चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना दिएको छ।
सिपिसीको अन्तर्राष्ट्रिय विभागले रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई पक्षबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जानकारी दिए।
पत्रमा चीन-नेपालबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउँदै दुवै देश र जनताको हितका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने प्रतिबद्धता छ।
त्यसैगरी, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूको नेतृत्वमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि CPC ले व्यक्त गरेको छ।
चिनियाँ पक्षले अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तत्परता देखाएको जनाइएको छ।
रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने बताएको छ।
सिपिसीबाट प्राप्त शुभेच्छा र ऐक्यबद्धताका लागि पार्टीले आभार व्यक्त गरेको छ।