प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थी संगठनभित्र अराजकता देखिएको भन्दै अनेरास्ववियुभित्र यस्ता गतिविधि देखिए छुट नहुने बताएका छन्।
आइतबार त्रिविमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेरास्ववियुले उपकुलपतिको कार्यकक्ष तोडफोड गर्ने, लाइब्रेरी जलाउनेजस्ता गतिविधि गर्ने विद्यार्थी नजन्माउने बताएका हुन्।
‘अनेरास्ववियुलाई म भन्न चाहन्छु, विद्यार्थीका नाममा तोडफोडकारी, कुटपिटकारी, आगजनीकर्ता, यही त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनका नाममा कोही आगो लगाएर हिँड्ने, कोही लाइब्रेरी जलाएर हिँड्ने, कोही ताला लगाएर हिँड्ने, कोही शिक्षकका ढाड भाँचेर हिँड्ने, कोही कुटपिट गरेर हिँड्ने, कोही उपकुलपतिको कार्यकक्ष जलाएर हिँड्ने, यस्तो खालका विद्यार्थीहरू अनेरास्ववियुले जन्माउँदैन, जन्माउनुहुँदैन,’ उनले भने।
अनेरास्ववियु भद्र विद्यार्थीको संगठन भएको प्रधानमन्त्रीको भनाइ छ।
‘तपाईंहरूले भन्नसक्नुपर्छ अभिभावकहरूलाई, तपाईंहरूका छोराछोरीलाई अनेरास्ववियुमा लाग्न प्रेरित गर्नुस्, गुण्डा बनाएर, गुण्डा बनेर जान दिँदैनौं। हामी तालिम दिन्छौं। र, म भन्न चाहन्छु अनेरास्ववियुभित्र त्यस प्रकारका गतिविधिका लागि छुट पनि छैन। छुट हुँदैन,’ उनले भने।
विद्यार्थी संगठन जिम्मेवार, सभ्य, परिवर्तनकारी, क्रान्तिकारीको रूपमा अगाडि बढ्नुपर्ने उनले बताए।
‘यसले आफ्नो इज्जत प्रतिष्ठालाई त्यसअनुसार नै राख्नुपर्छ। समाजमा ग्राह्य, स्वीकार्य व्यवहार, आचरण, क्रियाकलाप अनेरास्ववियुको विशेषता हुनुपर्छ। बसमा यात्रा गर्दा यात्रीले चेहरा हेरेर बाबु अनेरास्ववियु हो भनेर सोधुन्। नानी अनेरास्ववियु हो भनेर सोधुन्। बोली र व्यवहारले चिनेर त्यसो भनुन्। अनेरास्ववियुको कार्ड देखाउँदा बेइजत हुनुनपरोस्,’ उनले भने।