नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ।
‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन। त्यो भनेको नबनाउने कुरा हो। आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्याउने गरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने,’ उनले भने।
त्यस्तै, प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरू तिब्रताका साथ अगाडि बढाउन माग गरिएको छ। आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई पनि यथाशिघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ। भट्टराईले आफूहरूको माग भदौ महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए।
‘उहाँहरूले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउन सक्नुहुन्छ। हामीले भदौ मसान्तसम्मको समय दिएका छौं। माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौं,’ उनले भने।
-न्युज एजेन्सी नेपाल