प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विद्यार्थीले पढ्दै गर्दा एउटा, जाँच दिँदा अर्को र कापी काट्दासम्म फेरि अर्कै मुख्यमन्त्री भइसकेको हुने अवस्थाले सही उत्तर ठम्याउन गाह्रो हुने बताएका छन्।
आइतरबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद खतिवडाले प्रदेश सरकार केही समयमै परिवर्तन हुँदा सिंगो मुलुकलाई प्रभाव पार्ने बताए।
पढ्दै गर्दा एउटा मुख्यमन्त्री हुन्छ जाँच दिने बेलामा अर्को मुख्यमन्त्री भइसक्छ। जाँच दिएर कपि काट्ने बेलमा अर्को मुख्यमन्त्री भइसकेको हुन्छ,’ उनले भने, ‘उत्तर सही कुन हो भन्ने छुट्याउन गाह्रो हुन्छ।’
उनले काम गर्न नसक्ने भनिएका सचिवहरू प्रधानमन्त्री कार्यालयमा थनक्याउने पद्दतिले सुशासन पनि कमजोर हुने बताए।
‘दक्ष र दखल भएका मानिसहरूलाई प्रधानमन्त्री कार्यालयमा ल्याएर देशमा दूर दराजमा विकास निर्माणदेखि जनताका कुराहरू राख्ने अवस्था सिर्जना हुनपर्नेमा कमजोर जसले काम गर्ने सकेन त्यो मान्छेलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याउने पद्दतिको विकास भएको छ,’ उनले भने।
सरूवा बढुवा पनि कानुनसम्मत नभई हिजोकै हुकुमी संरचनामा चलेको बताए।
‘एउटा सचिव एउटा मन्त्रालयमा दुई महिना तीन महिनामा सरूवा भएको छ। त्यसले सुशासनको अनुभूति दिन सक्छ कि सक्दैन,’ उनले भने।
पार्टीको झन्डा नबोक्नेहरू मन्त्रीसँग काम नै गर्न सक्दैनन् भन्ने विषय बेलबेलामा सुनिने खतिवडाले बताए।
‘दक्ष र काबिलताका आधारमा होइन झन्डाका आधारमा कर्मचारीलाई राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ?,’ उनले प्रश्न गरे।