प्रतिपक्षी दलका सांसदहरूको निरन्तरको अवरोधले प्रतिनिधि सभा बैठक चल्न नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।
जेठ १५ गते सदनमा बजेट पेस गर्न दिएका प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले त्यसपछि बजेट छलफल गर्ने कार्यसूचीमै प्रवेश गर्न दिएका छैनन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बन्नुपर्ने सुरूवाती माग राखेका प्रतिपक्षी दलहरूले निरन्तर प्रतिनिधि सभामा अवरोध गरिरहेका छन्।
माओवादी र एकीकृत समाजवादी भने गृहमन्त्रीको राजीनामा मागबाट लचक बनेको अवस्था छ भने रास्वपाले उक्त अडान छाडेको छैन।
सत्तापक्ष कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र छानबिन समिति गठन नगर्ने अडानमा छन्। सत्ता र प्रतिपक्षी आ-आफ्ना अडानमा हुँदा बजेटमाथि छलफल हुन सकेको छैन।
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले बजेटमाथि छलफल गर्नुपर्ने र अब समय पनि धेरै नरहेको भन्दै बिहीबार प्रमुख प्रतिपक्षी दल नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेका छन्।
छलफलमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए। प्रतिपक्षी दलहरूको बैठक बस्नुअघि प्रचण्ड र सभामुखबीच छलफल भएको हो।
‘बजेटमाथिको छलफल गर्न ढिलाइ भयो, अब चाप बढ्दै गयो। हामीले पारित गरेर पनि राष्ट्रिय सभामा पठाउनुपर्ने हुन्छ, त्यहाँ १५ दिनको समय चाहिन्छ,’ सभामुखले प्रचण्डलाई भनेका कुरा उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘तपाईंले सदनको गतिरोध अन्त्यका लागि नेतृत्व लिनुपर्यो।’
सभामुख घिमिरेले संघीय निजामती र नागरिकता विधेयक पारित गर्ने अवस्था बनेको र त्यो पारित भएमा संघीयता कार्यान्वयमा सहयोग पुग्ने पनि बताएका थिए।
जबाफमा अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलहरू सहमतिनजिक पुगिसकेको बताउँदै अलिकति भाषा मिलाउन बाँकी रहेको उल्लेख गरेका थिए।
‘हामी सहमतिनजिकै पुगिसकेका छौं। अलिकति भाषा मिलाउन बाँकी छ, म प्रतिपक्षीहरूसँग छलफल गर्दैछु अनि सत्तापक्षसँग पनि छलफल गर्छु,’ उनले भने, ‘म लागिसकेँ सकेसम्म आजै समझदारीमा पुग्छौं।’
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सभामुखसँगको छलफलमा प्रतिपक्षी दल नेता प्रचण्डले सदन अवरोध भइराख्दा विभिन्न विधेयक अघि बढ्न नसकेको पनि बताएका थिए।
प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ बजेका लागि बोलाइए पनि निर्धारित समयमा बैठक बस्न सकेको छैन। सदनको गतिरोध अन्त्यका लागि छलफल भइरहेकोले बैठक निर्धारित समयमा नबसेको हो।