निजामती कर्मचारीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन्।
निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई एसएमएस पठाएका हुन्।
सो अभियानले मंगलबार एक विज्ञप्ति जारी गर्दै सहसचिव र उपसचिवको खुल्लातर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राखेका छन्।
राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १०% आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूको छ।
पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ श्रेणी बढुवाको व्यवस्था गर्नुपर्ने, रा.प. तृतीय श्रेणीको प्रवेश विन्दु छैटौं तहलाई कायम गर्नुपर्ने, तिनै तहमा कार्यरत कर्मचारीहरूलाई "निजामती कर्मचारी" को परिभाषामा समेट्नुपर्ने माग उनीहरूको छ।
पूर्वानुमान योग्य र स्वचालित सरूवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अन्तर प्रदेश सरूवाको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।
उनीहरूले नासुका आँशु पुछ्न पनि माग गरेका छन्।
