नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
मंगलबार सुरू भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँच वटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
त्यस्तै, आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यलाई सपथ गराइएको पनि उनले जानकारी दिए।
उनले भने, ‘थपिएका केन्द्रीय कमिटीका सदस्य जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौं, ११६ जनाको नाम थियो। सनाखत गरिएकाबाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरूलाई सपथ गराएका छौं। यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। राजनीतिक प्रतिवेदन त्यसमा छलफल गर्नका लागि पाँच वटा समूहमा छलफलका लागि सूची तयार पारेका छौं र भोलि बिहान १० बजेसम्मका लागि समय निश्चित गरेका छौं।’
पार्टीको बैठक भोलि (बुधबार) पनि बस्ने उनले जानकारी दिए।
भोलिको बैठकले समसामयिक प्रस्ताव परित गर्ने, कार्यविभाजन गर्ने उनको भनाइ छ।
आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उनले उल्लेख गरे।