राष्ट्रपति रामचन्द्र पाैडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेलकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
राष्ट्रपति पाैडेल आइतबार बिहान साे अस्पताल पुगेर मन्त्री पाैडेल र पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेल, स्वास्थ्य सचिव डा. राेशन पाेखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले राष्ट्रपति पाैडेललाई मन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।
शनिबार पोखरामा आयोजित एक कार्यक्रमको उद्घाटन गर्नेक्रममा बेलुन बिस्फोट हुँदा मन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। उनीहरू दुबै जनालाई शनिबार नै काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो। दुबै जनाको आइसियूमा उपचार भइरहेको छ।