प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेका अभिव्यक्तिमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट जबाफ मागेका छन्।
गत जेठ ६ गते प्रतिनिधि सभामा गृहमन्त्री लामिछाने बोलेका थिए। गृहमन्त्री लामिछानेले त्यसदिन आफूमाथि लागेका आरोप ढाकछोपका लागि आरोपकै सहारा लिएका थिए।
यो पनि: संसदमा गृहमन्त्री: आरोप ढाकछोप गर्न आरोपकै सहारा (पूरा भिडिओ)
दलीय आधारमा आइतबारको प्रतिनिधि सभामा बोलेका कांग्रेस सांसद गगन थापाले गृहमन्त्रीका अभिव्यक्ति स्वामित्व लिन वा रेकर्डबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
‘जुन कुरा यहाँ भनियो, सुनियो त्यो कि प्रधानमन्त्रीले स्वामित्व लिनुस्, तपाईंसँगै हिसाबकिताब गरौंला,’ थापाले भने, ‘कि होइन भने प्रधानमन्त्री आउनुस् र भन्नुस् म यसलाई रेकर्डबाट हटाउँछु भनेर। होइन भने प्रधानमन्त्रीसँग हिसाब त लिइन्छ, यही सदनमा लिइन्छ। सभामुखको अगाडि नै लिइन्छ।’
विषयबस्तुलाई बरालेर अर्कोतिर लैजानका लागि विभिन्न अभिव्यक्तिहरू सदनमा दिने प्रवृत्ति बढ्दै गइरहेको र यो डरलाग्दो भएको थापाको भनाइ छ।
‘एउटा विषयबस्तु आउँदै गर्दा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले जबाफ दिँदा सबैले यसै गर्न थाले भने सदन कहाँ पुग्छ?’ उनले प्रश्न गरे।