जनकपुरधाममा आजदेखि नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदैछ।
तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरू र नेता शेखर कोइरालालाई बोलाइएको छ। तर सभापति देउवापछिको दोस्रो वरीयतामा कोइरालालाई नराख्ने भएपछि प्रदेश कार्यसमितिका ८ जनाले बुधबारको बैठकमा फरक मत राखेका थिए।
यो पनि: मधेस कांग्रेस सम्मेलनमा शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताले राखे फरक मत
कोइराला आज सुनसरीको कार्यक्रममा जाने भएका छन्। इनरूवास्थित पार्टी कार्यालयमा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम राखिएको कोइरालाको सचिवालयले जनाएको छ।
कोइरालालाई मधेस सम्मेलन उद्घाटन सत्रमा विशिष्ट अतिथि बनाउनुपर्ने माग उनी पक्षका ८ नेताले राखेका थिए।
‘कांग्रेस मधेस प्रदेशको सम्मेलनमा नेता शेखर कोइरालालाई विभिन्न बाहना बनाएर बेवास्ता गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेसका नेता रञ्जित कर्णले भनेका छन्, ‘एकलौटी रूपमा अगाडि बढ्नु भनेको कांग्रेस र मधेसको एकतामा अवरोध ल्याउनु हो। कांग्रेसको मूल्य, मान्यता र परम्परालाई मध्यनजर गर्दै अगाडि बढ्नु नै समग्र पार्टी एकताको मूल सन्देश हुनेछ।’
शेखरलाई लुम्बिनी र गण्डकी कांग्रेस सम्मेलनमा देउवापछिको वरीयता दिँदै विशिष्ट अतिथि बनाइएको थियो।
यो पनि: शेखरको वरीयतालाई लिएर कांग्रेसमा फेरि विवाद
बिहीबार उद्घाटन र शुक्रबार बन्द सत्र हुनेछ। बन्द सत्रमा आठ सय २५ जना प्रतिनिधि सहभागी हुने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।
उनकाअनुसार राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट संशोधनसहित पारित भइसकेको छ।