नेकपा एमाले र सत्ता गठबन्धन दल माओवादी केन्द्रबीचको छलफल सकिएको छ।
बिहीबार साँझ कांग्रेस-एमाले भेट लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा भेट भएको थियो।
भेटमा माओवादीसँग अहिलेको अवस्था, संसद गतिरोध र एमसिसीबारे छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।
‘यो सुरूआत हो। आज छिचोलेर कुरा भएन’, भेट सकिएपछि उनले भने, ‘तर २०७७ साल पुसपछि यो तहको छलफल पहिलो पटक भएको हो।’
आफूहरूले छलफललाई निरन्तरता दिने भनेको समेत उनले बताए।
यस्तै, माओवादीका तर्फबाट शक्तिबहादुर बस्नेतले एमालेसँग संसदको गतिरोध र एमसिसीबारे छलफल भएको बताए।
‘उहाँहरूले आफूले राख्दै आएको विषय राख्नुभयो। आफूहरूले उठाएको विषयमा निकास निक्लिएपछि एमसिसीबारे धारणा बनाउँछौं भन्नुभयो’, उनले भने।
सुरूआत राम्रो भएको र यसलाई निरन्तरता दिने कुरा भएको उनले बताए।
छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ थिए।
दुई पार्टीका नेताहरू भेट्नुअघि ओली र प्रचण्डले वान टु वान भेटेका थिए।