महिला सांसद
झन्डै १० वर्षदेखि 'बाजेको सेकुवा' सञ्चालन गर्दै आएकी नितिमा भण्डारी (कार्की) यसपटक प्रतिनिधिसभामा सर्लाही–१ बाट निर्वाचित भएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी नितिमाले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जित हासिल गरेकी हुन्। उनले ४४ हजार ९१९ मत ल्याएकी थिइन्।
नितिमाले जीवनमा कहिल्यै चुनाव लड्ने वा सांसद बन्ने सोच नभएको बताएकी छन्। उनी चुनावअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी थिइन् र प्रत्यक्षतर्फ टिकट पाएपछि निर्वाचनमा होमिएकी थिइन्।
लामो राजनीतिक अनुभव नभए पनि व्यावसायिक क्षेत्रमा उनले 'बाजेको सेकुवा' को फ्रेन्चाइज विस्तारदेखि मसला उद्योग सञ्चालनसम्मको अनुभव संगालेकी छन्।
यसअघि स्थानीय तह निर्वाचनमा मेयर पदका लागि प्रस्ताव आए पनि छोरीहरूको पढाइले स्वीकार नगरेको उनी बताउँछिन्।
यसपटक पनि जब उनलाई विभिन्न समूहबाट चुनाव लड्न आग्रह गरियो, उनी त्यसका लागि सक्षम छु कि छैन भनेर बुझ्न आफू जन्मे–हुर्केको सर्लाही पुगिन्।
'सर्लाही मेरो लागि नयाँ होइन। तर चुनाव नै उठ्न तयार छु कि छैन भन्ने चाहिँ त्यहीँ गएर बुझेपछि मात्र थाहा पाएँ,' नितिमाले सेतोपाटीसँग भनिन्, 'मैले त्यहाँ काम गर्नुपर्ने ठाउँ धेरै देखेँ, सांसदका रूपमा तराई निकै चुनौतीपूर्ण छ भन्ने मलाई महसुस भयो।'
नितिमाले एसएलसीसम्मको अध्ययन सर्लाहीमै पूरा गरेकी हुन्। त्यस आधारमा पनि उनलाई सर्लाहीको यथार्थ के हो भन्ने थाहा थियो। यसपालि चुनावको तयारी क्रममा त्यहाँको वस्तुस्थिति केलाएपछि उनलाई आफ्नो भावी योजना बनाउन सहज भयो।
सर्लाही मात्र होइन, सिंगो मधेस क्षेत्र शिक्षा र स्वास्थ्य सेवामा निकै पछाडि रहेको उल्लेख गर्दै उनले यी क्षेत्रमा काम गर्ने योजना बनाएको बताएकी छन्।
चुनावअघि सर्लाही जाँदा स्थानीय दलित समुदायकी एक महिलासँग भएको भेटले आफूलाई थप प्रेरित गरेको उनको भनाइ छ।
ती महिलाले उनलाई कुनै गैरसरकारी संस्थाको कर्मचारी ठानेर बच्चाको उपचारका लागि सहयोग मागेकी थिइन्। वास्तविक अवस्था बुझ्दा उनको बच्चालाई प्यारालाइसिस भएको थाहा भयो। आर्थिक समस्याका कारण ती महिलाले बच्चाको उपचार गर्न नसकेको उनले थाहा पाइन्।
'यस्ता घटना देखेपछि मलाई कम्तिमा मधेसको स्वास्थ्य क्षेत्रमा केही काम गर्न सकिन्छ भन्ने लागेको छ,' उनले भनिन्, 'मेरो केही चिनजान पनि छ। आर्थिक रूपमा सक्षम पनि छु। किन पछि हट्ने भन्ने भयो।'
नितिमाका अनुसार सर्लाहीमा सडक पूर्वाधार, सिँचाइ र किसानका उत्पादनको बजारीकरणका समस्या पनि छन्। खासगरी टमाटर उत्पादन धेरै भए पनि बजारसम्म नपुग्ने अवस्था सुधार्नुपर्ने आवश्यकता उनले देखेकी छन्।
किसान र बजारबीच बिचौलिया हटाउने, न्यूनतम मूल्य तोक्ने र देशमै पर्याप्त उत्पादन हुने वस्तुको आयातमा कडाइ गर्ने नीति ल्याउन पहल गर्ने उनको योजना छ।
'उत्पादनको भाउ तोक्ने र स्थानीय उत्पादनलाई संरक्षण दिन आयातमा कडाइ गर्ने नीति लिन पहल गर्छु,' उनले भनिन्।
उनले मुलुकको प्रमुख समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै तीन तहमा फैलिएको भ्रष्टाचार न्यूनीकरणका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन्। कर्मचारीतन्त्र सुधार गर्दै सुशासन उन्मुख बनाउने र कर्मचारीलाई तलब, स्वास्थ्य तथा शिक्षाजस्ता सुविधा सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
सांसदहरू निर्वाचन बेला मात्र जनताकहाँ पुग्ने गुनासो आफूले धेरै सुनेको उल्लेख गर्दै नितिमाले भनिन्, 'म चुनाव बेला मात्र जनताकहाँ पुग्ने सांसद बन्दिनँ, उनीहरूको समस्या सुन्ने र त्यसलाई समाधान गर्न सधैं तत्पर रहने सांसद बन्छु।'
***