राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुस गरेको बताएका छन्।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरू सचेत रहेको बताए।
उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गरे। उनले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए।
‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौं। अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन। यसैले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ। संगठन चाहिँदो रहेछ भन्नेकुरा, काठमाडौंमा अलि सजिलो होला। तर अन्य जिल्लाहरूमा त्यो हामीले देखिसक्यौं,’ उनले भने।
उनले भने, ‘तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं। संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो। सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरू फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरू नै भएनन्।’
उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए। उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए। -न्युज एजेन्सी नेपाल