अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार गर्न आफू तयार रहेको बताएका छन्।
अमेरिकी अखबार द न्युयोर्क टाइम्ससँग कुराकानी गर्दै ट्रम्पले चुनावी परिणाम जे आए पनि स्वीकार गर्न आफू तयार रहेको उनले बताएका हुन्।
‘म यी नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार छु,’ उनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘हामी डेमोक्र्याटसँग मिलेर काम गर्नेछौँ। उनीहरूसँग काम गर्न पाउँदा खुसी हुनेछौं। सम्भवतः हामी कुनै सहमति निकाल्नेछौँ।’
अमेरिकी मध्यावधि निर्वाचनमा आफ्नै पार्टी रिपब्लिकनले महत्त्वपूर्ण राज्यहरूमा हार बेहोर्दै सिनेटको नियन्त्रणसमेत गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार्ने बताएका हुन्।
चुनाव हारे ट्रम्पले नतिजा अस्वीकार गर्न सक्ने वा चुनावी प्रक्रियामाथि प्रश्न उठाउन सक्ने आशंका थियो। अघिल्ला चुनावका विषयमा ट्रम्प सार्वजनिक कार्यक्रमहरूमा अझै पनि प्रश्न उठाउने गर्छन्। त्यसकारण अहिलेको परिणामपछि ट्रम्पले स्वीकार गर्नुलाई महत्त्वपूर्ण मानिएको छ।
ट्रम्प मतदान सकिएपछि ह्वाइट हाउसमै बसेरै परिणाम हेरिरहेको छन्।
मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले सिनेटको नियन्त्रण गुमाएको छ। डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलिना, टेक्सस, साउथ क्यारोलिना, ओहायो, कन्सास र आयोवामा रिपब्लिकनका छ वटा सिट खोसेको छ।
आयोवामा जोस टुरेकले रिपब्लिकन उम्मेदवार एश्ले हिन्सनलाई हराएपछि डेमोक्रेटिक पार्टीको सिनेटमा बहुमत सुनिश्चित भएको थियो।
टेक्ससजस्ता परम्परागत रूपमा रिपब्लिकनको बलियो पकड रहेका राज्यमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन्।
टेक्सासमा जेम्स टालारिकोले ट्रम्पले समर्थन गरेका केन प्याक्सटनलाई हराएका थिए। साउथ क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गरिन्। ओहायोमा शेरोड ब्राउनले रिपब्लिकन जोन हस्टेडलाई हराएर सिनेट सिट जितेका थिए।
प्रतिनिधिसभामा पनि डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने दिशामा अग्रता लिएको छ। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार रिपब्लिकनका केही सुरक्षित मानिएका निर्वाचन क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि डेमोक्रेटिक पार्टीले दुवै सदनको नियन्त्रण लिने गरी जित हासिल गरेको जनाएको छ।