प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको साच्चै विरोध नगरेको बताएका छन्।
भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूको जिज्ञासा मेटाउने क्रममा उनले यस्तो बताएका हुन्।
विमानस्थलमा पत्रकारहरूले अध्यक्ष ओलीले सरकारप्रति विरोध जनाएकोबारे सोधेका थिए। पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल गर्ने बेला भएको त छैन भनेर पनि सोधेका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका थिए।
‘विरोध जस्तो मात्रै गर्नुभएको छ। साँच्चै गर्नुभएको छैन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्युमर (अफवाह)हरूमा सत्यता छैन,’ उनले भने।
संसद भवनस्थित ल्होत्से हलमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीबारे असन्तुष्टि जनाएका थिए।
देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको उनको भनाइ छ।
उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताए।
उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे।
‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने,’ उनले भने, ‘हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति? त्यसमा कस्तो छ त्यसको विनियोजन? त्यो पनि हेर्नुपर्ने हुन्छ। यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस्।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दल उपनेतासमेत रहेका खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको समी क्षा गर्ने बेला भएको बताएका थिए। उनले आफूहरूले राजीनामा पत्र खल्तीमा हालेर हिँडेकोसमेत बताएका थिए।