उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरू गरिएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा आफ्नो १०० दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।
करिब नौ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले ‘बिग अपरेशन’ गरिरहेको मन्त्री लामिछानेको भनाई थियो।
‘वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ। तपाईहरूले चाँडै थाहा पाउनु हुन्छ। आज नै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन,’ उनले भने, ‘यो चाहिँ लगभग ९ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृहले बिग अपरेशन गर्दैछ।’
उनले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत बताए।