जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक सुरेश काफ्लेले लुम्बिनी प्रदेश सभा सदस्य बिमला खत्री वली बाँकेमा रहेको बताएका छन्।
काफ्लेका अनुसार सांसद वलीले घाँटीमा समस्या भएकोले उपचार गर्न नेपालगञ्जमा गएको बताएकी छन्।
‘मैले उहाँलाई शनिबार बेलुका पनि फोन गरेको थिएँ,’ काफ्लेले भने, ‘उहाँले आफू सकुशल रहेको र घाँटीमा केही समस्या भएको हुँदा नेपालगञ्जमा उपचार गराइ रहेको भन्नुभयो।’
सांसद वलीले आफूलाई कुनै पनि समस्या नरहेको जानकारी दिएको एसपी काफ्लेले बताए। तर वली अन्य ब्यक्तिहरूसँग भने सम्पर्कमा आएकी छैनन्।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले पनि शनिबार विज्ञप्ति निकालेर परिवारको हवाला दिदै प्रदेश सांसद वली उपचारमा रहेको उल्लेख गरेको थियो।
उनको माइती घर नेपालगञ्जमा पनि छ। साथै लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको हुँदा सांसद वली सम्पर्कमा आउन नचाहेको चर्चा भइरहेको छ।
बिमलाका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि तत्कालिन नेकपाले दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा बिमलालाई उम्मेदवार बनाएको थियो।
उननले पछिल्लो समय माओवादी केन्द्र रोजेकी थिइन्।