नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ दल खोल्नेहरूले दुई-तीन वर्ष पनि पार्टी टिकाउन नसकेको बताएका छन्।
पुराना दलले काम गरेनन् भनेर विकल्पमा आएको बताउने दलहरू आफ्नै दल टिकाउन नसक्ने अवस्थामा पुगेको सिंह बताउँछन्।
सिंहले विवेकशील साझा पार्टी र रवीन्द्र मिश्रप्रति लक्षित गर्दै नयाँ दल खोल्नेले आफ्नै पार्टी पनि जोगाएर लैजान नसकेको बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ दल खोल्नु नाङ्लो पसल खोलेजस्तो सहज नहुने बताए।
‘पुराना दलले सकेनन् अब हामी आउँछौं, विकल्प दिन्छु भन्छन् तर आफ्नै दल पनि दुई-तीन वर्ष टिकाउन सक्दैनन्, जनताका काम के गर्छन्?,’ सिंहले प्रश्न गरे, ‘दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के भयो?’
सिंहले पैसा र नाम कमाउन आफूले राजनीति नगरेको बताए। उनले भारी मतका साथ अबको चुनाव जिताएर पठाएमा देश हाँक्ने क्षमता आफूमा रहेको पनि बताएका थिए। उनी काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार हुने तयारीमा छन्।