन सक्छन्। माधव–झलनाथ समूह अर्को शक्ति हुन्छ। संविधान बचाउन र संविधान ट्रयाकमा ल्याउन्जेलसम्म हो, माओवादी अनि कम्युनिस्टसँगको गठबन्धन। तर, कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ,’ कोइरालाको भनाइ थियो।
अर्को प्रसंगमा कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने बताए। नेपाल बहुजातीय, बहुभाषी, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने रहेको बताए ।
ओलीले सत्ताकब्जाको अभ्यास गरिरहेको भन्दै कोइरालाले कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको बताए।
‘कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ। कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो?तीस वर्षे पञ्चायत पनि आन्दोलनले ढलेको थियो। अब ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो,’ उनले भने।