गृह सचिव एकनारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान गरेको छ।
न्यूयोर्कमा असार १२ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन गृहसचिव अर्यालसँगै नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल पनि गएका छन्।
पाँच सदस्यीय टोलीमा डिआइजी दानबहादुर कार्की र सशस्त्र प्रहरीका एसएसपी किरण बस्नेत भ्रमण मण्डलमा सहभागी छन्।
उनीहरूलाई एआइजी, डिआइजी, गृहका पदाधिकारी लगायतले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना दिएका हुन्।
शान्ति अपरेसनका लागि नवीन प्रयास र द्वन्द्वको सम्भावित क्षेत्र, द्वन्द्व र हिंसाको रोकथाम र दिगो शान्ति, शान्ति अभियान सुदृढ गर्ने लगायतका एजेण्डामा छलफलको कार्यक्रम रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम छ।
आइजिपी कुँवरको अनुपस्थितिमा एआइजी दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्।