उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन्।
शनिबार बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उपप्रधानमन्त्री सिंहले संघीयता बलियाो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरू मिलेर अहिले सरकार बनेको बताए।
‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसदका दुई ठूला दल मिलेर सरकार बनेको छ। कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ उनले भने, ‘संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ। राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागेको छ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताए।
बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताए।
आर्थिक गतिविधि मात्र होइन बुद्धजन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो।
उपप्रधानमन्त्री सिंहले क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उनले बताए।
उपप्रधानमन्त्री सिंहले लौह पुरूष गणेशमान सिंह जेल ब्रेक गरेर बुटवल पुगेको सन्दर्भ चर्चा गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे।
उनले बुटवलको विकासको लागि सहरी विकास मन्त्रालयमार्फत् गर्न सकिने काम भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए।