राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने बताए।
उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए।
‘जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन,’ उनले भने।
गौतमले अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भए र त्यहाँ व्यक्तिगत नरहेको पनि बताए।
‘सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ । रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन। भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार हो। मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन,’ उनले भने।
उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। (न्युज एजेन्सी नेपाल)