प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको बताएको छ।
शनिबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न कांग्रेस नेताहरू बालुवाटार पुगेका थिए।
करिब आधा घन्टा छलफल भएको र प्रधानमन्त्री सकारात्मक देखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सेतोपाटीलाई जानकारी दिए।
कांग्रेसले आफ्ना अडानहरू कायमै राखेको र यसप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको उनले बताए।
'सत्तापक्षसँग कुरा गरेर फेरि तपाईंहरूसँग कुरा गर्छु भन्नुभएको छ,' उनले भने,'संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत देखिनुहुन्छ। थप छलफल गर्ने कुरा भएकाे छ।'
उनका अनुसार संसदीय छानबिन समिति बनाउनेबारे कांग्रेसले तयार पारेको मस्यौदामै केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको थियो।
कांग्रेसले तयार पारेको मस्यौदामा सहकारी संस्थाहरूमा देखिएको संकटको समाधानार्थ सिफारिस गर्नेदेखि सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाबाट अनुचित लाभ लिने एवं सहकारी ऐन विपरीत कार्य गर्ने वा कार्य गर्न मद्दत पुर्याउने व्यक्ति र गोरखा मिडिया नेटवर्क प्रा.लि. जस्ता कम्पनीका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलगायत शेयर धनी एवं सञ्चालक समेतकाबारे अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्नेसहित तीन बुँदा थियो।
'यसमै छलफल भयो। ठगी भएका सहकारी नाम पनि उल्लेख हुनुपर्ने अडान राख्यौं। प्रधानमन्त्री सकारात्मक हुनुहन्छ,' प्रमुख सचेतक लेखकले भने।
छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र जनार्दन शर्मा सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
यो पनि
कांग्रेस र रास्वपाले बनाएको छानबिन समिति मस्यौदामा के छ?